काठमाडौँ– धौलागिरि हिमालको आधार शिविरमा भेटिएका दुई मानव अवशेष १५ वर्ष अघि दुर्घटनामा परेको हेलिकोप्टरका यात्रु नभएको पुष्टि भएको छ ।
नेपाली सेनाको हिमाल सफाइ अभियानको टोलीले धौलागिरि आधार शिविरमा बिहीबार दुर्घटनामा परेको हेलिकोप्टर र दुई मानव अवशेष फेला पारेको थियो ।
सन् २००६ सेप्टेम्बर ३ मा बिरामी लिन धौलागिरि आधार शिविर पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर मौसम खराबीका कारण आकस्मिक अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक पवित्र कुमार कार्कीका अनुसार उक्त हेलिकोप्टर दुर्घटनामा परेपनि कुनै पनि मानविय क्षति भने भएन ।
फोर्स ल्याण्डिङका क्रममा दुर्घटनामा परेको उक्त हेलिकोप्टरका पाइलट भने सुरक्षित बाहिर निस्केका थिए । उनलाई काठमाडौँबाट गएको अर्को हेलिकोप्टरले उद्धार गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले राखेको तथ्यांकअनुसार सो दिन भएको दुर्घटनामा मानवीय क्षति शून्य र एक जनाको उद्धार भएको देखिन्छ ।
सोही हेलिकोप्टरको भग्नावशेष नै सेनाको सफाइ अभियान टोलीले फेला परेको हो । यद्यपि, दुर्घटनास्थल नजिकै भेटिएका मानव अवशेषको हेलिकोप्टरसँग कुनै सम्बन्ध नरहेको पुष्टि भएको छ ।
सेनाका अनुसार मानव अवशेष भेटिएको स्थानबाट १२ सय मिटरको फरकमा हेलिकोप्टरको अवशेष भेटिएको हो । ती शवहरु हिमाल आरोहणका दौरान दुर्घटनामा परेका आरोहीको हुन सक्ने कम्पनीका प्रबन्ध निर्देशक कार्कीले बताए । सेनाले समेत मृतकको पहिचान नभएको जनाएको छ ।
प्रतिक्रिया