वर्षा नरोकिँदा सडक मर्मतमा समस्या, सडक विभाग भन्छ : दशैँ अगावै काम सक्छौँ « Khabarhub

वर्षा नरोकिँदा सडक मर्मतमा समस्या, सडक विभाग भन्छ : दशैँ अगावै काम सक्छौँ


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षा नरोकिँदा खाल्डा परेका सडकको मर्मत सुरु हुन सकेको छैन । समयमा मर्मत नहुँदा देशभरका धेरै राष्ट्रिय राजमार्गमा खाल्टाखुल्टी परेका छन् । अझै केही दिनसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । त्यसैले तत्काल खाल्डा पुर्ने काम अघि नबढाइएको हो ।

खाल्डामा पानी हुने र पानी जम्दा त्यसको मर्मत गरे पनि टिकाउ नहुने भएकाले तत्काल मर्मत सुरु नगरिएको सडक विभागका उपमहानिर्देशक (सम्भार महाशाखाका प्रमुख) भीमार्जुन अधिकारीले बताए । आगामी अक्टोबर दुई देखि वर्षा कम हुने अनुमान छ ।

उनले भने, “हामीले देशभरका सबै राजमार्गमा एकैपटक मर्मत गर्नेछौँ ।” सडक निर्माणपछि आवधिक मर्मत हुँदा मात्रै त्यो लामो समयसम्म राम्रो अवस्थामा रहन्छ । कोभिडले गत आवमा मर्मतको काम विगतमा भन्दा कम भएको थियो ।

सडक कालोपत्र भएको छ सात वर्षमा कालोपत्र थप्ने काम (ओभरले) गरिन्छ । विभागले कुनै स्थानमा खाल्डा पर्नासाथ पुर्छ । खासगरी असार, साउन र भदौमा मर्मत गरिँदैन । पानी पर्दा गरिने मर्मत टिकाउ हुँदैन । विगतमा भदौसम्ममा वर्षा रोकिँदा मर्मत गरिन्थ्यो ।

वर्षा रोकिने समय र दसैँ, तिहारजस्ता चाडपर्व अघि यात्रुको आवतजावत बढ्ने हुँदा विभागले यही समयमा सडक मर्मत गरिन्छ । यही २१ गते घटस्थापना रहेकाले त्यस पहिले नै सडक मर्मत गरिसकिने गरी योजना बनाइएको उपमहानिर्देशक अधिकारीले बताए ।

पूर्वपश्चिम राजमार्गमा दाङलगायत बढी समस्या भएका ठाउँमा मात्रै अहिले मर्मत भइरहेको छ । त्यसबाहेक अधिकांश स्थानमा मर्मत सुरु भएको छैन । दुई चार दिनपछि मर्मत सुरु भए पनि दसैँ पहिले नै सकिने योजना छ । उनले भने, “डिभिजन सडक कार्यालयले जनशक्ति र आवश्यकमात्रामा उपकरण तयारी अवस्थामा राखेकाले एक हप्तामा सबैतिर खाल्टाखुल्टी हट्नेछ ।”

यस वर्ष विगतको तुलनामा बढी वर्षा भएकाले सडक धेरै बिग्रिएका छन् । राष्ट्रिय राजमार्गमा ठाउँठाउँमा खाल्डा परेका छन् । कतिपय स्थानमा भने माथिबाट आएको पहिराका कारण सडक अवरुद्ध छन् । बेँसीशहर–चामे सडकबाहेक अधिकांश स्थानमा सडक खुलाइएको विभागले जनाएको छ ।

धेरै सडक एकातर्फीरुपमा खुलाइएको भए पनि दुवैतर्फबाट खुल्न सकिरहेको छैन । ती सडक वर्षा रोकिएपछि दुवैतर्फ खुलाउने योजना छ । चाडपर्वमा धेरै नागरिक आआफ्नो घर फर्कने हुँदा सवारीसाधनको चाप बढ्ने भएकाले दुवैतर्फ खुलाउनुपर्ने आवाज उठिरहेको छ ।

सडकका खाल्टाखुल्टी नहटेका कारण सवारीसाधन गुडाउन गाह्रो भएको भन्दै चाँडो मर्मत गर्नुपर्ने यातायात व्यवसायीले बताउँदै आएका छन् । अहिले दाउन्ने, नौबिसेलगायतका स्थानमा सडकको अवस्था खराब रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।

सडकको अवस्था खराब हुँदा दुर्घटनाको जोखिम हुन्छ । उनले भने, “दसैँ आउन थोरै समय बाँकी भएकाले चाँडो मर्मत गरिसक्नुपर्छ ।” सडक बोर्ड नेपालले सडकमा मर्मतको काम गर्दै आएको छ । देशभरका डिभिजन सडक कार्यालयले जुनसुकै समयमा खाल्टाखुल्टी भएमा तत्काल मर्मत गर्दै आएका छन् । डिभिजनले मर्मतभन्दा नयाँ निर्माणमा ध्यान दिएको आरोप लाग्दै आएको छ । विभागले भने ससाना निर्माणमा छुट्टै योजना कार्यालय स्थापना सम्भव नभएकाले पनि डिभिजनलाई छोटो दूरीमा निर्माणमा समेत लगाउनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ७ : २५ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय