तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सैन्य सहयोग गर्ने

By खबरहब

April 02, 2022

काठमाडौं- अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ कार्यक्रम मार्फत अमेरिकाले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउन थप ३० करोड डलर उपलब्ध गराइने छ ।

यस्तो सहयोग सुरक्षा सहायतामा केन्द्रित रहने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तो सहयोगमा लेजर गाइडेड रकेट सिस्टम, मानवरहित हवाई उपकरण (ड्रोन), सैनिक सवारी साधन, मेसिनगन, व्यावसायिक अन्तरिक्ष तस्वीर सेवा राती पनि देख्न सक्ने एवम् थर्मल चश्मा। गोलीगठ्ठा लगायत समावेश रहेको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ’ पेन्टागनका प्रेस सचिव जोन किरबीले भने ।

युक्रेनमाथि रुसले आक्रमण गरेसँगै अमेरिकासहित विभिन्न युरोपेली मुलुकहरुले युक्रेनलाई आर्थिक एवम् सुरक्षा सहायता उपलब्ध गराउँदै आएका छन् ।