‘प्रत्यक्षमा समस्या भए समानुपातिकबाट सहमति खोजिन्छ’ | Khabarhub Khabarhub

‘प्रत्यक्षमा समस्या भए समानुपातिकबाट सहमति खोजिन्छ’

सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

करिब दुई महिनादेखि छलफल गरे पनि अझैसम्म सत्ता गठबन्धन भित्र सिट बाँडफाँडको टुङ्गो लागेको छैन। सिट बाँडफाँट सहमति नजिक पुगेको र केही सिटमा मात्र दोहोरो दाबी रहेको नेताले बताएका छन्। केही निर्वाचन क्षेत्रमा एक भन्दा धेरै दलहरूको दाबी शीर्ष नेताको समझदारीमा टुंगोमा पुग्ने बताएका छन्। तर, अझै पनि करिब ३० वटा क्षेत्रमा सहमति जुट्न सकेको छैन। त्यसो त कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले माओवादी र कांग्रेसलाई फाइदा हुने गरी प्रस्ताव ल्याएको भन्दै एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले असन्तुष्टि पोखेका छन्। उनीहरूले जम्मा १५ सिट मात्र पाउने गरी प्रस्ताव गरेका छन्। त्यही विषयमा छलफल भइरहेको छ। के जनता समाजवादी पार्टी जम्मा १५ सिटमा मात्र सीमित हुने हो ? उसको तयारी के को र किन जुट्न सकिरहेको छैन गठबन्धन भित्र सिट बाँडफाँडमा सहमति ? यसै विषयमा आधारित भएर जसपाका प्रभावशाली नेता राजकिशोर यादवसँग खबरहबका लागि धिरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले निरन्तर छलफल गर्नु भएको छ। तर, सहमति किन जुट्दैन ?
आम निर्वाचनमा प्रत्येक पार्टीले गरेका कामलाई अनुमोदन गरेर जनतासामु पुर्याउने प्रक्रिया हो। पाँच दलको गठबन्धन छ। एउटा त आफैंमा मिलाउनु पर्दछ। पाँच दल भित्र पनि मिलाउनु पर्दछ। त्यसले समय खाएको हो। कांग्रेस भित्रको आन्तरिक समस्याले पनि प्रभाव पारेको छ। सबैलाई न्यायोचित ढङ्गले सहमति गराउने प्रयासमा छौँ। धेरै विषय टुंगो लागिसकेको छ। केही प्राविधिक विषय टुंगोमा पुग्न बाँकी छ।

अन्तिम समय आइपुग्दासम्म आज र भोलि भन्नुहुन्छ के मा हो विवाद चाहिँ ?
विषय नमिलेर सबैले आफूतिर तानेपछि सिट बाँडफाट कठिन भएको छ। आज सहमतिको अन्तिम समय हो। कुनै दललाई मिलाउन सकिएन र पार्टीलाई त्यो आवश्यकता महसुस भयो भने त्यसलाई समानुपातिकमा लगेर टुंगो लगाउन सकिन्छ।

के जसपाको जम्मा १५ सिट मात्र पाउने हैसियत हो ?
अहिले १५ सिटमा नै जसपाले चित्त बुझाउनु हुँदैन। गठबन्धनमा सबैलाई समान ठानेर गयो भने गठबन्धन रहन्छ। कसैले हामी ठूलो हो। तपाईंलाई यत्ति दिन्छु भन्न पाउँदैन। हाम्रो अध्यक्षले जनता समाजवादी एक्लै लड्न सक्छ भन्नुभएको छ। यदि त्यहाँ न्यायोचित सहमति भएन भने अर्को परिस्थिति निर्माण हुन्छ। हामीले जहाँ आधार बनाएका छौ त्यो छोड्दैनौँ। हामी १५ सिटमा बस्न मान्दैनौँ।

१५ सिटमा नै सीमित रहनु पर्ने अवस्था आयो भने गठबन्धन छोड्नु हुन्छ त ?
हामी गठबन्धनको महत्त्वपूर्ण घटक हौँ। त्यो हदसम्मको परिस्थिति होला भन्ने लाग्दैन। हामीले सिट भन्दा पनि कहाँ हाम्रो आधार छ त्यहाँ दाबी गरेका छौँ। कम्तीमा २२ वटा सिट मागेका छौँ।

तपाईंहरूले समाजवादीले भन्दा एक सिट भए पनि बढी हामीले पाउनु पर्छ भन्नु भएको छ हो ?
त्यो प्रचार गरिएको हो। हाम्रो पकड भएको क्षेत्रमा मात्र भाग खोजेका छौं।

सिराहा क्षेत्र नम्बर ४ बाट यसपालि तपाईं नै उठ्ने वा माओवादीबाट अजय शङ्कर नायकलाई छोड्ने ?
अहिले गठबन्धनमा सेटिङ एन्ड डेटिङ भन्ने फर्मुला ल्याएको छ। जसले जहाँबाट २०७४ सालमा चुनाव जितेको हो त्यो सिट त्यसलाई दिने र अर्को लिडरसिपलाई ख्याल गरेर दिने भन्ने छ। त्यसैले सिराहा क्षेत्र नम्बर ४ मा त्यो सहमति भएको छ। यो क्षेत्र जसपाले नै पाउँछ।

व्यक्तिगत रूपमा जसपाको र तपाईंको तयारी के छ ?
हामी जहिले पनि फिल्डमा नै थियो किनभने हामी आन्दोलनबाट आएका हौं। चुनावी मोर्चालाई आन्दोलनको एउटा मोर्चाको रूपमा लिन खोजेको हो। जहाँ जनताको साथमा रहेको हुनाले पार्टीले पूर्ण तयारी गर्छ र म पनि तयार नै छु। नेता र पार्टीको लागि निर्वाचन भनेको एउटा विशेष प्रक्रिया र अवसर हो। हामी तयारी अवस्थामा छौँ।

मधेशमा एमालेलाई तपाईंहरूले चुनौतीका रूपमा लिनु भएको छैन ?
अहिले दलहरूको जुन अवस्था रहयो त्यसमा हाम्रो आन्तरिक तालमेलप्रति एक प्रकारको आभास गराउनु पर्ने थियो। तर, त्यसमा कमजोरी भएकै छ। यो प्रदेशमा नेताको व्यवस्थापन हुन नसक्दा पार्टी छोड्नेक्रम बढेको छ। यो हाम्रा लागि चुनौतीको विषय हो भन्ने कुरामा हामी सचेत छौँ। हिजो जसले मधेसको भूभागमा विकास चाहेन तर आज त्यसमा नै मानिसहरूको आकर्षण बढेको हुँदा त्यो चुनौती नै हो। हामीले त्यसलाई सुधारेर अगाडि जाने प्रयास गरेका छौँ।

जनमत पार्टीलाई तपाईंहरूले कतिको चुनौतीका रूपमा लिनु भएको छ ?
जनमत पार्टीलाई हामीले आफ्नो कित्तामा राखेका छौँ। कुनै न कुनै रूपमा हाम्रो सहकार्य हुन्छ। यहाँ दलहरू कमजोर हुँदा मुद्दा पनि कमजोर हुँदो रहेछ त्यसैले सिके राउतलाई हामीले मान्छौँ। तर, हामी आफ्नो व्यवस्थापन गरेर अगाडि बढ्यो भने यो देशको राष्ट्रिय मुक्ति आन्दोलनलाई नेतृत्व गर्ने पार्टी बन्न सक्छौं।

यो पाँच वर्षमा तपाईंहरूले के गर्नु भयो,जनताको घरमा जाँदा के भनेर जानु हुन्छ ?
हामीले सोचेको र चाहेको जति गर्न सकेनौँ। एउटा प्रमुख कारण भनेको कोभिड–१९ को कारणले जनताको सामु खुलस्त रूपमा जान सकिएन। त्यसले आर्थिक सामाजिक राजनीतिक सबै क्षेत्रलाई असर गर्याे। त्यो कसैको बसमा थिएन। झण्डै दुई तिहाइको सरकार अस्थिर भयो त्यसलाई ट्रयाकमा ल्याउन हामीले धेरै ऊर्जा खर्च गर्याै।
जनताको दैनिक जीवनमा आएका समस्यादेखि लिएर मुलुकको हितका लागि जनताले दिएका जनादेशको आधारमा भूमिका खेलेका हौँ। धेरै ऐन कानुन बनी नसकेकाले चुनौतीहरू धेरै भए।

तपाईंहरुले नेतृत्व गरेको मधेश प्रदेशमा काम ४० र भ्रष्टाचार ६० प्रतिशत हुन्छ भनेका छन् नि ?
यो एक प्रकारको नेपालको राजनीतिलाई दूषित बनाउने प्रयास हो। नेताहरूले आफ्नो इमान गुमाएका कारणले बदनाम भएका नेताहरू पनि छन्। भ्रष्टाचार रोक्ने निकाय पनि छन्। त्यसलाई सजाय दियो भने त्यो प्रक्रिया अन्त्य हुन्छ। तर, आम रूपमा काठमाडौँको मनोविज्ञान के हो भने उसलाई सङ्घीयता मन परेको छैन। त्यसमा पनि मधेस भनेको हिजोको मानसिकताबाट हटेको छैन। जनताले चुनेर पठाएका सांसद्हरु देश बनाउँछु भनेर धेरै बसेका नेताहरू पनि छन्।

मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन। यदि मैले भ्रष्टाचार गरेको नै रहेछ भने म राजनीतिक जीवनबाट सन्यास लिन्छु। नेपाली जनताको जीवन परिवर्तन गर्न हामी राजनीतिमा आएका हौँ। अहिले निश्चित रूपमा नेपाली राजनीतिमा जुन प्रकारको सैद्धान्तिक वैचारिक स्खलन, राजनीतिक दलप्रतिको अविश्वास, युवाहरूको बेरोजगारी, भ्रष्टाचारले राजनीति बदनाम भएको छ। अब यस्ता समस्याको अन्त्यका लागि हाम्रो नेतृत्व आवश्यक छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १० : ३९ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।