काठमाडौँ– आज असार १५ अर्थात किसानको पर्व । सरकारले असार १५ लाई ‘राष्ट्रिय धान दिवस’ घोषणा गरेपछि यस दिन हरेक वर्ष उत्सव मनाउने गरिएको छ । यसपालि अठारौँ धान दिवस तथा रोपाइँ महोत्सव हो ।
नेपालको युवा जनशक्तिको निकै ठूलो अंश अरबको आगोसरी तातोमा पसिना चुहाउँछ । यता देशमा शहरीकरणका नाममा सडकनजिकको धानखेत प्लटिङको घडेरीमा परिणत हुने क्रम बढेको छ । चामल आयात बढ्दो क्रममा छ ।
कतिपय जिल्लाका किसानहरू धान खेती छाडेर लागुऔषधका रूपमा प्रतिबन्धित गाँजा खेतीमा लागेका छन् । नेपाल प्रहरीको एक तथ्याङ्कअनुसार आधाभन्दा बढी जिल्लामा गाँजा खेती हुने गरेको छ ।
नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लका अनुसार नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ । एउटा गाँजा र अर्को अफिम । भाँङ र धतुरो पनि उत्पादन हुन्छ तर व्यावसायिक छैन ।
४० जिल्लामा गाँजा र अफिम खेती !
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार नेपालका ३४ जिल्लामा गाँजा खेती र ७ जिल्लामा अफिम खेती हुने गरेको छ ।
ब्यूरोका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार नेपाल प्रहरीले गाँजा र अफिम खेती नियन्त्रण गर्न स्रोतसाधनले धानेसम्म काम गर्दैै आएको छ । चालु आर्थिक वर्षमा ४० भन्दा बढी जिल्लामा गाँजा र अफिम खेती नष्ट गरेको उनले बताए ।
उनी भन्छन्, ‘लुकिछिपी करिब ४० जिल्लामा गाँजा खेती भइरहेको छ ।’
प्रहरीले गाँजा नष्ट गरेका जिल्ला
पहाडी क्षेत्रका कास्की, तनहुँ, बाग्लुङ, गोरखा, अर्घाखाँची, बैतडी, नुवाकोट, दोलखा, पाल्पा, पूर्वीरुकुम, पश्चिम रुकुम, सिन्धुली, लमजुङ, स्याङ्जा, पर्वत, मनाङ, म्याग्दी, जाजरकोट, डोटी, हुम्ला, रोल्पा, सुर्खेत र काठमाडौँ जिल्लामा गाँजाखेती नष्ट गरेको प्रहरीले जनाएको छ ।
यसैगरी तराई र भित्री मधेशमा सप्तरी, सिरहा, महोत्तरी, मकवानपुर, रौतहट, बारा, पर्सा, धनुषा, सर्लाही, दाङ र नवलपुर जिल्लामा गाँजा नष्ट गरेको प्रहरीको विवरण छ ।
अफिमखेती नष्ट
प्रहरीले पूर्वीरुकुम, मकवानपुर, रौतहट, सुर्खेत, जाजरकोट, पश्चिम रुकुम र डोटीमा अफिम खेती नष्ट गरेको जनाएको छ ।
१८ सय बिघामा गाँजा र अफिम
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा प्रहरीले १ हजार ७६९ बिघा जमिनमा गाँजा र ४१ बिघामा अफिम नष्ट गरेको छ ।
ब्यूरोको तथ्याङ्कअनुसार प्रहरीले पछिल्लो ५ वर्षमा ३ हजार ८९० बिघा जमिनमा गाँजा र ४८६ बिघामा अफिम नष्ट गरको छ ।
कहिले कति नष्ट ?
तराईबाट पहाड चढ्यो गाँजा
जानकारहरूका अनुसार नेपाल २०३३ सालसम्म गाँजा खेतीमा प्रतिबन्ध थिएन । राष्ट्र संघले सन् १९६१ मा पारित गरेको ‘द सिङ्गल कन्भेन्सन अन नर्कोटिक्स ड्रग्स’ नामक सन्धि अनुमोदन गरेपछि नेपालले गाँजा खेतीमा प्रतिबन्ध लगाएको हो । नेपालमा लागुऔषध नियन्त्रण ऐन, २०३३ ले गाँजामा पूर्ण प्रतिबन्ध लगायो ।
पूर्वडीआईजी मल्लका अनुसार २०३३ सालमा गाँजा खेतीमा प्रतिबन्ध लगाएर कडाइ गरेपछि २०४६ सालसम्म चुरेको छेउछाउतिर लुकीछिपी खेती हुन्थ्यो ।
मल्ल भन्छन्, ‘त्यो समयमा भारतको उत्तरपूर्वी क्षेत्रमा धेरै गाँजा खेती हुन्थ्यो । त्यहाँ आतंकवादी गतिविधि बढ्यो । प्रशासनको संलग्नताविना गाँजा खेती सम्भव हुँदैन । यसकारण उत्पादन लागत बढ्न गयो ।’
उनका अनुसार यसपछि नेपालका बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लामा गाँजा खेती फस्टाउन थालेको हो । यी जिल्लामा प्रशासनिक कडाइ हुन थालेपछि गाँजा पहाड चढेको हो ।
मल्ल भन्छन्, ‘अहिले नेपालका आधाभन्दा बढी जिल्लामा गाँजा खेती फैलिएको छ । प्रहरीले जति कडाइ गर्छ त्यति नै नयाँ ठाउँमा फस्टाउँदै गएको छ ।’
गाँजा र अफिम खेतीबाट बढी फाइदा हुने भएपछि लुकीछिपी खेती फस्टाएको विश्लेषकहरूको ठहर छ ।
लगानी भारतीय तस्करको
प्रहरीको अनुसन्धान अनुसार नेपालमा हुने गाँजा खेतीमा भारतीय तस्करहरूको लगानी हुने गरेको छ । उनीहरूले बिउ र प्राविधिक पनि पठाउँछन् ।
पूर्वडीआईजी मल्ल पैसाको लोभमा गरिब कृषकहरूले गाँजा र अफिम खेती गर्ने गरेको बताउँछन् । उनीहरूलाई भारतीय तस्करहरूले उक्साउने गरेको उनको बुझाइ छ ।
प्रहरीका अनुसार खास गरी दुर्गमका किसानहरूले गाँजा खेती गर्ने गरेका छन् । उनीहरूले तस्करबाट खर्च पाउँछन् । कृषकहरूलाई उपयुक्त विकल्प दिन नसक्दा गाँजा खेती झन् फस्टाउने देख्छन् पूर्व डिआईजी मल्ल ।
गाँजा खेती वैध बनाउने प्रयास पनि भएको छ । ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ १६ महिनाअघि गैरसरकारी विधेयकका रूपमा प्रतिनिधिसभामा दर्ता छ । गाँजा खेतीबाट नेपाली अर्थतन्त्रमा ठूलो योगदान पुग्ने दाबी विधेयक पक्षधरहरूको छ ।
हामीले कानून बनाएर मात्रै गाँजा खेती गर्न पाइने होइन । सन् १९६१ को ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स’ ले औषधि बनाउने प्रयोजनका लागि मात्र गाँजा र अफिम खेती गर्न अनुमति दिन्छ ।
लागुऔषध नियन्त्रण ब्यूरोको तथ्याङ्ककले के प्रष्ट पार्छ भने खेतीयोग्य जमिनमा खाद्य बालीका लागि उन्नत बिउ, मलखाद र अन्य अवसर नहुँदा किसानहरू अवैध नै भए पनि गाँजा खेतीतिर लाग्न सक्नेछन् ।
प्रतिक्रिया