सुदूरपश्चिममा गौरा पर्व सुरु, यसरी मनाइँदैछ « Khabarhub

सुदूरपश्चिममा गौरा पर्व सुरु, यसरी मनाइँदैछ


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखी मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको ब्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व बिधिवत रुपमा सुरु हुने यसका जानकार गोमती भट्टले बताए।

‘एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ’, उनले भने, ‘बिरुडा भिजाउँदा माङ्गलकी  सगुन फाँग गाउँछौँ ।’ बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजााउने बेलाको फाग गाउने चलन छ ।

फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव (डोटेली भाषामा मयासर)लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताए । ‘मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्न भन्दा गौराले जिद्दी गरेपछि उनकै आग्रह बमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ’, उनले भने, ‘यो पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।’ यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ ।

सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’ मा भित्रयाइने ब्रतालु सरस्वती अवस्थी बताउँछन् । ‘गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुबधागो लगाउने गछौँ ‘, उनले भने, ‘गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि कायम हुन्छ ।’

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथ गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने चलन छ ।

प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजा अर्चना गरिने पर्व नै गौरा हो । यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेर्ने गरिनछ ।

गौराकै अवसरमा आजदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ । कञ्चनपुरमा पनि महाकाली साहित्य सङ्गमलगायत संस्थाले गौराको अवसरमा विभिन्न कार्यक्रम राखेका छन्। साहित्यकार रमेश पन्त ‘मीतबन्धु’का अनुसार आजदेखि महेन्द्रनगरस्थित खुला मञ्चमा गौरा महोत्सव आयोजना गरिएको छ । ‘गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा, डुस्को, धुमारीलगायत विविध गतिविधि गर्दैर्छौ’, उनले भने, ‘परम्परालाई जोगाउन र पुस्तान्तरणका लागि पनि हामीले कार्यक्रम गर्न लागेका हौँ।’ काठमाडौँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीले पनि गौरा पर्व धुमधामका साथ मनाउने गर्छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १० : ५९ बजे

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत