आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

नेपालका प्रधानमन्त्री देउवा भारत भ्रमणमा, उच्चस्तरीय भेटघाट सुरु

भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको भ्रमण गरेका छन् । आज प्रधानमन्त्री देउवाले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका हुन् ।

त्यसपछि देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् ।

९० लाख अफगान भोकमरीको संकटमा– गुटरेज
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले अफगानिस्तानमा ९० लाख मानिसहरू भोकमरीको जोखिममा रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महासचिव गुटरेजले अफगानिस्तानलाई सहयोग गर्न दाताहरूसँग आह्वान समेत गरे ।

गुटरेजले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको भन्दै दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्– ‘विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ। ९० लाख मानिसहरू भोकमरीको जोखिममा छन् । अर्थ व्यवस्था ध्वस्त भएको छ। म दाताहरूलाई हाम्रो मागअनुसार तत्काल सहयोग उपलब्ध गराउन आह्वान गर्छु, ताकि संयुक्त राष्ट्रसंघ र साझेदारहरूले जीवन बचाउने सहायतालाई जारी राखून् ।’

गत वर्ष अगष्टमा अफगान सरकारको पतन भएर तालिवान सत्तामा फर्किएसँगै अफगानिस्तानमा मानवअधिकारको अवस्था नाजुक भएको छ । देशमा द्वन्द्व समाप्त भए पनि मानवअधिकारको गम्भीर उल्लङ्घन जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउने गरेका छन् ।

तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र केटीहरूको अधिकारमा ठूलो कटौती, सेन्सरसिप र मिडियाविरुद्ध आक्रमणहरू सहित मानवअधिकार उल्लङ्घनहरू जारी राखेको भन्दै आलोचना हुने गरेको छ ।

श्रीलंकाली राष्ट्रपतिको घर घेराउ
चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा क्रुद्ध प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजापाक्षेको घर घेराउ गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीडले राजधानी कोलम्बोको मिरिहाना जिल्लामा रहेको उनको घर घेराउ गरी जबरजस्ती घरमा प्रवेश गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घर घेराउ गर्नेमध्ये ४५ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै ‘संगठित अतिवादी’ हरूले मुलुकमा ‘अराजकता सिर्जना गर्न खोजेको’ जनाएको छ ।

प्रदर्शनकारीमध्ये केहीले फलामको डण्डी, भाला, लाठी र अरु धारिलो हतियार समेत बोकेर राष्ट्रपतिको घर पुगेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले दुई सैनिक बस र चार चक्के सवारी साधनमा आगजनी गरेको जनाइएको छ ।

प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको अल जजीराले जनाएको छ । प्रदर्शनपछि सो क्षेत्रमा केही समय कर्फ्यु समेत जारी गरिएको थियो । यद्यपि केही समयपछि उक्त कर्फ्यु हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनका क्रममा राष्ट्रपति राजापाक्षे घरमै रहेको वा नरहेको बारे स्पष्ट भइसकेको छैन । सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकट झेलिरहेको श्रीलंकामा सरकारविरुद्ध तीव्र जनआक्रोश पैदा भएको छ ।

विदेशी मुद्राको अभाव र आर्थिक संकटबीच श्रीलंकामा तेल, औषधि, छपाई कागज जस्ता सामानको आयातमा समस्या उत्पन्न भएसँगै सर्वसाधारणले कठिनाइ महसुस गर्दै आएका छन् ।

केही समयअघिमात्रै छपाई कागजको अभावमा ३० लाख विद्यार्थीको परीक्षा स्थगित गरिएको थियो ।

पुटिनको धम्की

रुसले रुबलमा भुक्तानी नदिएमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु राष्ट्र’ हरूले ग्यासको भुक्तानी रुबलमै गर्नुपर्ने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

रुसी प्रशासन क्रेमलिनले जनाएअनुसार राष्ट्रपति पुटिनले एक अध्यादेशमा हस्ताक्षर गर्दै ‘शुक्रबारबाट रुसी ग्यासका आयातकर्ता मुलुकहरूले रुसी बैंकमा रुबल मुद्रामा खाता खोल्नुपर्ने’ बताएका हुन् ।

गाजप्रोम बैंक रुसी तेल कम्पनी गाजप्रोमको बैंकिङ विभाग हो ।

‘कसैले पनि हामीलाई सित्तैमा सामान बेच्दैन र हामी पनि कसैलाई दान गरिरहेका छैनौँ यसको अर्थ वर्तमान सम्झौता बन्द हुनेछ ।’ राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनले जारी गरेको अध्यादेशअनुसार रुसी ग्यासका खरिदकर्ता मुलुकहरूले रुसको गाजप्रोम बैंकमा खाता खोलेर युरो वा अमेरिकी डलर जम्मा गर्नुपर्नेछ । पछि उक्त बैंकले जम्मा गरिएका युरो र अमेरिकी डलरलाई रुबलमा विनिमय गर्ने र यसैबाट ग्यासको भुक्तानी लिइने छ ।

रुसको सार्वभौमिकतालाई अझ बलियो बनाउनका लागि यस्तो कदम चालिएको पुटिनको भनाइ छ ।

युक्रेनमाथि आक्रमण गरेसँगै अमेरिका र अन्य पश्चिमा मुलुकहरू सहित विभिन्न आर्थिक महाशक्तिहरूले रुसी संस्थान एवम् धनाढ्यहरूमाथि प्रतिबन्ध लगाएका कारण रुसको अर्थ व्यवस्था चौपट बनेको छ । यद्यपि युरोपेली मुलुकहरूले रुसी उर्जामाथि प्रतिबन्ध लगाउन आनाकानी गरिरहेका छन् ।

युरोपमा कूल ग्यास खपतको ४० प्रतिशत र कूल तेल खपतको ३० प्रतिशत रुसबाट आपूर्ति हुने बताइन्छ । यसअनुसार रुसले युरोपमा ग्यास बेचेर मात्रै हरेक दिन ४० करोड युरो कमाउँदै आएको बताइएको छ ।

जेलेन्स्कीद्वारा दुई ‘देशद्रोही’ सैनिक अधिकारी बर्खास्त

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनाका दुई ‘देशद्रोही’ अधिकारीलाई बर्खास्त गरेका छन् ।

नियमित भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले युक्रेनको सुरक्षा सेवा (एसबीयू) को मुख्य विभागका प्रमुख नाउमोभ आन्द्रे ओलेहोभिचलाई बर्खास्त गरेको जनाएका हुन् । त्यस्तै, उनले खेर्सन क्षेत्रमा एसबीयूका प्रमुख क्रिभोरुच्को शेरी ओलेक्सान्द्रोभिचलाई पनि बर्खास्त गरिएको बताए ।

दुबै जनालाई जेलेन्स्कीले ‘खलनायक’ को संज्ञा समेत दिए । यी दुबै सुरक्षा अधिकारीले मुलुकको ‘स्वतन्त्रता एवम् आत्मनिर्भरता’ को रक्षा गर्न असफल भएको उनले बताए ।

‘अहिले मसँग सबै देशद्रोहीलाई दिने समय छैन तर विस्तारै सबैलाई तह लगाइने छ ।’ उनले भने । त्यसपछि चेतावनी स्वरुप उनले भने, ‘आफ्नो मातृभूमि कहाँ हो भन्ने निर्णय नगरेका’ र ‘युक्रेनप्रति बफादारिताको’ उल्लङ्घन गर्ने वरिष्ठ सैनिक अधिकारीलाई पनि पदमुक्त गरिनेछ ।

‘यस्ता जर्नेलहरू यहाँ काम छैनन् ।’ उनले भने ।

रुसी भूमिमा युक्रेनी हमला

युक्रेनी फौजले रुसी इन्धन डिपोमा आक्रमण गरेका छन् । रुसको पश्चिमी बेलोगोरोद शहरमा रहेको इन्धन डिपोमा दुई युक्रेनी सैनिक हेलिकोप्टरले आक्रमण गरेको सो क्षेत्रका गभर्नरले जनाएका हुन् ।

सामाजिक सञ्जाल टेलिग्राममार्फत जानकारी दिँदै बेलोगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले कम उचाइमा उडेका दुई युक्रेनी हेलिकोप्टरले इन्धन डिपोलाई लक्षित गरी आक्रमण गरेको बताए । आक्रमणबाट उक्त डिपोमा आगलागी भएको र दुई कामदार घाइते भएको उनको भनाइ छ ।

यद्यपि उक्त डिपोको स्वामित्व रहेको रुसी कम्पनी रोस्नेफ्टले भने आक्रमणका क्रममा कुनै मानवीय क्षति नभएको जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर एवम् भिडियोमा कम उचाइबाट प्रहार गरिएका केही क्षेप्यास्त्रले इन्धन डिपोमा आक्रमण गरेको देखिन्छ । आक्रमण लगत्तै ठूलो आगलागीको दृश्य एवम् धुवाँको कालो मुस्लो उडिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा देखिन्छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण थालेयता युक्रेनले रुसी भूभागमा आक्रमण गरेको यो पहिलो घटना भएको जनाइएको छ ।

रुसी फौजले पुनर्ताजगी र पुनवर्गीकरण गरिरहेको नेटो महासचिवको भनाइ

रुसी फौजले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण गर्न पुनर्ताजगी र पुनवर्गीकरण गरिरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको महासचिवले जनाएका छन् । युक्रेनमा आक्रमणलाई निरन्तरता दिन रुसी फौज पुनर्ताजगी एवम् पुनवर्गीकरणमा लागेको उनको भनाइ छ ।

‘हाम्रो गोप्य जानकारीअनुसार रुसी फौज पछि हटिरहेका छैनन्, बरु पुनर्तयारी गरिरहेका छन् ।’ स्टोल्टेनबर्गलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ, ‘साथै रुसले किभ र अरु शहरमा पनि दबाब कायमै राखेको छ । त्यसैले हामी नयाँ आक्रमणका साथै यसबाट उत्पन्न हुने थप पीडाको अपेक्षामा छौं ।’

यसअघि रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फोमिनले रुसी फौजले युक्रेनको राजधानी किभचेर्निभ क्षेत्रमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ बताएका थिए । तर, स्टोल्टेनबर्गले भने रुसको सैनिक उद्देश्य भने परिवर्तन भएको बताए ।

‘आफूलाई पदबाट हटाउन विदेशी षड्यन्त्र’– इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘विदेशी षड्यन्त्र’ भएको बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले यस सङ्कटलाई भारतीय उपमहाद्वीपको इतिहासका दुई कुख्यात पात्र मिर जाफरमिर सादिकको भूमिकासँग तुलना गरेको टिप्पणी गरे । ‘यी मानिसहरूले आफ्ना देशवासीहरूलाई अंग्रेजहरूको दास बनाएका थिए,’ उनले भने । 

मीर सादिक मैसुरका तत्कालीन शासक टिपू सुल्तानका मन्त्री थिए । सन् १७९८–९९ मा भएको चौथो अंग्रेज–मैसुर युद्धमा उनले श्रीराङगापट्टनमको घेराबन्दीमा टिपू सुल्तानलाई धोका दिई अंग्रेजको विजयका लागि बाटो खोलेका थिए । त्यस्तै मिर जाफरले बङ्गालको नवाब सिराज उद–दौलाको बङ्गाली सेनाको कमान्डरको रूपमा सेवा गरेका थिए जसले प्लासीको युद्धमा नवाबलाई धोका दिए । यसले भारतमा अंग्रेजी शासनको लागि बाटो खोलिदियो ।

प्रधानमन्त्री खानले विपक्षी दलहरूले ‘विदेशी षडयन्त्र’ मार्फत्  ‘देशलाई तहसनहस पार्ने’ प्रयास गरेको आरोप लगाउँदै भने, ‘विदेशी षडयन्त्रद्वारा तपाइहरूले देशलाई कसरी तहसनहस पार्नुभयो भन्ने कुरा सबैले सम्झनेछन् ।’

उनले पाकिस्तानी संसदमा प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका विपक्षी दलहरूले विदेशीको इसारामा राष्ट्रलाई बर्बाद गरेको आरोप लगाए ।

‘षड्यन्त्रलाई सहज सफल हुन दिइनेछ भन्ने कसैले नसोचे पनि हुन्छ’ भन्दै उनले भन्नुभयो, ‘म तपाईँहरूलाई भन्न चाहन्छु कि म अन्त सम्मै लड्दैछु । मेरो राजनीतिमा आफन्तहरू छैनन्, मसँग उनीहरूका जस्ता विदेशी फ्याक्ट्रीहरू छैनन् । यो देशले यस षड्यन्त्रलाई न त भुल्नेछ न क्षमा दिनेछ ।’ 

विपक्षीहरूलाई लक्षित गर्दै उनले भने, ‘मैले राष्ट्रलाई बर्बाद गरेको भन्ने नाटक उनीहरूले किन गरिरहेका छन् ? के साढे तीन वर्षमा देश बर्बाद भयो त ? म तपाईँहरूलाई चुनौती दिन्छु कि साढे तीन वर्षमा यो सरकारले अरू कुनै सरकारले नगरेको काम गरेको छैन । यो आइतबार मत परिणाम कस्तो आउनेछ रु देशले कुन दिशा लिनेछ ?’

‘म आज यहाँ छु किनभने मार्च ७ वा ८ मा हामीले अर्कै देशबाट सन्देश पायौँ । स्वतन्त्र देशको लागि यस्तो सन्देश आफ्नो प्रधानमन्त्रीविरुद्ध मात्र होइन तर देश आफैे विरुद्ध पनि हो ।’

उनले यो विरोध वर्तमान पाकिस्तान सरकारविरुद्धभन्दा पनि इमरान खानविरुद्ध भएको दाबी गरे । उनले विपक्षी नेताहरूलाई विदेशीहरूको विश्वास पात्र बढी र पाकिस्तानी नागरिक कम भएको भन्दै व्यङ्ग्य समेत गरेका थिए ।

बाइडेनको निर्देशन

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभर उर्जाको मूल्य बढिरहेको अवस्थामा अमेरिकी रणनीतिक भण्डारणबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै हाल विश्वभर उर्जाको मूल्य बढिरहेको समयमा मूल्य समायोजनका लागि यस्तो निर्देशन दिएको ह्वाइट हाउसले जनाएको छ ।

यससँगै अमेरिकी रणनीतिक भण्डारबाट दैनिक १० लाख ब्यारेलको हिसाबमा आगामी छ महिनामा सबैभन्दा उच्च १८ करोड ब्यारेल तेल निकालिने जनाइएको छ ।

यद्यपि दैनिक १० लाख ब्यारेल तेलले मात्रै विश्व उर्जा संकट समाधान नहुने विश्लेषकहरूले बताएका छन् ।

यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने विश्लेषकहरूले बताएको बीबीसीले जनाएको छ ।

यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि तेल संकट समाधानको एउटा सामान्य पहलस्वरूप बाइडेनले पछिल्लो कदम चालेको ह्वाइट हाउसको भनाइ छ ।

रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता भएको र रूसबाट तेल खरिदमा प्रतिबन्धको घोषणा गरेसँगै अमेरिका, युरोप लगायत विश्व बजारमा तेलको अभाव देखिएको र तेलको उच्च मागका कारण मूल्य वृद्धि भएको छ । 

यद्यपि कतिपय अमेरिकी सञ्चारमाध्यमले बाइडेनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेको बताएका छन् । ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा समेत बनेको छ ।

बेलायती रक्षामन्त्रीको टिप्पणी

बेलायती रक्षामन्त्री बेन वाल्लेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैँले बनाएको पिँजडामा फसेको टिप्पणी गरेका छन् । स्काई न्युजसँगको कुराकानीका क्रममा रक्षामन्त्री वाल्लेसले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘राष्ट्रपति पुटिन पहिलेजस्तो शक्तिशाली रहेनन् । उनी अहिले आफैँले बनाएको पिँजडामा छन् ।’

‘उनका सैनिक थकित छन्, उनले ठूलो हानी व्यहोरेका छन् ।’ वाल्लेसले थपे, ‘रुसको विशाल सेनाको प्रतिष्ठा गुमेको छ ।’

युक्रेनको पूर्वी एवम् दक्षिणी भूभागमा आक्रमण गर्नका लागि रुसी सैनिक अहिले पुनर्ताजगी र पुनवर्गीकरणको क्रममा रहेको उनको भनाइ छ ।

पुटिनले युक्रेनमा गरेको आक्रमणको मात्रै नभई रुसी सेनाप्रति गरेको व्यवहारको पनि परिणाम भोग्ने वाल्लेसको टिप्पणी छ ।

उनले अन्तर्राष्ट्रिय साझेदारहरू युक्रेनलाई अझ धेरै सैनिक उपकरण र ‘घातक सहायता’ सहयोग गर्न सहमत भएको समेत जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : ०९ बजे

युरोकप : क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको क्वार्टरफाइनल (अन्तिम ८) समीकरण पूरा

कोपा अमेरिका : कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा पुगेका छन्

रास्वपा केन्द्रीय समिति बैठक जारी, महामन्त्रीको प्रतिवेदनमाथि छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय कमिटी बैठक बसिरहेको

कमब्याक तयारीमा यी कलाकार, फिल्ममा देखिएलान् राजेश हमाल ?

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘एक जना कलाकार सक्रिय रहने

सुदूरपश्चिममा कांग्रेस–एमाले छलफल सुरु

सुदूरपश्चिम- नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यका लागि केन्द्रमा भएको