विश्वभर आज: के-के भयो दिनभर ? | Khabarhub Khabarhub

विश्वभर आज: के-के भयो दिनभर ?


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युक्रेनमा भारतीय विद्यार्थीको मृत्यु
युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ ।

रुसी फौजले गरेको बमबारीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका छन् ।

बागचीले मंगलबार ट्विट गर्दै खारखिभमा रुसी सेनाले गरेको गोलाबारीमा उनको मृत्यु भएको र उनको परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

खारकिभमा आफ्ना नागरिकको मृत्यु भएलगत्तै भारत सरकारले आफ्ना सम्पूर्ण नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको छ । भारतले जुनसुकै माध्यमबाट भए पनि युक्रेन छाड्न निर्देशन जारी गरेको छ ।

भारतको यो निर्देशनले युक्रेनमा भीषण युद्ध हुने संकेत गरेको छ । रुसी सेनाको बख्तरबन्द गाडी ६४ किलोमिटरसम्म लाम लागेर युक्रेनको राजधानी किभतर्फ अघि बढिरहेको छ ।

युक्रेनमा रहेका नागरिकलाई भारतको आग्रह– तत्काल किभ छाड
भारत सरकारले आफ्ना नागरिकलाई युक्रेनको किभ छोड्न अनुरोध गरेको छ ।

भारतले आफ्ना नागरिकलाई तत्काल युक्रेनको राजधानी किभ छोड्न अनुरोध गरेको हो । रुसी फौज युक्रेनका मुख्य सहर हमला गर्दै राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला ट्राभल एडभाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छोड्न अनुरोध गरेको हो ।

‘रेल वा अन्य उपलब्ध अन्य माध्यमाफर्त तत्काल आजै’ किभ छोड्न सरकारले अनुरोध गरेको छ । ‘विद्यार्थीहरूसहित सबै भारतीय नागरिकहरूलाई आज तुरुन्तै किभ छोड्न सल्लाह दिइन्छ । विशेषतः उपलब्ध रेल वा अन्य उपलब्ध माध्यममार्फत ।’ युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेको छ ।

रुसी गोलाबारीमा ७० युक्रेनी सैनिकको मृत्यु
रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिएका छन् । पूर्वी युक्रेनको ओख्टार्का शहरमा रुसी सेनाले युक्रेनी सैनिक अखडालाई लक्षित गरी गोलाबारी गर्दा ७० युक्रेनी सैनिकले ज्यान गुमाएको समाचार संस्था एपीले जनाएको छ ।

रुसी फौजको गोलाबारीमा परी हताहत भएको ओख्टार्का क्षेत्रका प्रमुख दिमित्रो झ्याभ्त्स्कीले जनाएका छन् ।

सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै उनले रुसी गोलाबारीका कारण चारतले भवनमा क्षति पुगेको र उद्धारकार्य शुरु भएको जनाएका छन् । आक्रमणमा केही सर्वसाधारण र रुसी सैनिकको पनि ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।

क्यानाडाले रुसी कच्चा तेलको आयात नगर्ने
क्यानाडाले रुसी कच्चा तेलको आयातमा प्रतिबन्ध लगाउने भएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले रुसी कच्चा तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

ट्रडोले रुसी तेलले भ्लादिमिर पुटिन र उनका धनाढ्य साझेदारहरुलाई फाइदा पुगिरहेको भन्दै तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

युक्रेनमाथि रुसी आक्रमण जारी रहँदा विश्वभरबाट निन्दा र आर्थिक एवम् कूटनीतिक एक्लोपन खेपिरहेको रुसमाथि क्यानाडाको पछिल्लो कदमले अझ दबाब सिर्जना गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानाडाले गत वर्ष मात्रै झण्डै २९ करोड क्यानेडियन डलर बराबरको रुसी तेल आयात गरेको थियो ।

रुसी तेलले क्यानाडाको तेल आपुर्तिको सानो हिस्सा मात्रै ओगट्ने भएकाले रुसी प्राकृतिक ग्यासमा निर्भर युरोपले यस्तै किसिमको प्रतिबन्ध लगाउने सम्भावना भने नरहेको बीबीसीले जनाएको छ ।

पश्चिमा मुलुकहरुले यसअघि रुसका बैंकहरुमाथि प्रतिबन्ध लगाएपनि पेट्रोलियम क्षेत्रमाथि प्रतिबन्ध लगाउन आनाकानी गरिरहेका थिए । रुसले विश्व तेल उत्पादनको १० प्रतिशत हिस्सा ओगट्छ ।

रुस–युक्रेन युद्धः युद्ध सकिनुअगावै जीतेको खबर छापिएपछि…
रुसको समाचार संस्था रिया नोभोस्तीले युक्रेनमा युद्ध सकिनुअगावै जीतको खबर छापेपछि हासोको पात्र बनेको छ । रियाका संवाददाता पिटर अकोपोभले ‘रुसको आगमन र नयाँ विश्व व्यवस्था’ शीर्षकमा लेखेको सम्पादकीय समाचारमा युक्रेनमा रुसी विजयको प्रसंशा गरिएको छ ।

समाचारमा युक्रेन रुसमा गाभिएको भन्दै ‘युक्रेनी समस्या’ समाधान गरेकोमा राष्ट्रपति भ्लादिमिर पुटिनको प्रसंशासमेत गरिएको छ ।

शीघ्र रुसी विजयको अपेक्षाका कारण चाँडो गरी उक्त समाचार प्रकाशन भएको हुनसक्ने बीबीसीले जनाएको छ ।

समाचारमा सन् १९९१ मा ‘नराम्रो विपत्ती’ सोभियत संघको पतन पछि रुस नयाँ विश्व व्यवस्थाको नेतृत्व गर्न फर्केको उल्लेख छ ।
समाचारमा मस्कोले ‘रुसी, बेलारुसी र साना रुसी (युक्रेनी)’ हरूलाई जोडिरहेको र यसका लागि पुटिनलाई जस दिइनुपर्ने उल्लेख गरिएको छ ।

‘युक्रेनी समस्याको समाधान भावी पुस्तामाथि थोपर्ने निर्णय नगरेर भ्लादिमिर पुटिनले ऐतिहासिक जिम्मेवारी बहन गरेका छन् ।’

युद्ध सकिनुअगावै छापिएको उक्त समाचार अहिले भने रिया नोभोस्तीले आफ्नो वेबसाइटबाट हटाएको बीबीसीले जनाएको छ । यद्यपि रियासँग अनुमति लिई समाचार छाप्ने केही साइटहरूमा भने अझै उक्त समाचार पढ्न सकिने जनाइएको छ ।

रुसी आक्रमणमा खार्किबको प्रशासनिक कार्यालय ध्वस्त
रुसी आक्रमणका कारण पूर्वी युक्रेनको खार्किब शहरको प्रशासनिक कार्यालय ध्वस्त भएको छ । विगत ६ दिन देखि युक्रेनमा आक्रमण गरिरहेको रुसी फौजले खार्किबमा रहेको प्रशासनिक भवनमा हवाई आक्रमण गरेको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर र भिडियोमा रुसी क्षेप्यास्त्रले उक्त भवनमा प्रहार गरेको र एकैछिनमा उक्त भवन ध्वस्त भएको देख्न सकिन्छ ।

शहरको केन्द्रमा रहेको स्वतन्त्रता चौकस्थित प्रशासनिक कार्यालयमा भएको आक्रमणमा भएको मानवीय क्षतिबारे भने पूर्ण विवरण आइसकेको छैन ।आक्रमणबाट उक्त भवनको भौतिक संरचना पूर्ण रुपमा ध्वस्त भएको युक्रेनको द किभ इण्डिपेण्डेन्ट पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।

उक्त भवनको भग्नावशेषमा खोजी तथा उद्धारको कार्य जारी रहेको बताइएको छ ।रुसले विगत ६ दिनदेखि युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ ।

श्रीलङ्काले रुसी र युक्रेनी पर्यटकको भिसाको म्याद थप्ने
श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरूको भिसाको म्याद थप्ने निर्णय गरेको छ । उनीहरू अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरूको भिसाको अवधि दुई महिना थप गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद्ध भइरहेको छ । युद्धका कारण युक्रेनमा रहेकाहरू पनि सकेसम्म अन्य देशतर्फ जाने गरेका छन् । सरकारी अधिकारीहरूका अनुसार श्रीलङ्कामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटकहरू रहेको जनाएका छन् ।

ती मध्ये ११ हजार ४६३ जना रुसका पर्यटक रहेका छन भने तीन हजार ९९३ जना युक्रेनका रहेका छन् ।

श्रीलङ्काको पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले सोमबार बेलुका पारित गरेको अधिकारीहरूले जनाएका छन् । सरकारको निर्णयबाट लाभान्वित हुने रुस र युक्रेनका पर्यटकले खुशी पनि व्यक्त गरेको समाचारमा जनाइएको छ ।

युक्रेन संकटको शान्तिपूर्ण समाधान चीनको चाहना
चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासलाई सधै समर्थन र प्रोत्साहन गरेको चीनले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन युक्रेन संकटको शान्तिपूर्ण समाधानको पक्षमा रहेको टिप्पणी गरेका हुन् ।

रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा भएको वार्ताको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले रुस र युक्रेन दुवै पक्षनिकट भविष्यमा नयाँ चरणको वार्ता गर्न सहमत भएको समेत जानकारी दिए ।

चीनले दुई पक्षले वार्ता र वार्ताको प्रक्रियालाई निरन्तरता दिने र दुवै पक्षको उचित सुरक्षा चासोलाई समेट्ने, युरोपको साझा सुरक्षा र युरोपमा दिगो शान्ति र स्थायित्वका लागि उपयुक्त हुने राजनीतिक समाधान खोज्ने आशा गरेको समेत उनले बताए ।

रुसलाई सघाउन बेलारुसी सैनिक पनि युक्रेन पसे
रुसी आक्रमणमा सघाउन बेलारुसका सैनिक पनि युक्रेन प्रवेश गरेका छन् ।

युक्रेन सरकारले युक्रेनमा बेलारुसका सैनिक प्रवेश गरेको जानकारी दिएको हो ।

युक्रेनको संसद्ले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै ‘बेलारुसी फौज चेर्निहिभ क्षेत्रमा प्रवेश गरेको’ जनाएको छ । यस क्षेत्र बेलारुसको सीमानजिक युक्रेनको उत्तरी भेगमा पर्छ ।

यससँगै बेलारुस युक्रेनमाथि आक्रमण गर्ने दोश्रो राष्ट्र बनेको बेलायतको पत्रिका द मिररको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि रुसी सेनाले बेलारुसको भूमि प्रयोग गर्दै युक्रेनको उत्तरी सीमाबाट आक्रमण थालेका थिए । यद्यपि बेलारुसका राष्ट्रपति अलेक्जाण्डर लुकासेन्कोले युक्रेनमा जारी आक्रमणमा आफ्ना सैनिकको सहभागिता नरहेको बताएका थिए ।

पछिल्ला केही दिनयता पश्चिमा मुलुकहरुले रुस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै बेलारुस र राष्ट्रपति लुकासेन्कोमाथि पनि आर्थिक प्रतिबन्धहरूको घोषणा गर्दै आइरहेका छन् ।

रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजार युक्रेनीले देश छाडे
युक्रेनमा जारी रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजारभन्दा बढीले देश छाडेका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय यूएनएचसीआरकी प्रवक्ता साबिया मन्टूले रुसी आक्रमण शुरु भएयता अधिकांश महिला बालबालिकासहित ६ लाख ६० हजार युक्रेनीले देश छाडेर छिमेकी मुलुकमा शरण लिएको जानकारी दिएकी हुन् ।

उनका अनुसार पोल्याण्डसँगको सीमामा मानिसहरुको भीड लागेको र पोल्याण्ड प्रवेश गर्न शरणार्थीहरुले ६० घण्टासम्म कुर्नु परिरहेको बताइन् । उनका अनुसार रोमानिया–युक्रेन सीमा क्षेत्रमा पनि शरणार्थीको २० किलोमिटरभन्दा लामो लाइन लागेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपमा पुनः आप्रवासी र शरणार्थी संकट आउनसक्ने चिन्ता कायम रहेका बेला संयुक्त राष्ट्रसंघ शरणार्थी उच्चायुक्तको कार्यालयको यस्तो भनाइ आएको हो ।

कोलम्बियामा खानी दुर्घटनामा १३ जनाको मृत्यु
कोलम्बियामा भएको खानी दुर्घटनामा परी १३ जनाको ज्यान गएको छ । कोलम्बियाको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा विस्फोट भएको हो ।

स्थानीय अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो । खानीभित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ ।

कोलम्बियाका खानीहरु औद्योगिक सुरक्षाका दृष्टिले अत्यन्त असुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : ३७ बजे

कामपाले सुरु गर्‍यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन

विश्वकप विजेता भारतीय टोलीले १२५ करोड भारु पुरस्कार पाउने

नयाँ दिल्ली । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जित्ने

प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट

कञ्चनपुर – प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री

सैपाल हिमालस्थित रानीसैनमा टेलिकमको सेवा सञ्चालन

काठमाडौं – नेपाल टेलिकमले सैपाल हिमालस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा

थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी

मस्को – महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले