कैलाली–५ मा आरजुलाई कति सजिलो ? | Khabarhub Khabarhub

कैलाली–५ मा आरजुलाई कति सजिलो ?


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलाली क्षेत्र नम्बर–५ बाट संघीय निर्वाचनका लागि नेपाली कांग्रेसले आरजु देउवाको एकल नाम सिफारिस गरेको छ ।

२०७४ को निर्वाचनमा कैलाली–५ बाटै उम्मेदवारी दिएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले धनगढी–५ बाटै पुनः उम्मेदवारी बन्ने इच्छा देखाएपछि कांग्रेस जिल्ला कार्यसमितिले एकल उम्मेदवारी सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न कांग्रेसका युवा नेता क्षितिज भण्डारीले समेत निवेदन दिएका थिए । तर, उनको नाम भने कैलाली–५ को प्रदेशसभा ‘क’ बाट संघीय सांसदको उम्मेदवारी सिफारिसमा परेका छैन ।

२०७४ को निर्वाचनमा आरजु देउवा लडेको स्थान धनगढी उपमहानगरपालिकामा कांग्रेसले स्थानीय तहमा मेयर, उपमेयरसहित १२ वडा जितेको थियो । त्यतिवेला कैलाली–५ मा कांग्रेसलाई चुनाव जित्न सजिलो हुने अनुमान गरिएको थियो ।

तर, आरजु देउवा एमाले उम्मेदवार नारदमुनी रानासँग ४ हजार ८८० मतले पराजित भइन् । यस पटक धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् भने, उपमेयरसहित ६ वडामा नेकपा एमाले विजयी हुँदा कांग्रेसले ११ वटा वडा मात्रै जितेको छ ।

२०७४ मा नारदमुनी राना बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । यस पटक आरजु देउवा शत्तारुढ गठबन्धनका तर्फबाट निर्वाचन लड्ने छिन् । त्यसले आरजुलाई निर्वाचनमा केही सहज हुने देखिन्छ ।

तर २०७४ मा असहयोग गरेको भन्दै कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा आरजुका लागि यस पटक पनि चुनौतीका रूपमा देखिन सक्ने छन् । पुष्कर नाथ ओझासँग कांग्रेसका जिल्लादेखि केन्द्रीय नेताले विभिन्न चरणमा छलफल गरे पनि उनले हालसम्म कैलाली–५ आरजुलाई छोड्ने संकेत देखाएका छैनन् ।

यदि पुष्करनाथ ओझा आरजुलाई सहयोग गर्न तयार भएनन् भने त्यसले आरजुलाई समस्यामा पार्ने निश्चित छ । कांग्रेसमा देखिएको गुटगत राजनीतिलाई समयमै व्यवस्थापन गर्न नसकेको खण्डमा पनि आरजुका लागि यस पटकको चुनाव त्यति सहज हुने देखिँदैन ।

यसका अलावा कैलालीमा बलियो बन्दै गएको नागरिक उन्मुक्ति पार्टी पनि आरजुका लागि चुनौतीको विषय बन्न सक्ने देखिएको छ । कैलाली–५ बाट नागरिक उन्मुक्तिका प्रभावशाली नेता लक्ष्मण थारुले चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

२०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दर्ता गराएर चुनाव लडेका लक्ष्मण थारुले ६ हजार ४६४ मत ल्याएर तेस्रो बढी भोट पाउने व्यक्ति बनेका थिए । यस पटक उनी खुला रूपमा निर्वाचनमा होमिँदै छन् ।

गाउँ टोलसम्म चुनावी अभियानसहित हिँडेका लक्ष्मण थारुले यस पटक पहिलाको भन्दा धेरै भोट ल्याउने आकलन गरिएको छ । जसकारण पनि आरजुलाई निर्वाचन जित्न सजिलो हुने छैन ।

नेकपा एमालेले कैलाली–५बाट कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो अझै लगाएको छैन । एमालेबाट नारदमुनि राना नै दोहोरिने चर्चा छ । यदि नारदमुनि राना पुनः प्रतिनिधि सभाको निर्वाचनमा दोहोरिएमा यस पटक कैलाली –५ मा कडा चुनावी प्रतिस्पर्धा हुने छ ।

कैलाली–५ अन्तरगत धनगढी उप महानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्दछन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा स्तरमा पाएको मतका आधारमा कांग्रेस ठुलो पार्टी बनेको छ । नेपाली कांग्रेसले धनगढीका १९ वडाबाट २० हजार ७ सय २२ मत तथा कैलारीका दुई वडाबाट २०५४ गरी २२ हजार ७ सय ७६ मत पाएको छ ।

त्यसैगरी नेकपा एमालेले धनगढीका १९ वटै वडाबाट १५ हजार ९ सय ९३ तथा कैलारीका दुई वडाबाट १ हजार ४ सय ८ मत गरी १७ हजार ४ सय १ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले धनगढीका १९ वडाबाट ८ हजार १ सय ७५ मत पाएको छ । सत्ता घटक नेकपा एकीकृत समाजवादीले वडा स्तरबाट २ हजार ९ मत पाएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : १५ बजे

विराटनगर महानगरका अधिकांश वडा डुबानमा

विराटनगर– अविरल वर्षाका कारण विराटनगरका आधिकांश स्थान डुबानमा परेका छन्

तनहुँमा रासायनिक मल मौज्दात, किसानलाई ढुक्क

डुम्रे– बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने

भारतको लोकसभाको सभामुखमा पुन: ओम बिरला 

काठमाडौं– भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन्

कैदकट्टाका लागि छ सय बीस जनाको सिफारिस

काठमाडौं– कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी

असान्ज रिहा भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजले बुधबार अमेरिकासँग भएको सम्झौताका कारण