हनुमानढोका भित्र्याइयो तलेजु भवानीलाई « Khabarhub

हनुमानढोका भित्र्याइयो तलेजु भवानीलाई


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई दुईदिने जात्रा समापन गरेसँग हुनमानढोका दरबार क्षेत्रको मूल मन्दिरमा भित्र्याइएको छ ।

दुईदिने जात्राका लागि भवानीको मूर्ति आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएको थियो । आइतबार गुह्येश्वरी मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको थियो । सोमबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको थियो । जात्रा सकी सोमबार राति मूर्ति तलेजु मन्दिरमा राखिएको पुजारी उद्धव कर्माचार्यले जानकारी दिएका छन् ।

गुह्येश्वरी जात्राका क्रममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीको राति गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गर्ने गरिन्छ । नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ । यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चिजबिज चढाएर पूजा आराधना गरिन्छ ।

गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने पुजारी जैन कर्माचार्यले बताए । मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताए । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ । गत वर्ष कोरोना महामारीका कारण यो जात्राको विधिमात्र पूरा गरिएकामा यस वर्ष भव्यरूपमा जात्रा मनाइएको छ । तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि पशुपति सिर्जनशील युवा क्लबलाई जिम्मा दिइएको थियो । क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ ।

पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ । त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ । जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ । नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन् । नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन् । नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ ।

कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै सोमबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिएको संस्थानले जनाएको छ । आइतबार यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो । यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ । जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन् । जात्रा सकिएसँगै सोमबार बेलुकी छ बजे गुह्येश्वरीमा ठड्याइएको लिङ्गो ढालिएको थियो ।

जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ । पशुपति क्षेत्रमा सञ्चालन हुने दर्जनौँ जात्रामध्ये एक गुह्येश्वरी जात्रा एक हो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ३७ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल