काबलु– अमेरिकी नेतृत्वको गठबन्धन सेनामा सहभागी हुँदै २००१ मा अफगान मिसनमा अफगानिस्तान प्रवेश गरेको बेलायत आइतबार २० वर्षपछि पूर्णरुपमा फिर्ता भएको छ । शनिबार राति बेलायती सेनाको अन्तिम विमान अफगानिस्तानको काबुल विमानस्थलबाट उड्यो । यो विमानले काबुल छाडेसँगै अफगानिस्तानबाट बेलायत पूर्णरुपमा बाहिरिएको छ ।
बेलायती रक्षामन्त्रीले आफ्नो सेनाको अन्तिम विमानले शनिबार राति काबुल छाडेको जानकारी दिएका छन् । पछिल्ला दिनहरुमा बेलायती सेना अफगानिस्तानबाट विदेशी नागरिकहरुको उद्धारमा खटिएका थिए ।
२० वर्षपछि अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले एक् भिडियो सन्देश जारी गरेका छन् । उनले अब अफगानिस्तानमा बेलायती सेना, कूटनीतिज्ञ, कर्मचारी र नागरिक कोही पनि नरहेको जानकारी दिएका छन् । उनले अफगान युद्धमा ज्यान गुमाएका ४५७ जना बेलायती सेनाका परिवारलाई सम्बोधन गर्दै उनीहरुको बलिदानी खेर नजाने बताएका छन् ।
बेलायती सेनाको बहादुरीपूर्ण लडाइँका कारण बेलायतलगायतका पश्चिमा मुलुकमा आतंकवादी आक्रमण नभएको बताएका छन् । उनले बेलायती सेनाले संसारलाई सुरक्षित बनाउन योगदान दिएको बताएका छन् ।
On the end of military operations in Afghanistan. pic.twitter.com/sOeXjeYtIr
— Boris Johnson (@BorisJohnson) August 29, 2021
प्रधानमन्त्री जोन्सनले ३६ लाख अफगान बालिकाहरुलाई शिक्षा दिएको भन्दै ‘भविष्यमा उनीहरुले के पाउँछन् थाहा भएन तर हामीले अमूल्य शिक्षा दिएको छौ’ भनेका छन् ।
बेलायती प्रधानमन्त्री जोन्सले तालिबानसँगको सम्बन्धबारे आफ्नो धारणा राख्दै तालिबानले महिला र बालबालिकाको अधिकारको रक्षा गर्नुपर्ने बताएका छन् । उनले तालिबानले आगामी दिनमा के गर्छ आपसी सम्बन्ध त्यसमा निर्भर हुने बताएका छन् । उनले अफगानिस्तानलाई आतंकवादीको कारखाना बन्न नदिन तालिबानले काम गर्नुपर्ने बताएका छन् ।
२००० को सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरका दुई ट्वीन्स टावरमा भएको विमान आक्रमणका मुख्य दोषी मानिएका ओसामा बिन लादेनलाई अफगानिस्तानको तत्कालीन तालिबान सरकारले शरण दिएको भन्दै अमेरिकी नेतृत्वको गठबन्धन सेनाले २००१ मा अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो । सोही समयमा बेलायत अमेरिकासँगै अफगानिस्तान प्रवेश गरेको थियो ।
The final flight carrying UK Armed Forces personnel has left Kabul. To all those who served so bravely under enormous pressure and horrendous conditions to safely evacuate the most vulnerable of civilians: Thank you. pic.twitter.com/8DaRrpjWjq
— Ministry of Defence Press Office (@DefenceHQPress) August 28, 2021
यही अगस्ट ३१ मा अमेरिका पनि अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै छ । अमेरिका बाहिरिनुअघि नै उसका सहयोगीहरु बाहिरिएका छन् । (एजेन्सी)
प्रतिक्रिया