नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहले उद्योग, होटल, ऊर्जा, कृषि, टेक्सटाइल, रियलस्टेट, बैंक तथा वित्तीय संस्था, निर्यातजन्य उत्पादन लगायतका धेरै क्षेत्रमा लगानी गरेको छ । वार्षिक २० करोड अमेरिकी डलरभन्दा बढी कारोबार गर्ने गोल्यान समूहले ५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । यो समूहले नयाँ क्षेत्रहरूमा समेत लगानी बढाएको छ । व्यवसायमा झन्डै पाँच दशक लामो यात्रा गरेको गोल्यान समूह निजी क्षेत्रको सफलताको उदाहरण पनि हो ।
निजी क्षेत्रबाट निर्यातमा सम्भवत सबैभन्दा ठूलो गोल्यान समूहले भारत, अमेरिका, बेलायत, क्यानाडा, जर्मनी, इटाली, सिङ्गापुर, टर्की, केन्या लगायत देशहरूमा नेपाली उत्पादन निर्यात गर्ने गरेको छ ।
गोल्यान समूहको विरासत थाम्ने जिम्मेवारीमा छन् नाति पुस्ताका अक्षय गोल्यान । उमेरले ३० वर्षमात्रै पूरा भएका अक्षयले अमेरिकाबाट स्नातक र स्पेनबाट एमबीए पूरा गरेका छन् ।
उनीसँग कोभिड-१९ ले निजी क्षेत्रमा पारेको प्रभाव, आर्थिक गतिविधि पुनर्संरचनामा निजी क्षेत्रको अवस्था, योजना, चुनौती लगायत विषय समेटेर खबरहबका लागि कविता श्रेष्ठले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।
तपाईंले अमेरिका र युरोपमा उच्च शिक्षा हासिल गर्नुभयो । त्यहाँ हासिल गरेको सिप, क्षमता र सैद्धान्तिक ज्ञान नेपालमा व्यावसायिक नेतृत्वका लागि कतिको फलदायी हुँदै छ ?
बाहिर पढ्दा प्रणाली, प्रक्रिया, त्यहाँको काम गर्ने तरिका, संस्थागत व्यवस्था जस्ता कुरा बुझ्ने मौका मिल्छ । यो राम्रो फाइदाको कुरा हो । व्यापार वृद्धिका लागि नेटवर्किङको अवसर पनि हुन्छ । फरक देशका नागरिकहरूसँग उनीहरूको अनुभव बुझ्ने र समस्या समाधान गनेर्ए तरिका थाहा पाउने अवसरका हुन्छ । त्यो सबै बुझेर नेपालभित्र कसरी कार्यान्वयन गर्ने भन्नेमा फाइदा भएको छ ।
कोरोनाका कारण नेपालको निजी क्षेत्रलाई समस्या परेको छ । गोल्यान समूह कस्तो समस्या सामाना गरिरहेको छ ?
हाम्रो ग्रुपले मात्रै होइन, सबैले समस्या भोगिरहेका छन् । लकडाउनका बेलामा सबै व्यवसाय बन्द भएको हुन्छ । खुद्रा पसल पनि खोल्न मिल्दैन । यस पटकको लकडाउनमा यसवर्ष हामी घरबाटै काम प्रभावकारी बनाउने प्रयत्नमा छौँ । गत वर्षको तुलनामा यसपालि काममा कम असर परेको छ ।
नेपालको अर्थतन्त्रमा कोरोनाले निकै घातक धक्का दिएको छ । यसबाट उठानका लागि सरकार र निजी क्षेत्रले के कस्ता उपायहरू गर्न सक्छन् जस्तो लाग्छ ?
सबैभन्दा प्रभावकारी उपाय कोरोनाविरुद्धको खोप मात्रै हो । नेपालको अर्थतन्त्र, निजी क्षेत्र र नेपालका सबै नागरिकलाई खोपको लागि छिटो प्रभावकारी व्यवस्थापन हुनुपर्छ । अरू त केही उपाय हुँदैन । तेस्रो र चौथो लहरको पनि कुरा आएको छ । यसको निराकरण भनेको खोप नै हो ।
नेपालको निजी क्षेत्र कोरोनाको लामो र कठोर असरबाट छिटै उठ्न, लगानी बढाउन र कामको गति बढाउन प्राथमिक पहलहरू के के हुनसक्छन् ? बेरोजगारी समस्या बढ्ने देखिन्छ । यस्तो अवस्थामा निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्छ भन्ने ठान्नुहुन्छ ?
मेरो विचारमा सरकार र निजी क्षेत्रले उपयुक्त समाधान खोजेर केही समयका लागि इन्सेन्टिभको उपाय गर्नुपर्छ । ट्याक्स होलिडे पनि हुनसक्छ लगानी बढाउनका लागि । आगामी आर्थिक वर्षको बजेटमा स्टार्टअपका लागि केही सुविधाहरू पनि समावेश गरिएको छ । योजना एउटा कुरा हो, कार्यान्वयन महत्वपूर्ण हुन्छ । त्यसमा सरकार र निजी क्षेत्र मिलेर कार्यान्वयन गरेपछि लगानी र अर्थतन्त्र पनि बढ्नसक्छ ।
कोभिड-१९ को दोस्रो लहरले नेपाललाई पहिलोले भन्दा बढी असर पार्नसक्ने अनुमान भइरहेको छ । तपाईंहरूको लक्ष्य प्राप्ति र योजनामा कस्तो असर पारेको छ ?
नेपालमा उपलब्ध क्षेत्रका बारेमा सबैलाई थाहा छ । काम गर्ने प्रणाली र प्रक्रियामा सुधार गर्ने, संस्थागत तरिकाले काम गर्ने हो भने कर्मचारीलाई पनि सहज हुन्छ । स्टेकहोल्डरलाई पनि पारदर्शी हुन्छ ।
परम्परागतरूपमा चलिआएको नेपालको निजी क्षेत्र धमाधम डिजिटलतिर गएको छ, यसले तपाईंहरूलाई कतिको सहज भएको छ ?
डिजिटलाइजेशन नेपालमा बढ्दै गएको छ । निजी क्षेत्रमा समेत विगत पाँच-छ वर्षमा आईटीको धेरै प्रयोग भएको थिएन । अहिले ई-वालेटहरू आएको छ । बैकिङक पेमेन्ट पनि अनलाइनमा हुन थालेको छ । निजी क्षेत्रमा सफ्टवेयरहरूको प्रयोग बढिरहेको छ । यसले उत्पादकत्व वृद्धिमा धेरै सहयोग गर्छ ।
नेपाल कृषिप्रधान मुलुक भए पनि खाद्यान्नमा परनिर्भर छ । हाम्रो उत्पादनले नपुगेर आयात गर्नुपरेको छ । तपाईंहरूजस्ता ठूला व्यावसायिक समूहले कृषि क्षेत्रको उन्नतिका लागि कस्तो कदम चाल्न सक्छन् ?
उत्पादन मुख्य कुरा हो । भारतमा ठूलो स्केलमा उत्पादन हुन्छ । नेपालमा पनि पहिला उत्पादन हुन्थ्यो । १०/१५ वर्षमा नेपालको उत्पादन समेत घट्दै गइरहेको छ । कृषिको उत्पादन घट्दै जानुमा बजारको सहज पहुँच नहुनु र उत्पादनको लागत बढ्नु मुख्य कारण हुन् । आयातको मूल्य र निर्यातको मूल्यमा धेरै अन्तर छ ।
नेपालको उत्पादन र भारतको उत्पादनको मूल्यमा फरक देखिएको छ । त्यसको समाधानका लागि उत्पादनको लागत घटाउनुपर्छ । भारतमा जस्तै नेपालमा समेत सरकारले कृषिफार्महरूमा लगानी गर्ने हो भने केही हदसम्म आयात घट्न सक्छ ।
नेपालमा प्रायः सबै आधारभूत क्षेत्रमा लगानी गरेको गोल्यान समूहले केही वर्षयता कृषि क्षेत्रमा पनि लगानी केन्द्रित गरेको छ । यस क्षेत्रमा ‘गोल्यान एग्रो कम्पनी’ खोलेको छ । कृषि क्षेत्रको लगानीमा कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
कृषि क्षेत्रमा हाम्रो लगानीको प्रेरणास्रोत मेरो बुबा हो । नेपालको कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्ने उहाँको सपना थियो । गाउँमा जाँदा, किसानहरूसँग भेट गर्दा उहाँ अलिकति प्रभावित बन्नुहुन्थ्यो । उहाँमा किन हामी भारतबाट कृषिजन्य वस्तु आयात गरिरहेका छौँ भन्ने प्रश्न उठ्थ्यो ।
बुबा विराटनगरमा बस्दा त्यहाँको स्थानीय खाना स्वादिलो थियो । त्यसैले हामी पनि प्रभावित भएर कृषि क्षेत्रमा केही गरौँ भनेर हाम्रो योजना शुरू भयो । निजी क्षेत्रले नेपालको कृषि क्षेत्रमा योगदान गर्नु निकै महत्वपूर्ण कुरा हो ।
पहिला बुबाको प्रभावले काम गरेका थियो । अहिले म पनि किसानहरूलाई भेट्न जान्छु । हामीकहाँ कृषिफार्म पनि छन् । नेपालजस्तो मुलुकमा कृषिमा निजी क्षेत्रले काम गर्नुपर्छ भन्ने हामीलाई लागेको छ ।
गोल्यान एग्रो प्रालिमा चुनौतीहरूको सामना गरिहनुभएको होला, थप लगानीको सम्भावना कस्तो देख्नुभएको छ ?
काम धेरै गाह्रो छ । यसमा दुई-तीन दिनमै बस्तुहरू बिग्रने हुन्छ । तीन वर्ष भयो, हामीले धेरै कुरा सिकिरहेका छौँ । अब चाँहि केही वृद्धि होला ।
नेपालमा पछिल्ला वर्षहरूमा आयात बढ्दै गएको छ, निर्यात घटिरहेको छ । सम्भवतः नेपालमा सबैभन्दा धेरै निर्यात गर्ने समूह तपाईंहरूकै हो । नेपालले निर्यातको अवस्था सुधारका लागि गर्नुपर्ने मुख्य कामहरूको के के हुन सक्छन् ?
यसमा सरकारले केही इन्सेन्टिभ त दिइरहेको छ तर तर मुख्य कुरा उत्पादनको लागत काम गर्नुपर्ने हुन्छ । अर्को भनेको भूपरिवेष्ठित देश भएका कारणले लजिस्टिक र ट्रान्सपोर्ट लागतमा हामीले विदेशसँग प्रतिस्पर्धा गर्न सकेका छैनौँ । त्यसमा सरकारले केही सहयोग गर्दा सहज हुन्छ ।
सरकारले आयात निरुत्साहित गर्नपर्छ । कृषि क्षेत्रमा हामीले उत्पादन बढाउन सक्यौँ र लागत केही कम गर्न सक्यौँ भने निर्यात सहज हुनसक्छ ।
गोल्यान समूहले रियलस्टेटमा पनि लगानी गरेको छ । अहिले रियलस्टेटको अवस्था कस्तो छ ?
रियलस्टेटमा हाम्रो हाउजिङमा दुईवटा प्रोजेक्ट छन् । दुवै वटाको काम पूरा भइसकेको छ । एउटा बालकुमारीमा छ, त्यहाँ दुई सय अपार्टमेन्ट बनाएका थियौँ । त्यहाँ अहिले लगभग पूरा भइसकेको छ, बिक्रीका लागि दश-बाह्र वटा मात्रै बाँकी होला ।
अर्को चाँहि उच्च गुणस्तरको प्रिमियम अपार्टमेन्ट बनाएका छौँ । भविष्यको योजनाअन्तर्गत वानेश्वरमा व्यापारिक भवन निर्माण गरिरहेका छौँ । त्यो चाहिँ २०२२ को दोस्रो चौमासिकसम्ममा निर्माण सम्पन्न हुन्छ, काम शुरू भइसकेको छ । कोरोनाका कारण अहिले केही असर परेको छ । दश तलाको व्यापारिक भवन हो त्यो । अर्को भनेको टेकुतिर ९५ अपार्टमेन्टको तयारी भइरहेको छ । तीन वर्षभित्र त्यो पनि पूरा हुनेछ ।
नेपालमा अहिले पनि सामूहिक आवासको क्षेत्र व्यवस्थित हुन सकेको छैन । कतिपयले रियलस्टेटलाई अनुत्पादक क्षेत्रका रूपमा समेत बुझेका छन् । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
हरेक देशको शहरी क्षेत्रमा रियलस्टेट त फन्डामेन्टल हुन्छ । यो प्राइमरी एसेट भयो । सबै जनालाई खानेकुरा, स्वास्थ्य र आवास त न्यूनतम आवश्यकता हुन्छ । म त रियलस्टेटलाई अनुत्पादक क्षेत्र भन्दिनँ । यो नयाँ क्षेत्र पनि होइन । काठमाडौँमा यो अहिले परिपक्व भइसक्यो । तराईतिर भने अझै हुन सकेको छैन । काठमाडौँको रिङरोडभन्दा बाहिर अहिले पनि रियलस्टेटको सम्भावना छ ।
नेपालको ऊर्जा क्षेत्रमा गरेको लगानीमा गोल्यान समूहको अवस्था कस्तो छ ? आगामी दिनमा के योजना छ ?
ऊर्जामा हाम्रो हाइड्रोपावर र सौर्य ऊर्जा दुबै छ । हाइड्रोमा दुई सय मेगावाटको आयोजना निर्माणको क्रममा रहेको छ, ३५ मेगावाटको एउटा आयोजना अबको दुई-तीन महिनामा निर्माण सम्पन्न हुने क्रममा छ । प्लानिङ फेजमा चाँहि ४५० मेगावाट रहेको छ ।
सोलार प्रोजेक्टमा ६० मेगावाटको पीपीए हुने चरणमा पुगिसकेको छ । अर्को २० मेगावाटको आयोजनाको साउनमा निर्माण शुरू गर्ने चरणमा पुगेका छौँ ।
यो क्षेत्रमा कतिको चुनौती भइराखेको छ ?
ऊर्जा क्षेत्रमा अलिकति चुनौती भनेको प्रक्रियामा केही ढिलाइ हुनु हो । अन्य हिसाबमा ऊर्जा क्षेत्रमा हामीलाई समस्या महसुस भएको छैन । संसारभर अहिले विद्युतीय सवारी साधनको कुरा उठिरहेको छ । नेपालमा समेत आगामी १० वर्षमा विद्युतीय सवारी चलाउने भनिएको छ, यो क्षेत्रमा पनि नेपालमा राम्रै हुन्छ ।
नेपालमा हस्पिटालिटी क्षेत्रको अवस्थाका कस्तो देख्नुभएको छ ?
अहिलेको अवस्थामा होटलहरूको कमाइ जिरो छ । होटलहरूको राम्रो अवस्था थियो । हामीले यो क्षेत्रमा समेत लगानी गर्ने सोच बनाएका थियौँ । कोरोनाका कारण नेपालको पर्यटन क्षेत्र शून्यमा रहेको अवस्थाले हामी अघि बढेनौँ । संसारभर खोप लगाउने क्रम शुरू भएपछि पर्यटन क्षेत्र फेरि पनि आफ्नो लयमा फर्किनेछ ।
पछिल्ला वर्षमा नेपालमा तारे होटलको भित्र्याउने होडबाजी देखिन्छ । यसमा के भन्नुहुन्छ ?
यो त म भन्न सक्दिनँ । हामीले हेर्नुपर्छ, के हुन्छ ।
कोरोना महामारीपछि होटल क्षेत्रको भविष्य र लगानीको अवस्था कस्तो देख्नुहुन्छ ?
मेरो विचारमा कोरोनापछि अलिकति सबै क्षेत्र, उद्योगहरू पूर्ववत् अवस्थामा आउनेछन् । दुई वर्षदेखि मानिसहरू घरमा बसिरहेका छन् । कोरोनापछि सबै मानिसहरू रमाइलो गर्न चाहिरहेका छन् । त्यसैले हस्पिटालिटी क्षेत्र समेत कोरोनापछि लयमा फर्कने विश्वास छ ।
गोल्यान समूहले आगामी दिनमा कुन कुन क्षेत्रमा लगानी गर्ने तयारी गरेको छ ?
हाम्रो चार वटा क्षेत्रमा छ । ऊर्जा, रियलस्टेट, निर्यातजन्य उत्पादन र कृषि क्षेत्र । यिनै चारवटा क्षेत्रमा हामी फोकस गरिरहेका छौँ । यसलाई कसरी अघि बढाउने भन्नेमा हामी केन्द्रित रहेका छौँ । नेपाललाई चाहिने मुख्य क्षेत्र पनि यिनै हुन् । यिनै क्षेत्रमा काम गरेर अघि बढ्न चाहेका छौँ ।
अहिले सबैभन्दा बढी चुनौतीको क्षेत्रका रूपमा कृषि क्षेत्र रहेको छ । नेपालमा कृषि क्षेत्रमा निजी क्षेत्रलाई अहिलेसम्म कुनै ज्ञान छैन । त्यसकारण अहिले कृषिक्षेत्रमा केही चुनौती देखिएको छ तर नेपालमा केही वर्षमा कृषिक्षेत्र सबैभन्दा राम्रो क्षेत्र बन्ने पक्का छ ।
गोल्यान समूह अन्तर्राष्ट्रियरूपमा पनि लगानी गर्ने तयारीमा छ ?
हामी नेपालभित्र नै केही गरौँ भन्नेमा छौँ । नेपालका लागि केही गरौँ । नेपाल जुन बेला अन्तर्राष्ट्रिय स्तरमा जान्छ, हामी पनि सँगै जानेछौँ ।
स्टार्टअप व्यवसायीका लागि तपाईंले दिने केही टिप्सहरू छन् ?
स्टार्टअपका लागि मेरो एउटा मात्रै टिप्स हुन्छ, योजना र होमवर्कमा धेरै समय लगाउनुहोस् । रिसर्च नगरी अगाडि नबढ्नुहोस् । प्रशस्त मात्रामा रिसर्च गरेर अघि बढ्दा त्यसको प्रतिफल पनि राम्रो हुन्छ ।
प्रतिक्रिया