आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस् :

 मारिउपोलमा फसिरहेका सर्वसाधारणको उद्धार

युक्रेनको पूर्वी बन्दरगाह शहर मारिउपोलबाट १०० जना नागरिकलाई उद्धार गरिएको छ । मारिउपोलस्थित एजोभस्तल उद्योग परिसरमा फसेकामध्ये १०० जनाको समूह युक्रेनी नियन्त्रित क्षेत्रतर्फ लागेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । त्यस्तै रुसले पनि आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले मारिउपोलबाट सर्वसाधारणको एउटा ठूलो समूह जापोरिज्जियातर्फ लागेको बताएका छन् । ‘करिब एक सय जनाको पहिलो समूह नियन्त्रित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ’ उनले ट्विट गरेका छन् । जापोरिज्जिया अझै पनि युक्रेनको नियन्त्रणमा रहेको बताइएको छ ।

उनले अगाडि भनेका छन्, ‘हामी उनीहरूलाई जापोरिज्जियामा भेट्नेछौँ । हाम्रो टोलीलाई धन्यवाद ! अब तिनीहरू कारखानाबाट अन्य नागरिकहरूलाई बाहिर निकाल्ने काममा छन् ।’

राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न ‘सेफ प्यासेज अपरेसन’ सुरु भएको पुष्टि गरेको थियो । सो कार्यमा रेडक्रसको पनि संलग्न रहेको बताइएको छ ।

भारतमा स्पाइस जेटको विमान दुर्घटनाबाट जोगियो

भारतको मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलो आँधीको सामना गरेको छ ।

आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए । आकस्मिक अवतरणका क्रममा १७ जना घाइते भएको भारतको एनडीटीभी समाचार च्यानलको अनलाइन संस्करणले जनाएको छ ।

घाइते हुनेमा १४ जना यात्रु र चालक दलका ३ सदस्य रहेको एनडीटीभीले जनाएको छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो ।

दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको जनाइएको छ । आँधीले विमान हल्लिएपछि क्याबिनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको हो ।

‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो’ एक यात्रुले एनडीटीभीलाई भने । नागरिक उड्यन महानिर्देशनालयले दुर्घटनाबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।

भारतीय सर्वोच्च अदालतको आदेश– ‘कसैलाई पनि जबरजस्ती खोप नलगाउनू’

भारतको सर्वोच्च अदालतले एउटा महत्वपूर्ण फैसला गर्दै कसैलाई पनि जबरजस्ती खोप नलगाउन आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय एल नागेश्वर राव र बीआर गवाईको संयुक्त इजलासले यस्तो फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय संविधानको धारा २१ का आधारमा सर्वोच्चले यस्तो फैसला सुनाएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

भारतीय संविधानको धारा २१ मा कानूनले तोकेको बाहेक कसैलाई पनि बाँच्ने अधिकार एवम् व्यक्तिगत स्वतन्त्रताबाट बञ्चित गर्न नहुने उल्लेख छ ।

भारतीय संविधानले शारीरिक स्वतन्त्रता तथा मर्यादा रक्षा गर्ने ठहर गर्दै सर्वोच्च अदालतले कसैलाई पनि इच्छाविपरीत खोप नलगाउन फैसला सुनाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘कसैलाई पनि खोप लगाउन बाध्य पार्न सकिँदैन’ सर्वोच्चले भनेको छ ।

यद्यपि भारत सरकारको वर्तमान खोप नीति अनुचित नभएको सर्वोच्चको फैसला छ । यसबाहेक अदालतले खोपको नकरात्मक असरबारे रिपोर्ट तयार पार्न पनि केन्द्र सरकारलाई निर्देशन दिएको बताइएको छ ।

भारतमा पछिल्लो समयमा कोभिड संक्रमितहरूको संख्या फेरि बढेको छ । केही साताअघि निरन्तर घटेको संक्रमण पछिल्ला दिन फेरि बढ्न थालेको छ ।

कोरोना बढ्दै जाँदा चीनमा नयाँ नियम लागू

चीनमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा त्यहाँको सरकारले नयाँ नियम लागू गरेको छ ।

अब सार्वजनिक स्थानमा जानका लागि कोरोना नभएको रिपोर्ट लिएर मात्रै जान पाइने भएको छ। चिनियाँ सरकारले राजधानी बेइजिङमा यो नियम लागू गरेको हो ।

पछिल्लो समय बढ्दो कोरोना सङ्क्रमणका कारण चीनको साङ्घाईमा ५ हप्तादेखि लकडाउन गरिएको छ। लकडाउन भए पनि अझैसम्म सङ्क्रमण दरमा कमी आउन सकेको छैन ।

अन्य सहरमा संक्रमण तीव्र बनेपछि राजधानी बेइजिङमा कोरोनाको जोखिमलाई ध्यानमा राख्दै नयाँ व्यवस्था गरिएको हो। कोरोनाको पहिलो लहर चीनबाट सुरु भएर विश्वलाई नै अस्तव्यस्त बनाएको थियो ।

युक्रेनमा अमेरिका र युरोपले आपूर्ति गरेका हतियार नष्ट पारेको रुसको दाबी

रुसले युक्रेनमा अमेरिका र अरु युरोपेली मुलुकहरूले आपूर्ति गरेका हतियार नष्ट पारेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिणी युक्रेनको ओदेसा शहर नजिकै रहेको विमानस्थलमा राखिएका अमेरिकी तथा पश्चिमा मुलुकबाट आयात गरिएका हतियार नष्ट पारेको दाबी गरेको हो ।

रक्षा मन्त्रालयले उच्च सटीकताका साथ मार हान्न सक्ने ‘ओनिक्स’ क्षेप्यास्त्रले उक्त विमानस्थलमा प्रहार गरिएको जनाएको छ । यता युक्रेनले भने विमानस्थलमा भर्खरै निर्माण गरिएको धावनमार्गमा आक्रमण गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ओदेसाका क्षेत्रीय गभर्नर माक्सिम मारचेन्कोले रुसले क्राइमियाबाट प्रहार गरेको ‘बास्तियन’ क्षेप्यास्त्रबाट धावनमार्गमा आक्रमण गरेको जनाएका छन् ।

यद्यपि यसको तत्काल स्वतन्त्र पुष्टि भने हुन नसकेको रोयटर्सले जनाएको छ ।

त्यस्तै, रुसी रक्षा मन्त्रालयले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले खारकिभ क्षेत्रमा युक्रेनका दुई सुखोइ सु २४ एम बमवर्षक लडाकु विमान खसालेको दाबी गरेको छ ।

मोदी जर्मनीमा

युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनीको राजधानी बर्लिन पुगेका छन् । तीन दिने युरोप भ्रमणका क्रममा उनी सोमबार जर्मनीको राजधानी बर्लिनस्थित बर्लिन ब्राण्डेनबगै विमानस्थलमा अवतरण गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

जर्मनीमा रहँदा प्रधानमन्त्री मोदीले जर्मन चान्सलर ओलाफ सोल्जसँग भेटवार्ता गर्ने जनाइएको छ । दुई नेताले भारत–जर्मनी अन्तर सरकारी समन्वयको छैटौँ सम्मेलनको सहअध्यक्षता समेत गर्ने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बर्लिनमा अवतरण गरेको जानकारी दिँदै प्रधानमन्त्री मोदीले ट्विट समेत गरेका छन् ।

‘बर्लिनमा ओर्लिएको छु । चान्सलर ओलाफ शोल्जसँग आज भेटवार्ता गर्दैछु । व्यापारिक प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गर्ने र सामुदायिक कार्यक्रमलाई पनि सम्बोधन गर्नेछु ।’ उनको ट्विटमा लेखिएको छ, ‘यो भ्रमणले भारत र जर्मनीबीच रहेको मित्रता अझ प्रगाढ बनाउनेमा म विश्वस्त छु ।’

जर्मनीको भ्रमण सकेर उनी जर्मन छिमेकी डेनमार्क र फ्रान्स पनि पुग्ने जनाइएको छ ।

युक्रेनको सीमानजिक रुसी सैनिक पूर्वाधारमा आगलागी

युक्रेनको सीमा नजिक रुसी सैन्य पूर्वाधारमा आगलागी हुँदा एक जना घाइते भएका छन् । युक्रेनसँग सीमा जोडिएको बल्गोरोद क्षेत्रस्थित रुसी सैनिक पूर्वाधारमा आगलागी भएको क्षेत्रीय गभर्नरले पुष्टि गरेका हुन् ।

गभर्नर भियाचिस्लाभ ग्लादकोभका अनुसार घटनामा एकजना सामान्य घाइते भएका छन् । उनका अनुसार आगलागीका कारण ७ घरमा क्षति पुगेको छ ।

यसबारे रुसी रक्षा मन्त्रालयले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आगलागीको कारणबारे पनि केही खुलाइएको छैन ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरमा आगलागी भएको स्थानबाट धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । यद्यपि आगलागीका तस्वीर र रुसी दाबीको स्वतन्त्र पुष्टि भने भई नसकेको जनाइएको छ ।

गत महिना रुसले बल्गोरोद क्षेत्रमा रहेको इन्धन भण्डारणमा युक्रेनी हेलिकोप्टरले आक्रमण गरेको दाबी गरेको थियो । तर, युक्रेनी पक्षले भने यस्तो दाबीको खण्डन गरेको छ ।

त्यसयता युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूमा आगलागी, विष्फोट जस्ता घटनाहरू बढ्दै गएको बताइन्छ ।

रुसी आक्रमणका कारण विश्वभर खाद्य संकट आउन सक्ने जेलेन्स्कीको चेतावनी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्य संकट आउने चेतावनी दिएका छन् ।

अष्ट्रेलियन टेलिभिजनको ६० मिनेट्स कार्यक्रममा बोल्दै राष्ट्रपति जेलेन्स्कीले विश्वभर खाद्य संकट आउने चेतावनी दिएका हुन् ।

उनले कृष्ण सागरमा रहेका युक्रेनी बन्दरगाहमा रुसी फौजले  नाकाबन्दी लगाएका कारण युक्रेनले करोडौं टन अन्न गुमाएको समेत बताए । यसकारण युरोप, एसिया र अफ्रिका प्रभावित हुने उनको चेतावनी छ ।

‘रुसले पानीजहाजलाई आउन पनि दिँदैन, जान पनि दिँदैन, यसले अहिले कृष्ण सागर कब्जा गरेको छ ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘रुसले हाम्रो मुलुकको अर्थतन्त्रलाई पूर्ण रुपमा रोक्न चाहन्छ ।’ उनले भने । युक्रेन विश्वको प्रमुख अन्न तथा अन्य खाद्य पदार्थको निर्यातकर्ता मुलुक हो ।

भारतमा गर्मी बढेसँगै विद्युतको माग उच्च

भारतमा गर्मी बढेसँगै विद्युतको माग उच्च भएको छ । केही दशक यताकै सबैभन्दा तातो गर्मीको सामना गरिरहेको भारतमा उर्जाको माग १३ दशमलब २ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब ४० करोड किलोवाट प्रतिघण्टा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

अप्रिल महिनामा राजधानी दिल्लीमा मात्रै विद्युतको माग ४२ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ । त्यस्तै, पञ्जाबमा ३६ प्रतिशत र राजस्थान राज्यमा २८ प्रतिशतले उर्जाको माग बढेको छ ।

यसबाहेक सिक्किममा पनि ७४ दशमलब ७ प्रतिशतले विद्युतको माग बढेको रोयटर्सले जनाएको छ । गर्मी बढेसँगै भारतीयहरूले एअर कण्डिसनको अधिक प्रयोग गरेका कारण उर्जाको माग बढेको जनाइएको छ ।

उर्जाको माग अनुसार आपूर्ति हुन नसक्दा अप्रिल महिनामा भारतका धेरै स्थानमा विद्युत कटौती गरिएको समेत रोयटर्सले जनाएको छ ।

यसैबीच, भारतमा तापलहरको क्रम घट्दै गएको त्यहाँको मौसम विभागले जनाएको छ । भारतको मौसम विभागका अनुसार भारतका अधिकांश भागहरूमा ताप लहरको अवस्था कम हुँदै गइरहेको छ भने आगामी तीन दिनमा हल्का वर्षा हुने अनुमान छ ।

मौसम विभागले वर्षापछि ३–४ डिग्री सेल्सियससम्म तापक्रम घट्ने अनुमान गरेको भारतबाट प्रकाशित हुने बिजनेश स्ट्याण्डर्ड अनलाइनले जनाएको छ । सोमबारमात्र राजधानी दिल्लीको अधिकतम तापक्रम ३९ डिग्री र न्यूनतम ३० डिग्री पुग्ने अनुमान छ ।

भारत र पाकिस्तानमा यस वर्ष अत्यधिक गर्मी बढेको बताइएको छ । गर्मीका कारण एक अर्ब भन्दा धेरै मानिसहरू प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ । बढ्दो गर्मीलाई जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ ।

यो वर्षको अप्रिल महिनामा देशका धेरै भागहरूमा उच्चतम् औसत तापक्रम रेकर्ड गरिएको छ । उत्तरपश्चिम र मध्य भारतमा अप्रिलमा क्रमशः ३५ दशमलब ९ र ३७ दशमलब ७८ सेल्सियस औसत अधिकतम तापक्रम रेकर्ड गरेको भारतीय मौसम विभागले जनाएको छ ।

दुई रुसी युद्धपोत ध्वस्त पारेको युक्रेनको दाबी

युक्रेनले कृष्ण सागरमा तैनाथ दुई रुसी युद्धपोतलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी सेनाध्यक्ष भलेरी जालुझ्नीले कृष्ण सागरस्थित स्नेक टापु नजिकै गस्ती गरिरहेका दुई रुसी युद्धपोतमा आक्रमण गरेको दाबी गरेका हुन् ।

‘आज सबेरै जिमिनी (स्नेक) टापु नजिकै राप्टर क्लासका दुई रुसी युद्धपोत ध्वस्त पारिएको छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार मानवरहित हवाई उपकरण ‘ड्रोन’ ले आक्रमण गरेको युक्रेनी पक्षको दाबी छ । आक्रमणका क्रममा खिचिएको भनिएको भिडियोमा दुई युद्धपोतमा क्षेप्यास्त्र आक्रमण भएको देखिन्छ ।

यद्यपि उक्त भिडियोको स्वतन्त्र पुष्टि हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।

यसबारे रुसी पक्षले कुनै टिप्पणी नगरेको बताइएको छ । गत महिना युक्रेनले कृष्ण सागरकै तटनजिक रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनामा तैनाथ मोस्कवा युद्धपोत ध्वस्त पारेको दाबी गरेको थियो ।

रुसी पक्षले मोस्कवा ध्वस्त भएको पुष्टि गर्दै आगलागीका कारण दुर्घटना भएको जनाएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : ५६ बजे

रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण

झापा– रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार विरुवा

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको

सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ

जिनेभा– संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार, सुडानमा जारी द्वन्द्वका कारण विस्थापित

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ‘एक घर, एक

पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते

लिमा– पेरुको मध्य क्षेत्र जुनिनमा एक  बस दुर्घटनामा कम्तीमा १८