दक्षिण अफ्रिकाको स्वतन्त्रता अभियानका यी नायक | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाको स्वतन्त्रता अभियानका यी नायक


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्त्यमा विश्वले रंगभेद नीति विरोधी अभियन्ता डेसमन्ड टुटुलाई गुमायो । दक्षिण अफ्रिकामा व्याप्त रंगभेदी नीतिको अन्त्य गर्ने क्रममा नेल्सन मण्डेलालाई सबैभन्दा बलियो साथ दिएका डेसमन्ड टुटुको शनिवार केप टाउनमा निधन भएको छ ।

यही जनवरी १ मा केप टाउनमै हुने समाधि स्थलमा  समर्थकहरू पुगेर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

उनको निधनमा पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो वाइडेन र बेलायती महारानी एलिजाबेथ द्वितीयले श्रद्धाञ्जली अर्पण गरेका छन् । टुटु दक्षिण अफ्रिका र संसारले चिनेका र सम्मान गरिएका एक प्रबुद्ध व्यक्ति थिए ।

उनको निधनमा शोक वक्तव्य जारी गर्दै राष्ट्रपति सिरिल रामाफोसाले अहिलेको स्वतन्त्र दक्षिण अफ्रिका निर्माणमा टुटुको भूमिका महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । सन् १९४८ देखि १९९१ सम्म दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक श्वेत समुदायले बहुसङ्ख्यक अश्वेत समुदायमाथि लादिएको र‌ंगभेदी शासनको विरुद्धमा गरेको सङ्घर्षका कारण टुटु सन् १९८४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए ।

लामो समय राष्ट्रपति रहेका एफ डब्ले डी कर्कको ८५ वर्षको उमेरमा निधन भएको केही सातापछि टुटुको निधन भएको हो । टुटुको निधनपछि दक्षिण अफ्रिकी स्वतन्त्रता सङ्ग्रामका अग्रणीहरूको एउटा पुस्ता नै रित्तिएको छ ।

आइतबार केप टाउनमै सबै उमेर समूहका ‘स्वतन्त्रता अभियान’ समर्थकहरू उपस्थित भएर टुटुको पार्थिव शरीरमा पुष्प गुच्छासहित समवेदना व्यक्त गरेका थिए ।

उनीप्रति शोक व्यक्त गर्न आइपुगेका थुप्रैले गहभरी आँसु पार्दै अहिले उनीहरूले भोगिरहेको स्वतन्त्रता सहितको जीवनमा ती नायकको योगदानको स्मरण गरिरहेका थिए । त्यसै मध्येका गोलीयाथ आफूले थुप्रैपटक टुटुलाई भेटेको बताउँदै उनको निधनले भावविह्वल बनाएको प्रतिक्रिया दिए ।

उनको निधनपछि अन्तर्राष्ट्रिय समुदायले पनि समवेदना प्रकट गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले टुटुलाई ईश्वर र मानिसको साँचो सेवकको संज्ञा दिँदै उनको निधन मानव समुदायकै लागि ठूलो क्षति भएको बताएका छन् । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले टुटुलाई मेन्टर, साथी र कम्पासको रूपमा सम्झन चाहन्छन् । टुटुले संसारलाई दिशा बोध गर्ने , नेतृत्व गर्ने अभियान चलाउने सबै काम गरेका थिए ।

महारानी एलिजाबेथले टुटुसँगको भेट, उनको स्वागत र उनको आतिथ्यता सम्झिरहेको बताएकी छिन् । उनले पनि दक्षिण अफ्रिकी नागरिकलाई समवेदना सन्देश व्यक्त गरेकी छिन् ।

महारानी एलिजाबेथले टुटुको निधन दक्षिण अफ्रिकी जनताका लागि मात्र नभई बेलायत र अन्य सबै कमनवेल्थका बासिन्दाका लागि उत्तिकै दुखको विषय भएको बताएकी छिन् । उनले कमनवेल्थमा टुुटु सधै प्रेरणाको स्रोत बनिरहने धारणा व्यक्त गरेकी छिन् । राज दरबारबाट पठाइएको सन्देशमा टुटुको निधनमा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।

‘संसारका सबै मानिस जाती एक हौँ भन्ने अभियानका नायक टुटु संसारका सबै न्याय प्रेमीको मनमा अजर बनेर रहने छन्,’ प्राय अन्तर्राष्ट्रिय नेताहरूले पठाएको शोक सन्देशमा उल्लेख गरिएको छ ।

नेल्सन मण्डेला फाउन्डेसनले टुटुलाई न्यायमूलक समाज निर्माण अभियानको एक महत्त्वपूर्ण नायक भनी इंगित गरेको छ । न्यायका लागि उनले गरेको सङ्घर्षका कथा दक्षिण अफ्रिकामा मात्र नभई संसारमा नै उत्तिकै महत्त्वपूर्ण भएको फाउन्डेसनबाट जारी शोक विज्ञप्तिमा उल्लेख छ । मण्डेला फाउन्डेसनले नै उनलाई बहुआयामिक मानव तथा राम्रो चिन्तक र चितुवाजस्तै गतिशील नेताका रूपमा स्मरण गरेको छ ।

दक्षिण अफ्रिकी इतिहासलाई बुझ्नेहरू डेसमन्ड टुटुविना दक्षिण अफ्रिकाको त्यो लामो यातनामय शासनको अन्त्य सम्भव नहुने मत व्यक्त गर्छन् । थुप्रै नेताहरू जेल परिरहेको, मारिएको तथा निर्वासित भइसकेको समयमा यी धर्मगुरू समेत रहेका नेताले बारम्बार दक्षिण अफ्रिकी नागरिकमा जागरण ल्याउने काम गरिरहेका थिए र उनको सक्रियतामा कुनै दिन पनि कमी आएको थिएन ।

आन्दोलनको समयमा पिडकलाई भेट्ने, सहानुभूति व्यक्त गर्ने र आवश्यक परेको समयमा जीवनयापनमा सहयोग गर्ने सम्ममा यी गतिशील नेता सक्रिय थिए । उनको गति साँच्चै आश्चर्यजनक रहेको त्यस आन्दोलनमा सरिक हुनेहरू बताउँछन् । उनले श्रवेतहरुको त्यो शासनलाई नाजीको शासनभन्दा बर्बर रहेको ठहर गर्दै पश्चिमा देशहरूलाई पनि आन्दोलनमा साथ दिन अभियान चलाइरहेका थिए ।

प्रजातन्त्र स्थापनापछि उनी न्यायिक आयोगको पक्षमा थिए । यसले दक्षिण अफ्रिकी स्वतन्त्रता आन्दोलनमा भएको ज्यादतिबारे छानबिन गरेको थियो ।

दक्षिण अफ्रिकालाई समावेशी बनाउने कुरामा पनि उनी लागिपरेका थिए । पछिल्लो समय आफूले देखेको सपनाभन्दा फरक शैलीको भएकोमा उनी दु:खी पनि थिए ।

धेरै दक्षिण अफ्रिकीहरू आजका दिनमा पनि टुटुको नैतिक बल र उनले दिलाउने आत्मविश्वासको स्मरण गर्छन् ।

उनको एउटै मत थियो, सत्यमा शक्ति हुन्छ । यस्तो मान्यता बोक्ने टुटु आफू नचुके अन्त्यमा सत्यकै जीत हुने बताउने गरेका थिए । आफूमा निहित आत्मबल र शक्तिका कारण जीत हात पार्न सक्ने कुरामा उनी प्रतिबद्ध रहँदै आएका थिए ।

उनको यही आदर्श मान्यताले दक्षिण अफ्रिकामा धेरैलाई आदर्शवादी जीवन जिउन प्रेरित गरेको थियो । सधै आशावादी हुने र जीवनप्रति सकारात्मक भएर अगाडि बढ्नका लागि टुटु धेरैका लागि प्रेरणाको स्रोत बनेका थिए । उनको ट्रेडमार्क बनेको मुस्कान त धेरै दक्षिण अफ्रिकीका लागि अविस्मरणीय नै छ ।

बैजनी रङ्गको चमकदार लुगा, शुद्ध आचरण र सधैँ हाँसिरहने अनुहार । टुटुलाई भेट्ने जो कोही पनि उनीबाट प्रभावित नहुने कुरै थिएन । आम नागरिकको कार्यक्रममा त्यही नागरिक अनुसार भएर बाँच्न र जिउन उनीमा कहिल्यै हिचकिचाहट भएन । सन् २०१० को विश्वकप फुटबलको उद्घाटनको दौरान उनी नाचेको दृश्य धेरैलाई अझै पनि सम्झना छ ।

कुनै कार्यक्रममा पुग्दा मजाले हाँस्ने र रमाइलो गर्ने उनको आदतसँग धेरै जना परिचित थिए । यो लामो अभियान र यो लामो योगदानका बाबजुद सबैका लागि उनी प्रिय थिएनन् । खासमा सत्तारुढ अफ्रिकन राष्ट्रिय काँग्रेसका धेरै नेता उनका आलोचक थिए ।

धार्मिक अतिवादको आरोप सहेका उनलाई एकपटक प्रहरी अधिकारी झेन भेकी सेलेले खुरुक्क घरमा गएर बस्न धम्की दिएका थिए ।

चर्चमा सन् १९६० मा धार्मिक अनुयायीका रूपमा प्रवेश गरेका टुटु १९६७ देखि ७८ सम्म लेसेथोमा चर्चको प्रमुख पादरी भए । त्यसपछि जोहन्सबर्ग चर्चमा पादरीका उपप्रमुख भए ।

बैजनी रङ्गको चमकदार लुगा, शुद्ध आचरण र सधैँ हाँसिरहने अनुहार । टुटुलाई भेट्ने जो कोही पनि उनीबाट प्रभावित नहुने कुरै थिएन ।

त्यसपछि उनी सन् १९८५ मा उनी जोहन्सबर्गमा प्रमुख पादरी नियुक्त भए । यसपछि उनी केप टाउनका पहिलो अश्वेत आर्क विसप भएका थिए । उनले आफ्नो पद र जिम्मेवारीलाई अश्वेतमाथि भइरहेको अपहेलनाको विरुद्धमा पनि प्रयोग गरेका थिए । अश्वेतहरू धार्मिक हुँदैनन् भन्ने आरोपलाई पार गर्न उनको जिम्मेवारी काफी थियो ।

सन् १९९४ मा नेल्सन मण्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति भएपछि उनलाई बेपत्ता छानबिन आयोग प्रमुखमा नियुक्त गरिएको थियो । युद्धको समयमा दुवै पक्षबाट भएका अपराधलाई छानबिन गर्ने काम त्यो आयोगले गरेको थियो ।

यसपछि दक्षिण अफ्रिकालाई समावेशी बनाउने कुरामा पनि उनी लागिपरेका थिए । पछिल्लो समय आफूले देखेको सपनाभन्दा फरक शैलीको भएकोमा उनी दु:खी पनि थिए ।

झोसा र मोत्सवनाको मिश्रित समुदायका उनले गरीबीका कारण कठोर बाल्यकाल बिताएका थिए । धार्मिक गुरु भएपछि उनी स्वीजल्यान्ड र लेसोथो लगायत अफ्रिकी देशमा धार्मिक कार्यक्रममा सक्रिय बनेका थिए । शिक्षा क्षेत्रमा सक्रिय उनी जोहन्सबर्गको सेन्टमेरिज कलेजका डिन पनि भएका थिए । इसाई शिक्षालाई दक्षिण अफ्रिकामा व्यापक बनाउने सवालमा पनि उनको त्यत्तिकै सक्रियता थियो ।

उनको पुर्खाले दोस्रो दर्जाको नागरिक भएर जीवन बिताए । उनी पहिलो दर्जाको मात्र होइन, सम्मानित नागरिकको परिचय बनाएर जीवन गुमाए । उनी लगायत एउटा ठूलो बहादुर व्यक्तिको जमातकै कारण आज दक्षिण अफ्रिकी नागरिकहरूले स्वतन्त्रता र समानतासहितको जीवन बाँचेका छन् । यसै जीवनका कारण टुटु सबैका लागि आदर्श र प्रिय पात्र बनेका छन् ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ८ : १५ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले