सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल | Khabarhub Khabarhub

सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले शय्या क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाउँदै छ ।

भरतपुर अस्पतालमा विभिन्न वार्डका बिरामीहरु स्थानान्तरण गरेर कोभिड बिरामीका लागि १५० बेड पुर्‍याइएको छ । अस्पतालमा कोभिडका लागि ११० मात्रै बेड थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीका अनुसार हाल अस्पतालमा १० बेडको कोभिड सघन उपचार कक्ष, २५ वटा एचडियु र ७५ वटा अक्सिजनसहितको साधारण बेड छन् ।

मेडिसिन वार्डका बिरामीलाई अन्यत्र सारेर अक्सिजनसहितको कोभिड बिरामीका लागि ४० वटा बेड विस्तार गरिएको छ । यस अघि हाडजोर्नी, न्यूरो, सर्जरी लगायतका विभागका बिरामी सारेर कोभिड उपचार कक्ष स्थापना गरिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बाहिर जिल्लाबाट धेरै बिरामी आएकाले व्यवस्थापन कठिन भएको बताए । हाल अस्पतालमा ८२ जना कोभिडका बिरामी छन् ती मध्ये ५० प्रतिशत जिल्ला बाहिरका हुन् । उनका अनुसार नेपालगञ्जदेखि यहाँ कोभिडका बिरामी आएका छन् । अधिकारीले भने, “यस्तै अवस्था रहेमा एक दुई दिनमा अस्पतालले कोभिडलाई छुट्टयाएका बेड भरिने छन् ।”

अस्पतालमा हाल विशेषज्ञसहितका २० चिकित्सक र ३० नर्सिङ कर्मचारी कोभिड उपचारमा जुटेका छन् । अन्य अत्यावश्यक वार्डहरु खाली गर्न नसकिने भएकाले थप व्यवस्थापन गर्न कठिन हुने अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेजमा ११३ बेड कोभिडका लागि छुट्टयाइएको छ जसमा ३४ जना बिरामी हाल उपचाररत छन् । अस्पतालका अप्रेशन म्यानेजर पारस अधिकारीका अनुसार अस्पतालमा ३३ शय्याको कोभिड उपचार कक्ष छ जहाँ ३० वटा भेन्टिलेटर समेत छन् । अधिकारीको भनाइमा प्रसुति विभाग, आकस्मिक सघन उपचार कक्ष, हाडजोर्नी लगायतका विभागलाई अन्यत्र सारेर कोभिडका लागि व्यवस्थापन गरिएको छ ।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ७० बेड कोभिडका लागि छुट्ट्याइएको छ । अस्पतालका निमित्त निर्देशक डा. मनोहर प्रधानका अनुसार कोभिडलाई भनिएकामध्ये ३० सघन उपचार कक्ष र ४० एचडियु हुन् जहाँ ६ वटा भेन्टिलेटर छन् ।

यस अघि साधारण बिरामी राख्ने ठाउँलाई खाली गरेर कोभिड बिरामी राख्न थालिएको हो । उनका अनुसार हाल अस्पतालमा कोभिडका ४१ जना बिरामी छन् । बिरामी थपिंदै गएमा अन्य विभागलाई गाभेर क्षमता विस्तार गर्ने गरी तयारी गरिएको छ । अस्पतालमा हाल २१ विशेषज्ञ सहितका चिकित्सक र ५० नर्स कोभिड उपचारमा जुटेको उनले जानकारी दिए ।

क्यान्सर रोगको मात्रै उपचार गर्ने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिड बिरामीका लागि छुट्टै वार्ड बनाउने तयारी गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देज गौतमका अनुसार १५ बेडको वार्ड बनाउन लागिएको हो जहाँ पाँच वटा थप्न सकिने छ । कोभिड भएका क्यान्सरका बिरामीलाई उपचार गर्न वार्ड तयार गर्न लागिएको हो । एक दुई दिनमै वार्ड तयार हुने छ ।

अन्य केही निजी अस्पतालले पनि अस्पतालमा आएका बिरामीमध्ये कोभिड देखिएमा राख्ने तयारी गरेका छन् । पुष्पाञ्जलि अस्पताल भरतपुरका व्यवस्थापक सुजन अधिकारीले हालसम्म आएका कोभिडका बिरामीलाई नफर्काएको भए पनि अस्पताल बिरामीले भरिएकाले राख्ने अवस्था नरहेको जानकारी दिए । स्थानीय प्रशासनले सरकारी र निजी अस्पतालका सञ्चालकलाई कोभिड बिरामी बढ्न सक्ने भएकाले तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

बिहीबारसम्म जिल्लाका मात्रै ७२४ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य जिल्लाबाट यहाँ उपचारका लागि आउनेको तथ्याङ्क कार्यालयले राख्ने गरेको छैन । अस्पतालहरुमा ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाबाट आएका सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १२ : ४५ बजे

भिल्लाको क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो

काठमाडौं – अस्टन भिल्लाले युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेशको सम्भावना

निःशुल्क स्वास्थ्य शिविरबाट करिव ८ सयजना लाभान्वित

गोरखा– गोरखाको धार्चे गाउँपालिका–२ केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव