शिक्षकले विद्यालय सुधार्न सक्छन् भन्ने चिन्तन शिक्षामन्त्रीमा छैन | Khabarhub Khabarhub

शिक्षकले विद्यालय सुधार्न सक्छन् भन्ने चिन्तन शिक्षामन्त्रीमा छैन

‘कम्युनिष्टको दार्शनिक चिन्तन भनेको इशारामा नाच्ने नेतृत्व हो’



सरकारले विद्यालय तहको शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहबाट खोस्ने तयारी गरेको छ । अहिले प्रस्तावित संघीय शिक्षा ऐनमा विद्यालय सञ्चालनको अधिकार संघीय सरकारमै खुम्च्याउने प्रयास शिक्षामन्त्री देवेन्द्र पौडेलले गरिरहेका छन् । यसका लागि राष्ट्रिय शिक्षक महासंघसँग सहमति समेत भएको छ । यसलाई कतिपयले शिक्षक महासंघका माग सरकारले सम्बोधन गरेको टिप्पणी गरिरहेका छन् भने कतिपयले स्थानीय सरकारले शिक्षकलाई विश्वास नगरेको बताएका छन् । यसै सन्दर्भमा खबरहबले शिक्षाविद डा.विद्यानाथ कोइरालासँग गरेको कुराकानीको सम्पादित अंशः

शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग स्थानीय तहको अधिकार खोस्ने विषयमा एक किसीमको सहमति गर्दा स्थानीय तहको अधिकार र विद्यालय शिक्षामा मन्त्रीको ‘राजनीतिक कू’ जस्तो देखिएन र ?

यसलाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । पहिलो शिक्षकको लामो समयसम्म रहेको मागलाई सम्बोधन गरी किनारा लगाउने कार्र्य सकरात्मक हो । दोस्रो विवादित ढंगको निर्णयहरु गर्नु भएको छ । स्थानीय तहलाई संविधानको अनुसुची ८ अन्तर्गत अधिकार दिएको छ । यस अन्तर्गत स्थानीय सरकारलाई माध्यमिक तहसम्मको कक्षा सञ्चालन गर्ने अधिकार दिइएको छ ।

शिक्षा मन्त्रालयलाई पनि शिक्षकहरुलाई स्थानीय तहहरुको सहकार्यमा भनेर अधिकार दिएको थियो । तर मन्त्रीज्यूले अनुसुची ९ लाई उपयोग गरेर शिक्षकहरुलाई संघीय सरकार अन्तर्गत राख्ने विषयलाई निरन्तरता दिनुभयो । यतिबेला आधारभूत तह स्थानीय तहमा र माध्यामिक तह प्रदेश सरकारलाई दिने एउटा चिन्तन थियो । यो चिन्तनलाई पनि काटियो । यसले विद्यालय शिक्षामा केही चुनौति थपिएको छ ।

दलका नेताहरु मन्त्री भएपछि शिक्षाजस्तो संवेदनशिल विषयमा यति धेरै खेलाँची किन गरिरहन्छन् ?

नेकपा माओवादीको दार्शनिक दृष्टिकोण केन्द्रियता हो । नेकपा माओवादी विकेन्द्रीकरणको पक्षपाती होइन । उनीहरुको चिन्तन अधिकार प्रत्यायोजन हो । अधिकार प्रत्यायोजन भनेको आशिर्वादले दिने हो भने विकेन्द्रिकरण भनेको स्थानिय तहको अधिकार हो । नेकपा एमालेको समाजवादी चिन्तन भनेको जनवादी केन्द्रीयता हो ।

जनवादी केन्द्रियता भनेको नेतृत्वको इशारामा स्थानीय सरकार चल्नुपर्छ । स्थानीय सरकारको कुरा नेतृत्वले सुन्नुपर्छ । यसकारण नेकपा एमाले पनि विकेन्द्रीकरणको पक्षपाति होइन । नेपाली कांग्रेसको हकमा मूलत विकेन्द्रिकरणको चिन्तन हो । तर व्यवहारको हिसाबले नेपाली कांग्रेसले कहिले पनि विकेन्द्रिकरणको वकालत गरेनन् ।

यसकारण ठूला पार्टीहरुको सैद्धान्तिक विचलनको परिणाम स्थानीय सरकारले भोग्नुपरेको छ । स्थानीय सरकार जनताको सरकार नभई राजनीतिक दलको सरकार भयो । राजनीतिक दलका शिर्ष नेतृत्वले जे इशारा दिन्छ, त्यही अनुसार स्थानीय सरकारले काम गर्ने भयो । यसकारण स्थानिय सरकारले संगठित भएर संविधानको अनुसुची – ८ अन्तर्गत काम गर्न पाउनुपर्छ भन्ने हिम्मत गर्न सकेन । सबै दृष्टिकोणलाई हेर्दा शिक्षामन्त्रीले अहिले गरेको काम र शिक्षा नीतिमा गिरिराजमणि पोखरेलले गरेको पहिलाको कामले केन्द्रियता हाबी गराउँछ । विकेन्द्रिकरणलाई कमजोर बनाउँछ । जनवादी केन्द्रियताको अंश रहदैन । र, स्थानिय सरकार पनि अरौटे बन्नुपर्ने अवस्था आउँछ ।

शिक्षक महासंघ र शिक्षामन्त्रीको स्वार्थ मिल्नुका पछाडि शिक्षकहरु विद्यालय सुधार्न चाँहदैनन् भन्ने देखायो होइन त ?

यो कुरा सत्य हो । विद्यालय सुधार्ने कसको जिम्मेवारी कसको हो ? भन्ने विषयमा शिक्षा मन्त्रीसगँ मेरो पनि छलफल भएको थियो । ‘विद्यालयको गुणस्तरको जिम्मेवार को हो ?, शिक्षक हो की, व्यवस्थापन समिति हो की ? प्रधानाध्यापक एक्लै हो की ? अथवा को हो ?’ भनेर प्रश्न गरेको थियो । पछि उहाँले भाषण गर्दा ‘एक्लै शिक्षकले विद्यालय सुधार्न सक्दैनन्’ भनेर जवाफ दिनुभयो । विद्यालय सुधार्ने केहि डिजाइनहरुलाई हेर्दा, चिनियाँ डिजाइन अनुसार पार्टीले र बेलायती डिजाइन अनुसार कर्मचारीले चलाएको देखिन्छ ।

नेपालको सन्दर्भमा राजनीतिक दलका पार्टीले आँट गर्न सकेनन । स्थानीय तहमा गएको कर्मचारी पनि अनुगमन गर्न सक्ने क्षमताको नभएपछि राजनीतिक दल र कर्मचारी दुबैबाट आशा गर्ने ठाँउ रहेन । हाम्रो अर्को आधार विद्यालय शिक्षाको निम्ती बनाएको १० बर्षे योजनामा प्रधानध्यापकको जिम्मेवारी हो भन्ने खालका कुराहरु आए । यसैगरी शिक्षा नीति, शिक्षा आयोगमा पनि प्रधानध्यापक नै आयो । र, प्रधानाध्यापकलाई राजनीतिक दलले छान्ने काम भयो । हामीसँग असल शिक्षक छान्ने कुनै तथ्यांगत आधारहरु रहेनन् । जसले गर्दा शिक्षा सुधार्ने जिम्मेवारी कसको भन्ने विषय टुंगो लगाउन सकेका छैनन् ।

मेरा आफ्नो अनुभवमा भन्नुपर्दा जहाँ शिक्षक क्रियाशील छ, त्यहाँ विद्यालय सुधारिएको छ । सरकारको तथ्यांकलाई हेर्ने हो भने गएको दश बर्षभित्रमा शिक्षाको गुणस्तर ओरालो लागेको छ । शिक्षामन्त्रीले सामुहिक ढंगबाट मात्र सुध्रिन्छ भन्ने लेख्नुहुन्छ । शिक्षाको गुणस्तरका लागी शिक्षकको मुख्य भूमिका रहन्छ भन्ने दृष्टिकोण आएमा मात्र सुधार हुन्छ । सामुहिक नेतृत्वबाट मात्रै सुधार्न सकिन्छ भन्ने दृष्टिकोण राखेमा फेरि पनि गुणस्तर खस्किने देखिन्छ ।

अब स्थानीय तहबाट विद्यालय शिक्षा सञ्चालनको अधिकार खोस्ने शिक्षामन्त्री पौडेलको कदमविरुद्ध स्थानिय तहका जनप्रतिनिधिले के कसरी अगाडि बढ्नुपर्ला ?

शिक्षक संगठनका साथीहरुले स्थानीय तहलाई ‘त भन्दा म के कम’ भन्ने दृष्टिकोणबाट हेर्नु हुँदैन । स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता मिलाएर अगाडि बढ्नुपर्छ । शिक्षक संगठन र स्थानीय तहबीच सहमति, विमति र राजनीतिक दलको चिन्तनको बारेमा संवाद मिलाउन सकेमा अगाडि बढ्ने सम्भावना देखिन्छ ।

शिक्षकहरुले प्राविधिक शिक्षा, सीपमूलक शिक्षा, व्यवसायिक शिक्षा कसरी पढाउने ? सरकारी र निजी विद्यालयबीचको सहकार्य, गरिब विद्यार्थीहरुलाई कसरी पढाउन सकिन्छ भन्ने खालका विषयमा शिक्षा मन्त्रालयले ध्यान दिई अगाडि बढ्न सकेमा मन्त्रीले चाहेको र शिक्षक सगंठनले राखेको माग पुरा हुनसक्छ । त्यस्तै हामीले खोजेको गुणस्तरीय शिक्षा पनि पाउन सकिन्छ ।

शिक्षकहरुको माग पुरा गराएपछि स्थानीय सरकारसँग सहकार्य समन्वय गराउने, सरुवा, बढुवा गराउने र बेइमानी गरेको खण्डमा कारबाही गर्न सक्ने खालको मापदण्ड बनाउनु पर्छ । मन्त्रालयले राम्रो क्रियाकलाप गर्ने शिक्षकहरुको सञ्जाल र तथ्यांकहरुको संयन्त्र बनाइदिएमा एउटा संस्कृतिको विकास हुन्छ । यसो गर्न सकेमा शिक्षामन्त्री, शिक्षक संगठन र अभिभावकले चाहेको खोजेको कुरा बन्छ ।

प्रस्तुती : पासाङ लामा ह्योल्मो

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ८ : ३२ बजे

महाराजले श्रीमतीलाई महारानी बनाउनुपर्छ : श्रीनिवास

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले शीतलकृष्ण महाराजले श्रीमतीलाई अन्याय गरेको आरोप

भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस्

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय

सकियो  ‘पुजार सार्की’को छायांकन 

काठमाडौं– नायकहरू आर्यन सिग्देल,  प्रदीप खड्का र पल शाहको मुख्य