‘समृद्ध नेपाल र सुखी नेपाली’ समकालीन राष्ट्रिय नारा हो, एउटा लक्ष्य हो । यो लक्ष्य हासिल गर्नमा सबैभन्दा ठूलो बाधक भ्रष्टाचार र बेरोजगारी हो । आज देशको समग्र राजनीतिक अवस्था देखेर युवाहरू कुण्ठित र आक्रोशित हुँदै गएका छन् ।
व्यवस्था र नेतृत्व परिवर्तन भयो तर देशलाई भ्रष्टाचार मुक्त बनाउन सकिएको छैन । जुनसुकै सरकारको पनि भनाइमा पहिलो प्राथमिकता ‘भ्रष्टाचार निवारण’ नै हुने गरेको छ । व्यवहारमा भने भ्रष्टाचार नै बढोत्तरी हुदै गएको देखिन्छ । किन सफल भइरहेको छैनन् त हाम्रा योजनाहरू ? यसको मूल कारक तत्व के हो ?
वास्तवमा भ्रष्टाचारको बढ्दो समस्या समाधानका लागि हाम्रो जीवन शैलीलाई जिम्मेवार मान्नुपर्छ । भौतिकवादमा आधारित चिन्तन प्रणाली बढ्दै जाँदा समाजमा जसरी भए पनि धनाढ्य हुनुपर्ने होडबाजी चलेको छ । धन आर्जन गर्नु नै जीवनको मुख्य लक्ष्य बनेको छ । जीवनमूल्य केवल आदर्श भनेर उपहासको विषय बनाइएको छ । यो एक प्रकारको विकृति हो र यस्तो विकृति नैतिकहीन चरित्रबाट विकसित हुँदै गएको हो ।
पश्चिमा दर्शनबाट प्रभावित भौतिक जीवनलाई पूर्ण ठान्ने भ्रमित जमातबाट हाम्रो समस्या समाधान सम्भव छैन । पूर्वीय दर्शनमा पनि धनसंग्रह गर्ने व्यक्तिगत स्वतन्त्रता थियो तर नैतिक मूल्यमान्यतामा आधारित समाज भएकोले अतिक्रमण बर्जित थियो । धनसञ्चयबाट विमुख भई सेवा गर्ने र आफ्नो सर्वस्व समाजमा अर्पण गर्ने व्यक्तिहरू पनि थिए ।
सामाजिक आवश्यकता परिपूर्तिका लागि लुगाफाटो तयार पार्ने बुनकर, अन्नबाली उत्पादन गर्ने किसान र ती सामग्री खरिद गरि घरघर पुर्याउने व्यापारी (वैश्य) हुने गर्दथे । शिक्षक र स्वास्थ्योपचार गर्ने व्यक्तिहरू हरेक गाउँमा हुन्थे ।
सामाजिक सम्बन्ध एउटै डोरीमा बाधिएको हुन्थ्यो । दलित भनिने समुदायको व्यक्तिलाई बाहुन समुदायको बालकले काका भनेर सम्बोधन गरिरहेको हुन्थ्यो । बाहुनको घरमा पाहुना आएको सालोलाई दलित परिवारका सदस्यले पनि जिस्क्याइरहेका हुन्थे । छोरी सिङ्गो गाउँकी छोरी मानिन्थी । ज्वाइँ र मामा जस्ता नातेदारहरू सिङ्गै गाउँका लागि ज्वाइँ र मामा हुन्थे ।
यही सामाजिक व्यवहारले हाम्रो ग्रामीण अर्थव्यवस्था अत्यन्त सुदृढ र वैज्ञानिक थियो । धनलोलुप हुनुपर्ने आवश्यकता हुँदैन थियो । अवस्था यस्तो रहेन । परिवर्तन र विकास स्वाभाविक हो त र भौतिकवादले नैतिकता ह्रास हुँदै सामाजिक सभ्याताका मूल्यमान्यताहरू आज परिहासको विषय बन्न पुगेका छन् ।
धार्मिक जागरण नभएसम्म यस चारित्रिक पतन र ह्रासोन्मुख मूल्यमान्यताको अवस्था परिवर्तन गर्न सम्भव छैन ।
राष्ट्र समृद्ध बनाउने बाटोमा बेरोजगारी अर्को ठूलो समस्या र बाधा हो । आज देशका लाखौँ युवा रोजगारीका लागि विदेशी भूमिमा छन्; विकसित मुलुकमा होइन, आगाको राप जस्तो तापक्रम हुने खाडी मुलुकहरूमा । खाद्यान्न निर्यात गर्ने मुलुक नेपाल आज खाद्यान्न अनुदान लिनुपर्ने, अर्बौंकाु चामल किन्नुपर्ने अवस्थामा छ । देशभित्र रोजगारी दिन नसक्ने र उपयुक्त जनशक्ति उत्पादन हुन नसक्ने असफल शिक्षा प्रणाली यस अवस्थाको मूल कारक तत्व हो । पश्चिमा शिक्षाको अन्धानुकरण गर्दा यो परिस्थिति सिर्जित भएको हो, सामाजिक मूल्य पद्धति ओह्रालो लागको हो ।
आज एउटा युवाले आफ्नो उच्च शिक्षा सम्पन्न गरे पनि रोजगारीको अवसर सहज छैन । यदि कतै पाइहाले पनि उसले आर्जन गरेको शिक्षा अनुपयोगी हुने गरेको छ । सम्बन्धित निकायले आफ्नो आवश्यकता अनुसार पुनः प्रशिक्षण दिनुपर्दछ । आज स्कुलबाट उच्च शिक्षाको लागि विद्यार्थीले बुझ्ने विषय भनेर डाक्टर, इन्जिनियर र एमबीए जस्तालाई मात्र मानिन्छ । अन्य विकल्पबारे जानकारीको अभाव छ । गौरवशाली अतीत बोकेको महान राष्ट्रका सन्तान आज अपहेलित, अपमानित र तिरस्कारयुक्त जीवन बिताउन बाध्य भएका छन् । यसको कारण हो देशको लागि अनुपयुक्त र अराजक शिक्षा प्रणाली ।
हाम्रो सभ्यताका सामाजिक मूल्यमान्यताहरू ओह्रालो लाग्दैछन् । जीवन केवल धनसँग जोडिन पुगेको छ । शिक्षा ग्रहण ज्ञान आर्जन र सामाजिक मूल्यमान्यता अभिवृद्धिका लागि नभई धनार्जका लागि भएको छ । यसको उपचार आवश्यक छ ।
यो राष्ट्र परम्परागत रूपमा गुरुकुल आधारित शिक्षा प्रणालीबाट विकसित भएको हो जहाँ शिक्षालाई छात्र केन्द्रित अर्थात होमवर्क, प्रोजेक्टवर्क, प्रेजेन्टेसन इत्यादि नबनाई गुरु केन्द्रित अर्थात छात्रलाई शिक्षित बनाउने दायित्व अध्यापनको हुने गर्दथ्यो । यही नै हाम्रो समस्याको समाधान पनि हो । बेरोजगारी अन्त्य गर्ने एकमात्र उपाय रोजगारमूलक शिक्षा प्रणाली हो । यसका लागि हिन्दुत्व लोकाचारमा आधारित १४ विद्या र ६४ कलायुक्त संस्कारित जीवन मूल्यलाई आदर्श मान्नुपर्छ ।
आत्मनिर्भर र निर्यातमुखी राष्ट्र नभएसम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’ को परिकल्पना साकार तुल्याउन सकिँदैन, कोरा कल्पाना वा राजनीतिक नारमा सीमित हुनेछ । त्यसर्थ हामीलाई पुर्खाहरूबाट प्राप्त ज्ञान र सीप बुझ्नुपर्छ । यसको प्रस्थान विन्दु ‘हिन्दु राष्ट्र’ हो । कतिपयले भने हिन्दु राष्ट्रलाई कर्मकाण्ड तथा ज्योतिष शास्त्रमा सीमित भएको बुझ्ने गर्दछन् । यस्तो बुझाइ भ्रम हो या त पूर्वाग्रह ।
हिन्दुत्वको व्याख्या सम्बन्धी एउटा मुद्दाको फैसलामा भारतीय सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधीश माननीय गजेन्द्र गडकरले निर्णय दिँदै ‘हिन्दु धर्मका सम्बन्धमा विचार गर्दा यसलाई परिभाषित गर्नु कठिन भएको अनुभव हुन्छ ।
विश्वका अन्य धर्महरू विपरीत हिन्दु धर्मले कुनै एउटा दूतलाई मान्यता दिँदैन, कुनै एउटा मात्र भगवानको पूजा गर्दैन, कुनै एउटा मात्र दार्शनिकको विचारधारा मान्दैन, कुनै एउटामात्र पूजा पद्धतिलाई अथवा रीतिथितिलाई मान्यता दिँदैन र कुनै एउटा मात्र सम्प्रदायलाई सन्तुष्ट बनाउने काम गर्दैन । बृहतरूपमा यसलाई जीवन पद्धतिको रूपमा परिभाषित गर्न सकिन्छ । हिन्दु, हिन्दुत्वलाई संक्षिप्त अर्थमा परिभाषित गरेर संकीर्ण सीमामा बाँध्नु हँुदैन । यसलाई संस्कृति र परम्पराबाट छुट्याउन सकिँदैन । हिन्दुत्व शब्द यस उपमहाद्वीपमा बस्नेहरूको जीवन पद्घतिसँग सम्बन्धित छ’ भनेका थिए ।
वास्तवमा हिन्दुत्वको लोकाचार हाम्रो जीवन पद्धति हो ।
आज हाम्रो राष्ट्रलाई जीवनको प्रत्येक क्षेत्रमा नवीन प्रणालीको आवश्यकता छ । वर्तमान शिक्षा अब संस्कारसँग सम्बन्धित नभई व्यक्तिलाई भोक मेटाउन सीमित हुन पुगेको छ, भोक मेटाउनु नै धर्म मानिन्छ र शिक्षा त्यसका लागि माध्यम । श्रेष्ठ जीवनमूल्यलाई आधार मान्ने समाज आज आफ्नो दैनिक निर्वाहमा हराएको छ । श्रेष्ठ जीवनमूल्यहरू कुनै कालखण्डमा यथार्थ थिए, अहिले आदर्श को नाममा उपहासको विषय बनेका छन् । परम्पराहरू भत्काइँदै छन् तर हामीलाई फुर्सद छैन । यो बेथितिबाट राष्ट्रलाई पार लगाउन पनि हिन्दु राष्ट्रको आवश्यकता अपरिहार्य छ । यो पूर्णतः साँस्कृतिक बिरासत हो । त्यसैले शासन प्रणाली जुनसुकै भए पनि नेपाल ‘हिन्दु राष्ट्र’ कायम हुनुपर्छ ।
प्रतिक्रिया