अन्तर्राष्ट्रिय

काश्मिरका चलचित्र हल १४ बर्षपछि पुनः सञ्चालन

By खबरहब

October 01, 2022

श्रीनगर – भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ । धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरू पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ ।

तीन बर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासन अन्तर्गत आएको काश्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन् । धेरै जनधनको क्षति हुनेगरी चलेको झण्डै एक दशक लामो युद्धका कारण त्यहाँका चलचित्र व्यवसायीहरु विस्थापित भएकाले चलचित्र हलहरु बन्द भएका थिए ।

अहिले चलचित्र देखाउन थालिएपनि दर्शकको सङ्ख्या भने अत्यन्त न्युन रहेको व्यवसायीहरूले बताएका छन् । ५२० सिट रहेको हलमा झण्डै एक दर्जन मात्रै दर्शक रहेको उनीहरूले जानकारी दिएका छन् ।

चलचित्र प्रदर्शनीको सुरुवात गत सेप्टेम्बर २० तारिखमा गरिएको थियो । त्यसको उद्घाटन काश्मिरका लागि भारतका उच्च प्रशासक मनोज सिन्हाले गर्नु भएको थियो । सो चलचित्र हलको सञ्चालन काश्मिरका व्यवसायीसँग मिलेर भारतीय व्यवसायीले गरेका हुन् ।

“मानिसहरू अझै पनि चलचित्र हेर्नेतर्फ सोँचेको देखिएको छैन, उनीहरू चलचित्रबाट धेरै टाढा पुगेकाले फेरि पहिलेकै अवस्थामा ल्याउन अझै केही समय लाग्न सक्छ, त्यो स्वभाविक हो,” एक स्थानीयले भने ।