भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाइ, नेपाल मध्यम अवस्थामा « Khabarhub

भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाइ, नेपाल मध्यम अवस्थामा


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ ।

विश्वव्यापी भोकमरी सूचांक (जीएचआई) ले संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीद्वारा उपलब्ध गराइएका तथ्याङ्कहरूमा आधारित रहेर तयार गरेको सन् २०२० को प्रतिवेदनले यो तथ्य औँल्याएको हो । यो प्रतिवेदन १३२ देशका तथ्याङ्कहरू मूल्याङ्कन गरी तयार गरिएको हो ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा प्रतिवेदन सार्वजनिकीकरण गरिएको हो । कार्यक्रममा नेपालको स्थितिबारे पनि समीक्षा गरिएको थियो ।

राष्ट्र संघले सन् २०१५ मा नेपाल लगायत अन्य सदस्य राष्ट्रहरूद्वारा दिगो विकासका लक्ष्यहरू अवलम्बन हुने घोषणा गरेको थियो जसमध्ये भोकमरी शून्यमा झार्ने एउटा लक्ष्य हो । यो वर्षको प्रतिवेदनले मानव समुदाय भोकमरी शून्यमा झार्ने लक्ष्यबाट झन् धेरै टाढिएको देखाउँछ ।

दीर्घकालीन भोकमरीको समस्याले संसारभरका ६९ करोड मानिसलाई प्रभाव पारिरहेको छ भने १३ करोड ५० लाख मानिसले अहिले उपयुक्त पोषण नपाइरहेको अवस्थामा छन् ।

अहिले विश्वव्यापी भोकमरी सूचांक १८.२ छ । सन् २००० को तुलनामा यसमा सुधार भए पनि अझै धेरै सुधार हुन आवश्यक छ । पचास भन्दा बढी देशमा अहिले पनि भोकमरी दर उच्च छ । चौध करोड चार लाख बालबालिका अझै पनि कुपोषणका कारण आफ्नो उमेरभन्दा कम उचाइका छन् । चार करोड सात लाख बच्चाहरू कुपोषणको शिकार भएका छन् र सन् २०१८ मा ५३ लाख बच्चाहरूको पाँच वर्ष नपुग्दै मृत्यु भयो । यसको मुख्य कारण कुपोषण नै देखिएको थियो ।

नेपालको स्थिति सुधारोन्मुख

विश्वव्यापी भोकमरी सूचांकमा नेपाल १०७ देशमध्ये ७३ औं स्थानमा परेको छ । सन् २००० मा नेपालको जिएचआइ सूचांक ३७.४ थियो जुन जोखिमपूर्ण मानिन्छ । तर यो क्रमशः घट्दै सन् २०२० मा १९.५ छ । नेपाल भोकमरी अवस्थामा जोखिमपूर्णबाट गम्भीर हुँदै अहिले मध्यम अवस्थामा आएको छ ।

सन् २००० मा मानिसहरूमा कुपोषणको प्रतिशत करिब २४ प्रतिशत थियो भने सन् २०२० मा ७ प्रतिशत हाराहारी छ । त्यस्तै आफ्नो उमेरका तुलनामा कम उचाइ भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा पछिल्ला बीस वर्षमा नेपालले राम्रो सुधार गरेको छ । सन् २००० मा यस्ता बालबालिकाको सङ्ख्या ५८ प्रतिशत थियो भने सन् २०२० सम्म आइपुग्दा ३७ प्रतिशतमा झरेको छ ।

नेपालमा आफ्नो उमेर र शारीरिक बनावटको तुलनामा कम तौल भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा भने यी बीस वर्षमा खासै सुधार भएको छैन ।

सन् २०२० को जिएचआइले नेपाल र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको पोषण अवस्थालाई नजिकबाट नियालेको हो ।

सन् २००० मा यो संख्या ११ प्रतिशत थियो भने सन् २०२० मा ९ प्रतिशत छ । त्यस्तै नेपालको शिशु मृत्युदर (पाँच वर्ष नपुग्दै मृत्यु हुने) सन् २००० मा ८ प्रतिशत थियो भने २०२० मा ५ प्रतिशत हाराहारीमै छ ।

समग्रमा, द्वन्द्व, गरिबी, असमानता र तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनका कारण भोकमरी बढिरहेको छ । अझ विश्वव्यापी कोरोना भाइरस महामारी र अफ्रिकी देशहरूमा आएको सलह महामारीका कारण दसौं लाख मान्छे भोकमरीको शिकार हुन सक्ने देखिएको छ ।

राष्ट्रसंघले संसारभर अब थप सात लाख बालबालिका भोकमरीको शिकार हुने अनुमान गरेको छ । त्यस्तै न्यून र मध्यम आय भएका देशमा छ करोड सात लाख बालबालिका कुपोषणको शिकार हुने अनुमान छ । कोरोना भाइरसले निम्त्याएका बन्देजहरुका कारण करिब एक लाख तीस हजार बालबालिकाले ज्यान गुमाउन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : ५९ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं