ढलमा मान्छे बग्छ, जिम्मा कसैले लिँदैन | Khabarhub Khabarhub

ढलमा मान्छे बग्छ, जिम्मा कसैले लिँदैन


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही असोज ६ गते काठमाडौँको बुढानीलकण्ठ नगरपालिका, कपनस्थित मिलन चोकमा ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विश्वकर्मा आइतबार ललितपुरस्थित महाङ्काल गाउँपालिकामा वागमती नदी किनारामा मृत भेटिए ।

उज्ज्वलको परिवारले शव पहिचान गरेपछि प्रहरीले पोस्टमार्टमका लागि ललितपुरस्थित पाटन अस्पतालमा पठायो । अन्तिम दाहसंस्कार हुन सकेको छैन ।

उज्ज्वल खसेको ढल निर्माणको जिम्मा बागमती प्रदेश सरकार अन्तर्गतको सिँचाइ डिभिजन कार्यालयले गत वर्ष ‘थापा निर्माण’ कम्पनीलाई दिएको थियो । निर्माणको जिम्मा पाएको कम्पनीले गत जेठमै काम सम्पन्न गरेर भुक्तानी लिइसकेको छ ।

सामान्यतया आफ्नो वडाभित्र भएका विकास र विनाश दुवै कुराको जानकारी सम्बन्धित वडा अध्यक्षले राख्नुपर्ने हो, तर सम्बद्ध वडा नम्बर १२ का अध्यक्ष बेखबर छन् ।

वडा अध्यक्ष शम्भुप्र्रसाद भट्टराईलाई उक्त ढल निर्माणको काम बागमती प्रदेश सरकारको सिँचाइ विभागले गरेको हो भन्नेमात्र थाहा छ ।

कुन कम्पनीले वा ठेकेदारले निर्माणको जिम्मा पायो, कसरी काम भयो, कुन इन्जिनियरको डिजाइनमा काम भयो केही थाहा छैन । उनका अनुसार वडाले ढल निर्माणमा समन्वय गर्नेबाहेक अरू कुनै जिम्मेवारी पाएको छैन । उज्ज्वलको मृत्युको घटनाबारे उनले भने, ‘नघट्नु पर्ने घटना घटिसकेको छ । त्यसमा वडाले सक्ने सहयोग पीडत पक्षलाई गर्छ ।’

उक्त ढल बूढानीलकण्ठको वडा नम्बर १२ र काठमाडौँ महानरपालिकाको वडा नम्बर ६ को सीमानामा बनेको छ । काठमाडौँतर्फका वडा अध्यक्ष दीपेन्द्र लामाले बालक ढलमा खसेको घटना पाँच दिनपछि मात्र थाहा पाए । बालकको परिवारबाट आफूलाई कुनै जानकारी नआएको उनको भनाइ छ ।

परिवारजन र अन्य कुनै पनि पक्षबाट घटनाबारे आफूलाई जानकारी नआएकाले पीडित परिवारलाई क्षतिपूर्ति दिने कुरा अघि नबढेको उनले बताए । उनले भने, ‘सम्बन्धित पक्षबाट मलाई खबर आएको छैन । म आफैँ जान्ने पनि हुनु भएन, खबर आयो भने वडाले सक्ने सहयोग गर्न म तयार छु ।’

प्रदेश सिँचाइ डिभिजन कार्यालय प्रमुख यादव सिग्देलका अनुसार गत वर्ष थापा निर्माण कम्पनीलाई ७५ लाख रुपैयाँमा ६५ मिटर ढल निर्माण गर्ने जिम्मा दिइएको थियो । उक्त कम्पनीले आफ्नो काम गत जेठमा सकेर भुक्तानी लिएको छ ।

उज्ज्वल ढल निर्माण हुन बाँकी रहेको ठाउँमा खसेका थिए ।

सिग्देलका अनुसार निर्माणकै क्रममा त्यस्तो घटना भएकोे भए निर्माण कम्पनीले नै क्षतिपूर्ति सम्बन्धित व्यहोर्नु पथ्र्यो । त्यसका लागि बीमा लगायतको व्यवस्था हुन्छ, तर निर्माण सम्पन्न भइसकेकाले क्षतिपूर्तिको कानूनी व्यवस्था नरहेको उनले बताए ।

निर्माण गर्न बाँकी ढल पनि टेन्डर प्रक्रियामा गइसकेकाले छिटै काम सुरु हुने सिग्देलले बताए । घटना हुनमा सरकारी पक्षबाट पनि केही कमीकमजोरी भएको भन्दै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित वडा कार्यालयसँग समन्वय भइरहेको जानकारी दिए ।

स्थानीयवासीका अनुसार ढल निर्माण भएपछि बाँसको बार हालिएको थियो । अहिले त्यस्तो बार छैन । स्थानीयवासी सुरेशप्रसाद साहका अनुसार अविरल वर्षाका कारण ढलमा पानीको सतह बढेपछि पानीले बाटो पनि छोपेको थियो । उज्ज्वल त्यसैमा खसेका थिए ।

उनी भन्छन्, ‘बच्चा नजिकै एक जना बुढो मान्छेसँग बसिरहेको थियो, कतिबेला खसेछ ! कसैले बचाउने मौका नै पाइएन ।’

उज्ज्वल त्यस दिन खरिबोटमा रहेको फुपुको घरबाट हजुरबासँग कपन आएका थिए । उज्ज्वलका बुबाआमा कहाँ छन् भन्ने कसैलाई थाहा छैन । उज्ज्वल सानै छँदा बुबाआमा बेपत्ता भएपछि उनी हजुरबा र फुपुको आश्रयमा थिए ।

त्यस दिन घरबाट हिँड्दा पानी परेको थिएन । बीच बाटोमा पानी पर्दा हजुरबा ओत लागे । उज्ज्वल बाटो काटेर अघि बढ्ने क्रममा ढलमा खसेर बेपत्ता भएको फुपु अनिता कोइरालाले बताइन् ।

दुई लाख रुपैयाँ दिने तयारी

वडा अध्यक्ष भट्टराईले वडाको तर्फबाट क्षतिपूर्ति स्वरूप पीडिलाई दुई लाख रुपैयाँ दिने बताए । व्यक्तिको मूल्य तोक्न नसकिने भएकाले क्षतिपूर्ति स्वरूप उक्त रकम उपलब्ध गराउने र अस्पतालमा पोस्टमार्टम गर्दा लाग्ने खर्च वडाले व्यहोर्ने उनले बताए ।

काठमाडौँ महानरपालिकाको वडा नम्बर ६ बाट पनि दुई लाख रुपैयाँ दिलाउन आफूले आग्रह गर्ने भट्टराईले बताए । पीडित पक्षबाट ठूलो रकम माग भएको पनि उनले बताए । भट्टराईले भने, ‘नियम कानूनमा रहेर क्षतिपूर्ति दिनुपर्न भएकाले पीडित पक्षको माग अनुसार वडाले रकम दिनसक्दैन ।’

न्याय पाउने अपेक्षा

उज्ज्वलको परिवारजनलाई सरकारले न्याय दिने आशा छ । क्षतिपूर्तिका लागि सम्बन्धित वडा कार्यालयसँग छलफल चलिहरहेको उज्ज्वलकी फुपु अनिताले बाताइन् । उनले भनिन, ‘बुबाआमाको बुढेसकालको साहरा टुटेको छ, सरकारले न्याय दिन्छ भन्ने आशमा छौँ ।’

सम्बन्धित निकायले भविष्यमा सम्भाव्य दुर्घटनामा ध्यान नदिँदा सन्तान गुमाउनु परेको उनले बताइन् । यस्तो घटना हुन नदिन सरकार सचेत हुनुपर्ने उनको सुझाब छ । हजुरआमा धनमाया विश्वकर्माका आँखा ओभाएका छैनन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : ५६ बजे

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

काठमाडौं– यही जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११