आफूलाई पानीमाथिको ओभानो देखाउने वाचाल ओलीको चाल | Khabarhub Khabarhub

आफूलाई पानीमाथिको ओभानो देखाउने वाचाल ओलीको चाल


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्क्रियाका लागि भनेर मङ्गलबार अपराह्न केही सम्पादकहरूसहित केही पत्रकारहरूलाई बोलाए । अन्तर्क्रिया भने पनि उनले सबै जिज्ञासाको सिधा जवाफ दिएनन्, आफ्नो शैलीअनुसार वाक्पटुताको भरपूर उपयोग गरे ।

उनले लोकतन्त्र भनेको समयानुकूल व्याख्या होइन, नेकपा एमाले मूल्यमान्यतामा आधारित लोकतन्त्रमा विश्वास गर्छ भने । लोकतान्त्रिक पद्धतिविरुद्ध भएका क्रियाकलापबारे राखिएका जिज्ञासामा आफ्ना विपक्षीहरूलाई दोषी प्रमाणित गर्ने प्रयास गरे ।

ओलीले प्रधानमन्त्री शेरबाहदुर देउवाले दूषित मनसायका साथ अध्यादेश ल्याएको र एमाले फुटाएपछि फिर्ता गरेको आरोप लगाए तर आफूले जारी गराएको त्यस्तै प्रकृतिको अध्यदेशलाई सांसदहरूको अधिकारको लेपन लगाए । त्यति बेला के तत्काल गर्न आवश्यक परेको थियो भन्ने कुरा चाहिँ बताएनन् । उनले भारतमा पनि दल विभाजनसम्बन्धी कानून धेरै पटक संशोधन भएको बताए ।

उनले संसद अधिवेशन चालु रहेको अवस्थामा अध्यादेश फिर्ताको प्रक्रियाको चर्को आलोचना गरे ।

ओलीले लोकतान्त्रिक प्रणाली नै सबैभन्दा श्रेष्ठ प्रणाली हो भन्ने विश्वासका साथ एमालेले लोकतन्त्रको भविष्यप्रति चिन्ता गरेको बताए तर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री नियुक्तिका लागि दिएको परमादेशको आलोचना गरे ।

ओलीले सत्यभन्दा ठूलो केही नहुने र सत्यभन्दा ठूलो अदालत पनि नहुने बताए । उनले भने, ‘प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने फैसला गलत हो ।’

उनले अदालतको फैसलाले लोकतन्त्रको शक्ति पृथकीकरणमा असर परेको बताए । यसो भनेर ओलीले आफ्नो पक्ष लिनेबाहेक अन्यलाई असत्य प्रमाणित गर्ने प्रयास गरे । उनले भने ‘अदालतको फैसला न्यायसम्मत, संविधान र कानून सम्मत हुनुपर्छ ।’ उनले अदालतप्रति जनताको विश्वास र मर्यादा कम हुँदै गएको पनि बताए ।

उनले आफूले दुई पटक गरेको प्रतिनिधिसभा विघटनको बचाउ गर्दै ‘प्रतिगमन’ शब्दको दुरुपयोग भएको टिप्पणी गरे ।

ओलीले एमालेले संविधानसम्मत र कानूनसम्मत प्रतिस्पर्धामा विश्वास गर्ने बताए तर आफ्नो पार्टीका सहकर्मीहरूमाथि आफूले गरेको गालि गलौजप्रति मौन रहे । नेताहरू एकआपसमा निम्न कोटीको गाली गलौजमा उत्रेको विषयमा सोधिएको प्रश्नमा उनले सञ्चारमाध्यममा पनि भाषाशैली सच्याउन सुझाब दिएर टारे ।

उनले आफू सरकारको नेतृत्वमा भएको बेला स्मरण गराउँदै भने, ‘राष्ट्रिय राजनीति एकताबद्ध भएर स्वस्थ प्रतिस्पर्धा गर्दै जानुपर्नेमा देशलाई अकर्मन्यताको स्थितिमा पुर्‍याउने, द्वेष र घृणा फैलाउने, आरोपित गर्ने, देशलाई अकर्मन्यताको स्थितिमा पुर्‍याउने, सरकार चल्न नदिने, संसद चल्न नदिने काम भयो ।’

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘म जान्न चाहन्छु– एमसीसीबारे सरकारको दृष्टिकोण के हो ?’ तर उनले उक्त सम्झौताप्रति एमालेको दृष्टिकोण के हो भन्ने कुरा बताएनन् ।

उनले एमालेले भनेको ‘परिपूर्ण लोकतन्त्र’ लोकतन्त्र र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को बयान गरे ।

ओलीले संसद चल्न नसकेको कारण देखाउँदै ताजा जनादेश आवश्यक रहेको बताए । उनले भने, ‘ताजा जनदेशमा गएर देशलाई गतिशील बनाउनुपर्छ ।’

ओलीले देशमा भ्रष्टाचार र कमिसनखोरी धेरै बढेको बताउँदैन लगानीको स्रोत नखोज्ने भनेर सरकारले पेश गरेको विधेयकलाई यसको प्रमाणको रूपमा अघि सारे । उनले भने, ‘लगानीको स्रोत नखोज्ने कुराले अहिलेको सरकारको मनसाय खतरनाक देखियो, यसबाट नेपालमा विपत्ति आउँछ ।’

उनले व्यक्तिगत स्वार्थमा केन्द्रित भएका कारण राजनीतिक विकृत भएको बताए तर आफूलाई त्यस्तो विकृतिबाट अलग देखाउने प्रयास गरे । उनले सभामुख अग्निप्रसाद सापकोटा निष्पक्ष नदेखिएको आरोप लगाए । उनले भने, ‘सभामुख सत्ता गठबन्धनको पक्षमा र प्रतिपक्षको विपक्षमा देखिए ।’

एमालेले निष्काशन गरेका भनिएका १४ जना संसाद निष्काशन भएको भन्ने सूचना जारी नगर्नुलाई उनले सभामुख निष्पक्ष नहुनुको प्रमाणका रूपमा अघि सारे । उक्त विषय अदालतमा विचाराधीन रहेको छ भन्ने कुरा ओलीले ख्याल गरेनन् जो रिट उनले दायरा गराएका थिए ।

ओलीले दल विभाजनका सन्दर्भमा निर्वाचन आयोग पनि निष्पक्ष नदेखिएको र दबाबमा काम गरेको आरोप लगाए । अध्यादेश जारी हुनुभन्दा अघि नै निर्वाचन आयोगले नियमावली तयार गरेर एमाले विभाजन गर्न सघाएको उनको आरोप थियो ।

ओलीले सत्ताबाट आफ्नो बहिर्गमन, सत्तारूढ नेकपा र त्यसपछि नेकपा एमाले विभाजन लगायतका घटनामा त्यति बेलाका सहकर्मी नेताहरूमाथि दोष थोपरेर आफूलाई कुशल नेता प्रमाणित गर्ने प्रयास गरे । उनले अदालतको मर्यादा घटेको टिप्पणी पनि गरे ।

ओलीले ग्रहण गर्न चाहेको भावी जिम्मेवारीबारे राखिएको एउटा प्रश्नमा उनले भने, ‘कक्षा हुन्जेल दोहोर्‍याउँदिनँ भनेको हो, कक्षा सकिएर माथि जाने ठाउँ नभएपछि दोहोर्‍याउनै पर्‍यो ।’ यसो भनेर उनले आफू फेरि एमालेको अध्यक्ष र मुलुकको प्रधानमन्त्री हुने प्रष्ट पारे ।

ओलीले तत्कालिन माओवादी लडाकूका शिविरमा भ्रष्टाचार भएको भनिएको विषयमा किन छानविन भएन भनेर राखिएको जिज्ञासाको जवाफ दिएनन् । उनले संसदको चालु अधिवेशनको पहिलो बैठका शिविरको कुरा उठाएका थिएन तर साढे तीन वर्ष प्रधानमन्त्री रहँदा उक्त विषयमा मौन थिए ।

नेकपा माओवादी केन्द्र एकीकरण हुनुअघिको एमालेको एउटा सङ्गठनले लडाकूका शिविरको खर्चबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको थियो । पार्टी एककीरणपछि उक्त विषय ओझेल पर्‍यो । पार्टी फुटेपछि ओलीले संसदमै कुरा उठाए ।

ओलीले आफू प्रधानमन्त्री रहँदा सरकारको पत्रकारहरूले सरकारको विरोध गरेको तर प्रधानमन्त्री शेरबहादुर देउवाप्रति उदार भएको आरोप लगाए । ‘म सत्तापक्षमा हुृँदा सम्पादक र सञ्चारमाध्यमबाट सहयोग पाएँ, सजग र सचेत गराउनुभयो, खबरदारी नहुँदा लापरबाही हुँदो रहेछ,’ कटाक्षको शैलीमा उनले भने, ‘यो सरकारलाई खबरदारी नगरेर किन गुन लगाएको हो मैले बुझेको छैन ।’

ओलीले वर्तमान सरकारले स्वेच्छाचारिताको हद नाघेको आरोप लगाए । उनले दल फुटाउने अध्यादेश जारी र फिर्ता प्रकरणलाई यसको प्रमाणको रूपमा प्रस्तुत गरे । उनले भने, ‘प्रणाली ध्वस्त पार्दै लाने काम भएको छ ।’

उनले आफ्नो पार्टीले लोकतन्त्रका लागि लामो समय संघर्ष र बलिदान गरेको र फेरि पनि त्यसका लागि तयार रहेको बताएर वर्तमान सरकारप्रति कठोर हुने संकेत गरे ।

ओलीले आफ्नो पार्टीले शान्तिपूर्ण, स्वच्छ, पारदर्शी तथा संविधान र कानूनसम्मत प्रतिस्पर्धा चाहेको बताए । उनले भने, ‘एमालेको सरकारले भिजन र पारदर्शिताका साथ काम गरेको छ, उपलव्धि हासिल गरेको छ, त्यसकारण प्रतिस्पर्धामा ढुक्क छौँ । अस्वस्थ प्रतिस्पर्धाकै कारणले आफूले सरकार छाड्नु परेको पनि उनले बताए ।

करिब दुई घण्टा चलेको अन्तर्क्रियामा ओलीले आफूलाई कुशल र देशका लागि मरिमेट्ने नेता तथा अन्यलाई स्वार्थी र षड्यन्त्रकारी प्रमाणित गर्ने प्रयास गरे । उनले आफ्नो तर्फबाट कुनै पनि कमजोरी र गल्ती नभएको तर काम गर्न नदिएकोले सरकारबाट हट्नुपरेको जिकिर गरे । वाचाल ओलीले आफूलाई पानीमाथिको ओभानो देखाउन भरपूर प्रयत्न गरे ।

कार्यक्रममा उनले यही शुक्रबार सुरु हुने पार्टीको विधान अधिवेशन र मंसिरमा हुने भनिएको राष्ट्रिय महाधिवेशनबारे संक्षेपमा जानकारी गराए। विधान महाधिवेशनबारे अन्तर्क्रिया भनिएको भए पनि ओलीको नेतृत्व, पूर्ववर्ती र वर्तमान सरकारका गतिविधि लगायतका विषयमा धेरै कुरा उठेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : १० बजे

काठमाडौँ उपत्यकासहित यी क्षेत्रबाट बाहिरियो मनसुन

काठमाडौं- यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी

काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ– काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

बाढीपहिरोले अझै पाँच सडकखण्ड पूर्णरुपमा अवरुद्ध

काठमाडौं– बाढी पहिरोले अवरुद्ध भएका ५ सडक अहिलेसम्म पनि पूर्ण रुपमा

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभई

राष्ट्रपतिबाट विजयादशमीमा टीका तथा प्रसाद प्रदान हुने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन