रक्षामन्त्री भइसकेको व्यक्ति मेयर बन्दिन, प्रदेशमा पनि झर्दिन | Khabarhub Khabarhub

रक्षामन्त्री भइसकेको व्यक्ति मेयर बन्दिन, प्रदेशमा पनि झर्दिन


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

यतिबेला पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान चर्चामा छन् । रक्षामन्त्री भइसकेका उनी काठमाडौँको मेयरको दाबेदारकोरुपमा चर्चामा आएका हुन् । कांग्रेसका पुराना नेता उनी काठमाडौँका प्रभावशाली नेताका रुपमा गनिन्छन्। उनै प्रधानसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा तपाईले पनि राख्नु भएको हो ?

मैले त्यस्तो कुनै इच्छा व्यक्त गरेको छैन । र, पार्टीका नेताहरुले पनि तपाई लड्नु पर्छ भनेर आग्रह गर्नु भएको छैन् । तर, केहि साथीहरुले चाही काठमाडौंमा यसपाली तपाई उठ्नुपर्छ भन्नु भएको छ । तर मैले कुनै सोच बनाएको छैन् । यसअघि २०७४ को चुनावमा पनि मेरो चर्चा नचलेको होइन् । गगन थापा र मेरो चर्चा चलेको थियो । म आफैले पनि सम्भावित ४ जना उमेदवारमा तिर्थराम डंगोल, भिमसेनदास प्रधान, गगन थापा र नविन्द्रराज जोशीको नाम सिफारिस गरेको थिए । को ब्यक्ति उठाउदा जितको सम्भावना कति भन्ने कुरा तथ्य र कारणसहित दिएको थिए । म र गगन थापाभन्दा पनि मैले श्याम डंगोलकै नामलाई जोड दिएका थिए । किनकी उहाँ नेवार समुदाय भित्र पनि वौद्ध धर्मालम्बीको हुनुहुन्थ्यो । एमालेले उठाएको उमेदवार विद्यासुन्दर शाक्य पनि वुद्धिस्ट समुदायका थिए । त्यसैले जितको सम्भावना बलियो छ भन्ने तथ्यसहित उहाँको नाम सिफारिस गरेको थिए। तर, मेरो प्रस्तावमाथि सुनुवाइ भएन । पार्टी आफ्नो ढंगले अघि बढ्यो, हार सहनु पर्यो ।

यो हिजोको कुरा भयो, आजको अवस्था के हो ?
मलाई कुनै पनि नेताले ल तपाई काठमाडौं महानगरपालिकाको मेयरमा उठ्नु पर्यो भनेर आग्रह गर्नु भएको छैन् । तर, पार्टीले आधिकारिक रुपमा सबैलाई एकजुट बनाएर निर्णय गर्यो भने पार्टीको एउटा सिपाही भएको हिसावले मैले हुन्न, गर्दिन भनेर भाग्ने कुरा भएन । तर, मेरो भित्रि इच्छाको कुरा गर्नुहुन्छ भने मैले मेयर बन्ने रहर गरेको छैन् ।

तपाई त काठमाडौंको रैथाने, त्यसो भए कांग्रेसबाट कसलाई उम्मेद्वार बनाउनु पर्छ भन्ने तपाईको राय हो ?

जनतासँग भिजेको लोकप्रियता हासिल गरेको ब्यक्तिलाई नै हामीले उमेदवार बनाउनु पर्छ । त्यसका लागि मेरो सुझाव तिर्थराम डंगोललाई नै पहिलो प्राथमिकता दिनुपर्छ भन्ने हो । किनकी फेरि पनि एमालेले विद्यासुन्दर शाक्यलाई नै निरन्तरता दिने तयारी गरेको सुन्नमा आएको छ । उहाँले थुप्रै गुठीमा पैसा बाँडेर उनीहरुको भोट तान्ने प्रयास गरेको कुराहरु आएको छ । उहाँ नेवार समुदाय भित्र पनि वुद्धिस्ट सम्प्रदायको भएकाले विद्यासुन्दरलाई हराउन सक्ने ब्यक्ति भनेको तिर्थमान नै हो । उहाँलाई अघि सार्नुपर्छ । उहाँसँगै अहिलेकी उपमेयर हरिप्रभा खड्गी नै हो । उपमेयर भएर काम गरेको, केहि गर्न खोजेको व्यक्ति भएका हिसावले फेरि महिला भएकाले पनि उहाँ अवसर दिनुपर्छ भन्ने हो । जातिय भोटर, जनसंख्या र क्षेत्र हेरेर पार्टीले निर्णय गर्नुपर्छ ।

मेयरको उम्मेद्वार नबन्ने हो भने तपाईको योजना चाँही प्रदेश सांसद हुँदै मुख्यमन्त्री बन्ने हो ?

होइन, केन्द्रीयस्तरको रक्षामन्त्री भईसकेको मान्छे प्रदेशमा गएर लड्ने भन्ने मेरो योजना छैन । मैले पार्टीको प्रदेश अध्यक्ष बन्ने प्रयास गरेको हुँ । तर, त्यो सफल हुन सकेन । बागमति प्रदेश अध्यक्षमा मैले इन्द्र बाँनियालाई सपोर्ट गरे । उहाँले जित्नु भयो । अब मलाई प्रदेश जाने इच्छा छैन् । प्रदेश सांसद् बन्ने र मुख्यमन्त्री बन्ने भन्ने मेरो कुनै योजना छैन् । म प्रतिनिधि सभा सदस्यका लागि नै उमेदवार हुने हो । मलाई मेरो क्षेत्रका जनताहरुले ठूलो भरोसा गर्नु भएको छ । उहाँहरुको मायाले दुई दुई पटक सांसद् भए, एक पटक मन्त्री समेत भए । मैले पनि धेरै काम गरेको छु । २०४८ सालदेखि मैले यो क्षेत्रमा आफ्नो समय, सीप र ज्ञान लगाानी गरेको छु । म त्यो माया र भरोसा तोडेर प्रदेश जान्न ।

रक्षामन्त्री भै सकेको मान्छे किन प्रदेश झर्नु, किन मेयर बन्नु भन्ने तपाईको मनशाय हो ?

साञ्चै भन्नुपर्दा त्यहि हो । एक चोटी रक्षामन्त्री भैसके, दुई पटक प्रतिनिधि सभा सदस्य भैसकेँ। अब प्रदेश झर्ने र मेयर बन्ने भन्दा केन्द्रमै बसेर केहि गर्ने भन्ने मेरो योजना हो । विदेश तिर त प्रधानमन्त्री भै सकेका मान्छेसमेत मेयरका उमेदवार बन्छन् क्यारे । तर, हाम्रोमा त्यस्तो माहोल छैन् । हामी अझै त्यो स्तरमा उठ्न सकेका छैनौ । प्रष्ट रुपमा भन्नुपर्दा हाम्रोमा सोच नै साघुरो छ । त्यो हिम्मत गर्न मैले मात्रै होइन, जो कोहि केन्द्रिय स्तरका नेताहरुले गर्दैनन् ।

अर्को पाटो, पार्टीले गठबन्धन गरेर जाने निर्णय गर्यो । यो निर्णयले कांग्रेसलाई जितका लागि सहयोग गर्छ की खाँटी कार्यकर्तालाई चिढ्याउँछ मात्रै ?

जसले जे कुरा गरे पनि अहिले नेपाली कांग्रेसका लागि गठबन्धन बाध्यात्मक छ । किनकी अघिल्लो चुनावमा हाम्रो नतिजा सुखद थिएन, फेरि त्यहि स्थिति आउन नदिनका लागि पनि कम्युनिष्टहरुलाई अलग्याएर हामीले तिनैसँग गठबन्धन गर्नुपर्छ । यो कांग्रेसका लागि बाध्यता हो । फेरि केपी शर्मा ओलीले जुन कदम चाले, त्यसको विरुद्धमा यतिका समय सँगै उभिएका दलहरु, फेरि पनि प्रतिगमनको खतरा देखिरहेका दलहरुबीच गठबन्धन कायमै राखेर चुनावमा जानुपर्छ भन्नु अस्वभाविक होइन् । यो हामी सबैका लागि आवश्यकता हो । अब सरकार पनि गठबन्धन गरेरै बनाउँनु पर्ने अवस्था आउने सम्भावना बलियो छ । त्यसकारण चुनावमा लड्दा नै तालमेल गरेर लडौ भन्ने कुरालाई गलत भन्नु हुन्न ।

तपाईले तालमेल बाध्यता हो भने पनि कांग्रेसका वास्तविक कार्यकर्ता त कम्युनिष्टलाई भोट हाल्न राजी हुँदैनन् होला नी । त्यसले क्षति पुर्याउँदैन् ?

यो भन्दा अघिको चुनावमा एक्लै लड्दा थुप्रै प्रभावशाली र शीर्ष नेताहरु पराजित हुनुपर्यो । रामचन्द्र दाई, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, रामशरण महत लगातका धेरै नेताहरु संसद्बाट बाहिरिनु परेको तितो यथार्थलाई भुल्नु हुँदैन् । हामी कमजोर भएकै हो । त्यसैले हाम्रा लागि पनि गठबन्धन बाध्यता हो । ठाउँ र आवाश्यकता हेरेर तालमेल गर्नैपर्ने थियो । पार्टीले जे निर्णय लिएको छ, ठिक निर्णय लिएको छ ।

माओवादी लगायतका दल भड्किएर एमालेसँग सहकार्य गर्न नजाउन भन्नकै लागि कांग्रेसले गठबन्धनबीच तालमेल गर्नु पर्छ भनेको हो ?

गठबन्धनमा रहेका सबै दलले आवाश्यकता महशुस गरेर नै तालमेल गर्न लागिएको हो । तालमेल बिना माओवादी, एकिकृत समाजवादीको हैसियत के हुन्छ भन्ने कुरा धेरैले अनुमान गरेकै छन । २०६४ को चुनावपछि माओवादी कसरी खस्किदै गएको छ भन्ने कुरा तथ्यले नै पुष्टि गर्छ । त्यसैले उहाँहरुका लागि पनि यो बाध्यता हो । हामी नभए अर्को दलसँग जानु होला । तर विषम परिस्थितिमा एक भएका दलहरु चुनावमा पनि एक भएर लडौं भन्ने नै हो हाम्रो आशय ।

चुनावी तालमेलको निर्णय गर्नुभयो, तर माओवादीका लागि कांग्रेसले चितवन छाड्छ त ?

यस विषयमा म धेरै कुरा भन्न सक्दिन् । तर केन्द्रले गरेको निर्णय मान्ने हो भने छाड्नु पर्ने हुनसक्छ । पहिला पनि माओवादीले जितेको ठाउँ भएकाले र फेरि पनि प्रचण्ड पुत्री रेणु दाहालले उठ्ने इच्छा ब्यक्त गरेकाले केन्द्रको दबाब पर्छ की । तर, स्थानीय स्तरमा कांग्रेसका साथीहरु निकै आक्रोशित हुनु भएको छ । के हुन्छ भन्न सकिने अवस्था छैन । तर, यसको असर प्रतिनिधि सभाको चुनावमा पर्ने भएकाले मिलेर जानुपर्छ भन्ने हुनसक्छ ।

माओवादीले २०७४ सालको स्थानीय तहको पहिलो चरणको चुनावमा तपाईहरुको साथ लिएर बाँकी चुनावमा एमालेसँग नेकपा एकता गरेर लड्यो । फेरि त्यो धोका नहोला भन्ने के ग्यारेन्टी छ ?

चुनावमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने हो । गठबन्धन गर्दा अलिकति बढ्ला, नगरे पनि त्यत्रो धेरै भोट घट्छ भन्ने लाग्दैन् । तर, जहाँसम्म माओवादीले धोका दिने कुरा छ, अहिले २०७४ को जस्तो परिस्थिति छैन। त्यसैले अहिले हामीले त्यसरी हेरेका छैनौ । तर, पनि माओवादीले जे–जे भन्छ त्यो मानि हाल्ने भन्नेमा छैनौ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : ०७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही