के बजारमा कोरोनाको खोप किन्न पाइन्छ ? « Khabarhub

के बजारमा कोरोनाको खोप किन्न पाइन्छ ?

स्वास्थ्य मन्त्रालय भन्छ : सचेत रहनू, झुक्याउलान्



काठमाडौँ– ‘सोह्र हप्तापछि लगाउनुपर्ने दोस्रो खोप, ३२ हप्ता पुग्न लागिसक्यो, कहिले लगाउन पाइन्छ होला डाक्टर साब !’

‘सर ! तपाईंजस्तो अधिकारकर्मी पनि कहाँ भौँतारिएर बस्नु भएको त ! बरु पैसा तिरेर भए पनि लिनुस् ।’

‘खोप पनि पैसा तिरेर पाइन्छ र ?’

‘बजारमा चार–पाँच हजारमा खोप पाइन्छ लगाइहाल्नुस् !’

‘हो र ! बजारमा पाइँदो रहेछ !’

संवादको उक्त अंश राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनाएका हुन् । उनका अनुसार उक्त संवाद उनी र एक जना सरकारी चिकित्सकबीच भएको हो ।

उमेरले ६८ वर्षका महर्जनले गत फागुन २३ गते कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । सरकारले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको १२ देखि १६ हप्तासम्ममा दोस्रो डोज लगाउनु पर्छ भनेको छ । महर्जनले खोप लगाएको १५ हप्ता भयो, उनी दोस्रो खोप प्रतिक्षामा छन् ।

उनले सरकारी निकायबाट निकै ठूलो परिमाणमा खोप हराएको भन्ने समाचार पढेको तर किन्न पनि पाइन्छ भन्ने सुनेर अचम्ममा परेको बताए । उनले प्रश्न गरे, ‘एकातिर खोप हराउनु र अर्कोतिर बजारमा किन्न पाइन्छ भन्नु, यो के हो ?’

भारतको केन्द्र सरकारले पश्चिम बङ्गालमा नक्कली खोप बिक्री भएको भनेर सजग गराएको पनि उनले बताए ।

महर्जनले आइतबार एक विज्ञप्ति जारी गरी खोप हराएको भन्ने विषयमा छानविन गरी मानव स्वास्थ्यमा खेलवाड गर्नेमाथि कडा कारबाही गर्न माग गरेका छन् । उनले कोभिसिल्ड खोप भनेर बिक्री भइरहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको पूर्वी नाकाहरूबाट काठमाडौँ लगायत शहरहरूमा ल्याई अवैध रूपमा कोभिसिल्ड खोप भन्दै लुकीछुपी ३ देखि ५ हजार रुपैयाँसम्ममा विक्री भइरहेको सूचना केही चिकित्सकहरूबाट मञ्चलाई प्राप्त भएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले बजारमा खोप किन्न पाइन्छ भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन् । सरकारले बिक्रीका लागि खोप नल्याएको पनि उनले प्रष्ट पारेका छन् । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना खोप किन्न पाइन्छ भन्ने कुरामा विश्वास नगर्न र त्यस्तो खोप नलगाउन आग्रह गरेका छन् ।

निजी क्षेत्रले पनि खोप ल्याउने गरी सरकारले प्रक्रिया शुरू भएको भए पनि कसैले अनुमति नपाएको डा. पौडेलले बताए । ‘कोभिड खोप भनेर अरू नै खोप दिन सक्छन्, यो संवेदनशील विषय हो,’ डा. पौडेलले भने, ‘राम्रो जानकारी लिएरमात्र खोप लगाउनु होला, अहिलेसम्म सरकारले शुल्क तिरेर खोप लगाउन पाउने व्यवस्था गरेको छैन, सचेत रहनुहोला, नझुक्किनु होला ।’

स्टोरमा रहेको खोप कसैले दुरुपयोग गरेको भए कारबाही हुने उनले बताए । उनका अनुसार एक–एक खोपको अद्यावधिक विवरण मन्त्रालयसँग छ ।

ठगीको सिकार नबनौँ

मन्त्रालयले कसैले शुल्क मागेर कोरोना विरुद्धको खोप उपलब्ध गराउने कुरा गरेमा वा यस्ता ठगी गर्ने घटनाबारे जानकारी प्राप्त भएमा सम्बन्धित निकायमा उजुरी गर्ने सचेत गराएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै सरकारले कोरोनाविरुद्धको खोप निशुल्क वितरण गरिरहेको जानकारी दिँदै उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसार पालै–पालो खोप वितरण भइरहेको हुँदा यस्ता ठगीबारे जानकारी भएमा तुरुन्त उजुरी गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले सूचनामा भनेको छ, ‘आफ्नो पालो कुरी कोभिड-१९ विरुद्धको खोप निशुल्क लगाऔँ, पैसा तिरेर किन्ने हतारमा ठगीको सिकार नबनौँ ।’

मन्त्रालयले कसैले खोप उपलब्ध गराउने वा ठगी गर्नेहरुको जानकारी भएमा स्थानीय प्रशासनलाई समेत जानकारी गराउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ४२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील