काठमाडौँ महानगरले खर्च गर्न सकेन बेरोजगारलाई रोजगार बनाउन ल्याएको बजेट | Khabarhub Khabarhub

काठमाडौँ महानगरले खर्च गर्न सकेन बेरोजगारलाई रोजगार बनाउन ल्याएको बजेट

१० हजारलाई रोजगारी दिने लक्ष्य, ४५ को मात्र आवेदन



काठमाडौँ– गत मंसिर १ गते काठमाडौँ महानगपालिकाले ‘जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७’ जारी गर्‍यो ।

कोभिड १९ का कारण बेरोजगार बनेकालाई रोजगारी दिने भन्दै सार्वजनिक रुपमा सूचना निकाल्दै महानगरबासीलाई आफ्ना वडामा सम्पर्क गर्न आह्वान समेत गरेको थियो ।

तत्कालका लागि केही चर्चा बटुलेको यो कार्यक्रम प्रभावकारी भने बन्न सकेन । महानरले लिएको लक्ष्य अनुसार काम भएन, कार्यक्रमका लागि लिएको बजेट पनि फिर्ता गर्नुपर्ने अवस्था आएको छ ।

काठमाडौँमा महानगर क्षेत्रभित्र बेरोजगार बनेका मानिसले त झन महानगरको यो नीति नै थाहा पाएनन् वा महानगरको योजना अनुसार काम गर्न इच्छा नै देखाएनन् ।

यता महानगरले भने सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरण, सार्वजनिक पार्क संरक्षण र हरियाली विकास, सरकारसफाई तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रमा काम दिने जनाएको थियो ।

१० हजारलाई रोजगारी दिने लक्ष्य, ४५ जनाले पाए काम

महानगरले महानगरभित्र बसोवास गर्ने र रोजगार गुमाएकालाई महानगरका ३२ वटै वडामा सम्पर्क गर्न अनुरोध गरेको थियो ।

कामका लागि महानगरपालिकाको वेभसाइटमा आवेदन फारम भर्ने र वडामा सम्पर्क गर्ने जानकारी दिए पनि यसले प्रभावकारीता भने पाउन सकेन ।

जसको फलस्वरुप रोजगारीका लागि आवेदन दिनेका संख्या न्यून देखिएको छ । महानगरले दिएको जानकारीअनुसार कार्यविधि जारी गरेको एक महिनामा ४५ जनाले रोजगारीका लागि आवेदन दिएका थिए ।

महानगरका २२ वटा वडाले ४५ जनालाई रोजगारी दिएको भएपनि १० वटा वडामा रोजगारीका लागि कुनै व्यक्तिले आवेदन नदिएको तथ्याङ्कमा उल्लेख छ ।

महानगरभित्र बेरोजगारीको संख्या नै नभएको हो कि ? तपाईहरुको कार्यक्रमबारे महानगरबासीलाई थाहा नभएको हो ? भन्ने प्रश्नमा महानगर, शहरी सुव्यवस्था विभाग तथा स्वास्थ्य विभागका निर्देशक हरिबहादुर कुँवर भन्छन्,‘अझैं पनि कुन वडाले कतिलाई रोजगारी दिए भन्नेबारेमा रिपोर्ट प्राप्त भइसकेको छैन, म बेरोजगार छु मैले खान पाइनँ भनेर जानेलाई वडाले काम दिइरहेको छ ।’

कुँवरका अनुसार लकडाउनको सुरूका चरणमा बेरोजगारीको संख्या बढेको भएपनि विस्तारै बजार चलायमान हुँदै जाँदा मानिसहरु पुरानै दिनचर्यामा फर्किए । फलस्वरुप रोजगारी पाए र वडामा धाएनन् ।

३२ वडालाई दिएको ८ लाख बजेट सदुपयोग भएन

महानगरले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि जारी गरेको केही दिनपछि नगरपालिकाका ३२ वटै वडालाई बजेट छुट्यायो ।

साच्चै कोभिडकै कारण बेरोजगारी भएकालाई काम दिनुपर्छ भन्ने उद्देश्यले प्रत्येक वडालाई २५ हजारका दरले ८ लाख रुपैयाँ पठ्याएको महानगर, वित्त विभागका प्रमुख बुद्ध रत्न मानन्धरले खबरहबलाई जानकारी दिए ।

‘महानगरले ३२ वटै वडालाई २५/२५ हजार रुपैयाँ पठाएको थियो’ उनले भने, ‘यदी बेरोजगारीको संख्या बढेमा रकम थप र विवरण पठाउन समेत वडालाई अनुरोध गरेका छौं ।’

यद्यपी सोही रकमको पनि सदुपयोग हुन भने सकेन् । २२ वटा वडाले २÷२ जनालाई काम लगाएको छ भने त्यसवापत् उनीहरुलाई काठमाडौँ जिल्लाले तोकेको ६ सय ९० रुपैयाँको दरले भुक्तानी गरेको छ ।

एक वडामा २ जनाले काम गर्दा १ हजार ३ सय ८० रुपैयाँ मात्र पर्न जान्छ भने बाँकी २३ हजार ६ सय २० रुपैयाँ के गर्ने त ? भन्ने प्रश्नमा विभागका निर्देशक कुँवर भन्छन्, ‘सो रकम बेरोजगारीलाई काम लगाएबापत दिने पारिश्रमिकका लागि पठाएको थियो वडाले अन्य कामका लागि प्रयोग गर्न पाउँदैन् अब रकम फिर्ता हुन्छ ।’

के भन्छन् वडाध्यक्षहरु ?

तथ्याङ्क हेर्दा महानगरका ३२ वडामध्ये १०, १२, १३, १५, २२, २३, २५, २७, २८ र २९ वडामा काम गर्न आवेदन भर्ने व्यक्तिको संख्या शुन्य देखिन्छ ।

कार्यविधिअनुसार तपार्इँ वडामा काम गर्नका लागि कोही व्यक्तिले आवेदन दिएनन् वा तपाईले काम दिएकाहरुको विवरण टिपाउनुभएन ? भनेर खबरहबले गरेको प्रश्नको जवाफमा वडा नम्बर १२ का वडाअध्यक्ष विकास डंगोल भन्छन्, ‘हाम्रो वडामा रोजगारीका लागि कसैले पनि सम्पर्क गरेनन् ।’

डंगोलले महानगरबाट रोजगारीका लागि २५ हजार बजेट आएको बताउँदै भने, ‘त्यतिबेलै हामीलाई २५ हजार बजेट आएको थियो । तर काम गर्न कोही आएनन् अब वरपर कोही बेरोजगार भएका खोजेरै पनि हामी काम लगाउँछौं र बजेट सदुपयोग गर्छौ ।’

सोही विषयमा वडा नम्बर २३ का वडा अध्यक्ष मचाराजा महर्जन भन्छन्, ‘हाम्रो वडामा रोजगारीका लागि माग नै आएन ।’

यद्यपी महानगरले हप्तामा दुई दिन काम लगाएबापत श्रमिकलाई भुक्तानी गर्न पठाएको २५ हजार फिर्ता गर्ने तयारीमा रहेको महर्जनले खबरहबलाई जानकारी दिए ।

कोभिडका कारण रोजगारी गुमाए पनि महानगरले यो नीति ल्याउँदा प्रायः मानिसहरु पुरानै दिनचर्यामा फर्किसकेको बताउँदै उनी भन्छन्, ‘जे कामको लागि बजेट आएको हो त्यो काम नभएपछि हामी फिर्ता गर्छौ ।’

यो पनि पढ्नुहोस्

बेरोजगारलाई यसरी दिँदैछ काठमाडौँ महानगरले रोजगारी (कार्यविधिसहित)

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  २ : २१ बजे

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी