टिकटक : प्रचारसँगै निम्त्याएको समस्या | Khabarhub Khabarhub

टिकटक : प्रचारसँगै निम्त्याएको समस्या



पछिल्लो समय गीत संगीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । अझ त्यसमाथि पनि भिडियोहरु कसैले न कसैले सामाजिक सञ्जालमा शेयर गरेकै हुन्छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युबमा जस्तै केही वर्षयता भिडियो सेयरिङ एप टिकटकमा पनि गीत संगीतका भिडियोहरू पर्याप्त पाइन्छन् । सुरुवाती समयमा भिडियो सेयरिङ प्लेटफर्म टिकटकले गीत संगीतलाई खुबै प्रचारप्रसार गर्‍यो । सर्जक पनि प्रचारप्रसारकै लागि यसमा जोडिए । किनकि यसको लोकप्रियता दिनानुदिन बढ्दो थियो । 

हातमा मोबाइल बोकेका प्रायले टिकटक प्रयोग गर्न थालेपछि सर्जकलाई यतातिर पनि लोकप्रियताको स्वाद चाख्न मन लाग्यो । फलतः यसमा सर्जकको पनि उपस्थिति बढ्न थाल्यो ।  टिकटकले सुरुवाती समयमा सर्जकको कामलाई प्रचार गर्न ठूलो भूमिका खेलेको थियो तर पछिल्लो समय यो सर्जकका लागि नै सबैभन्दा धेरै घातक प्लेटफर्म बनिरहेको छ । प्रचारप्रसार हुने टिकटकमा आजभोलि फिल्मका दृश्यहरू छताछुल्ल हुन थालेका छन् । हलमा फिल्म हेर्न पुगेका अधिकांश दर्शकले मोबाइलबाट सानो क्लिप खिचेर टिकटकमा अपलोड गर्ने गरेका छन् । यसरी हलमा रिलिज भइरहेको फिल्मलाई टिकटकमा अपलोड गर्नुको मुख्य तात्पर्य फलोअर्सको संख्या बढाउनु र अरु प्रयोगकर्तालाई आफूतर्फ आकर्षित गर्नु हो ।

गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का कैयन् दृश्य टिकटकमार्फत बाहिरिएका थिए । उक्त फिल्मको आधिकांश दृश्यहरू टिकटकमा छ्यापछ्याप्ती थिए । फिल्मको लोकप्रिय गीत श्रीवल्लीसँगै फिल्मका कैयन् संवादहरु टिकटकमा भाइरल भएका थिए ।  यसरी टिकटकबाट फिल्मका दृश्यहरू बाहिरिने फिल्ममा ‘आरआरआर’ र ‘केजीएफ: च्याप्टर २’ पनि पर्छन् ।यी त भए भारतीय फिल्मका कुरा । विदेशी मात्र होइन, केही समय अगाडि घरेलु फिल्म ‘ए मेरो हजुर ४’ को पनि क्लाइमेक्स टिकटकमा अपलोड भयो । यो फिल्मले त छायांकनकै क्रममा भाइरल भएको दृश्यलाई समेत टिकटकबाट हटाउन सकेन ।  सजिलै संगीत वा दृश्यलाई टिकटकमा राख्न सकिने भएकाले पनि यो प्लेटफर्म पछिल्लो समय सर्जकको टाउको दुखाइ बन्दैछ । 

‘ए मेरो हजुर ४’ हेरेका दर्शकहरूको प्रतिक्रिया लिन हल पुगेका अभिनेता अनमोल केसी र सुहाना थापाले टिकटकमा फिल्मका दृश्यहरूलाई नराख्न आग्रह समेत गरेका थिए । फिल्मको क्लाइमेक्स पहिले नै टिकटकमा आउँदा दर्शकलाई कौतुहलता कम हुने डरले निर्माण पक्षले यस्तो आग्रह गरेका थिए । उनीहरु झैँ यतिबेला टिकटकबाट शिकार बनेको छ, ‘कबड्डी ४’ टिम ।कबड्डी सिरिजको चौथो सिक्वेललाई यसपटक फाइनल म्याच भनिएको छ । ‘कबड्डी’ देखि नै काजीको विवाहलाई कथा बनाइएको फिल्मलाई यसपटक फाइनल भनिएकाले पनि व्यापार आक्रामक छ । 

फिल्मले पहिलो सातामा गर्ने ‘ग्रस कलेक्सन’ अहिलेसम्म कुनै नेपाली फिल्मले यति छोटो समयमा गरेको कमाइमध्ये सबैभन्दा बढी हो । यसपटक काजीको बिहे होला त ? दर्शकमाझ रहेको जिज्ञासा यही हो । यद्यपि फिल्मलाई जति धेरै दर्शकले हेरिरहेका छन् । त्यति नै टिकटकमा भिडियो क्लिप पनि प्रसारित भइरहेका छन् । हलसम्म दर्शक प्रतिक्रिया लिन पुगेका काजी अर्थात् दयाहाङ राईले फिल्मलाई टिकटकमा नराख्न आग्रह नै गरे । ‘फिल्म हेर्नुस्, रमाइलो गर्नुस्, राम्रो लागे साथीहरू हेर्न भन्नुस् । तर, भिडियो क्लिप बनाएर टिकटकमा नराखिदिनुहोस् । यसले हामीलाई अप्ठ्यारो बनाएको छ,’ दयाहाङले हलमा भनेका थिए । 

यो समस्या चर्चामा रहेका प्रायः फिल्मले भोग्ने गरेका छन् । दर्शकमाझ कौतुहलता बढेको फिल्मलाई टिकटकमा सानो सानो क्लिपमा देखाइने गरिन्छ । केही समय अगाडि फिल्म प्रदर्शकहरूको छाता संगठन नेपाल चलचित्र संघले पनि हलमा भिडियो क्लिप खिच्नेलाई कडाइ गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । दर्शकहरुले नबुझ्दा नै यो समस्या बढेको उनीहरूको बुझाइ छ । सुरुवाती समयमा पब्लिसिटी सम्झेका अधिकांश फिल्मकर्मी अहिले यसलाई लिएर चिन्तित बन्न थालेका छन् ।

प्रचारमा सघाइरहेको टिकटकले प्रचारसँगै समस्या समेत निम्त्याएको छ । हलमा मोबाइल लैजान पाइने हुँदा यो छिट्टै रोकिने सम्भावना पनि छैन । अर्थात् आउँदा दिनमा यस किसिमको समस्या अझै पनि भोग्नु नै पर्ने देखिन्छ । सानो सानो क्लिप बन्ने भएकाले यसलाई नियन्त्रण गर्न सहज छैन । यस सम्बन्धी ज्ञान बढ्दै जाँदा नियन्त्रणमा आउने प्रदर्शक, वितरकसँगै निर्माता समेत रहेका नरेन्द्र महर्जन बताउँछन् । उनले टिकटकको फाइदा र नोक्सान दुवै पक्ष रहेको स्वीकारे । ‘केही फिल्मलाई टिकटकले गर्दा फाइदा पुगेको छ । प्रचार गरिदिएको छ, जस्तै पुष्पा नामक भारतीय फिल्म । तर, सस्पेन्स रहेको फिल्मको क्लिप अगाडि आउँदा दर्शकलाई खल्लो लाग्न सक्छ,’ महर्जनले भने । 

उनले पछिल्लो समय टिकटकमा आउने भिडियोले फिल्मलाई असर गरिरहेको र सचेतना बढ्ने बित्तिकै त्यसरी भिडियो बनाउने क्रम घटेको बताए । ‘म आफै हलमा हेरिरहेको छु । अहिले भिडियो बनाउने क्रम निकै घटेको छ । सानोसानो क्लिप बनाउने भएकाले हल कर्मचारीहरूको नजर हरेक समयमा नपर्न सक्छ । कडाइ गरेर सचेतना बढाएसँगै यसमा कमी भने आएको छ,’ उनले भने ।  फिल्मको कथासार नबाहिरिने सन्दर्भमा टिकटकले प्रचार नै गर्ने बुझाइ उनको छ । नरेन्द्रको जस्तै बुझाइ छ नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदयको पनि । उनले पनि टिकटकले प्रचारमा सहयोग गरेकोसँगै समस्या निम्त्याएको पनि देख्छन् ।

‘हामीले हलभित्र धेरै समय बसेर दर्शकलाई डिस्टर्ब पनि गर्न मिल्दैन । हामीले कडाइ गर्दै फिल्म सामाजिक सञ्जालमा अपलोड गर्न हुन्न भन्ने सन्देश दिएका छौँ,’ उदयले भने ।  उनले आफ्नो मातहतको हलमा कडाइ गर्दै लगेको पनि बताए । ‘यसलाई एकैपटक रोक्न सकिन्न तर यसबारे दर्शकलाई जानकारी दिँदै कम गर्न सकिन्छ । क्लाइमेक्स नआउँदा त यसको फाइदा नै देखिएको छ । केही दर्शक त टिकटकमा डायलग वा क्लिप हेरेकै भरमा फिल्म हेर्न आएको समेत बताउनुहुन्छ,’ उदयले भने । प्रविधिको विकाससँगै आउने चुनौतीलाई विस्तारै समाधान गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनी यो समस्या केही समयपछि हट्न सक्ने समेत बताउँछन् ।

‘अहिले यसबारेमा थाहा नभएर हो, हलमा पुगेको वा फिल्म हेरेको जानकारी दिन पनि टिकटक वा सामाजिक सञ्जालमा क्लिप राख्ने चलन बढेको हो । यो विस्तारै घट्छ जस्तो लाग्छ,’ उनले भने । टिकटक मात्र नभई पछिल्लो समय सामाजिक सञ्जालका अन्य माध्यममा पनि आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै यो समस्या आइरहेको छ । आफ्ना गतिविधिलाई सोसल मिडिया फ्रेन्डली बनाउनुकै कारणले बढेको समस्याले लोकप्रियतासँगै समस्या निम्त्याएको हो । 

फिल्मको क्लाइमेक्सको दृश्य टिकटकमा हेरेर फिल्म हेर्न गएका दर्शकले खल्लो महसुस गरेका छन् । सुरुवाती समयमा प्रचारप्रसारमा सघाएको टिकटकजस्ता प्लेटफर्म पछिल्लो समय भने सर्जकको टाउको दुखाइ बनिरहेका छन् । गीत संगीतलाई लाभ दिएता पनि फिल्मलाई भने लाभको तुलनामा टिकटकले पछिल्लो समय हानी गरिरहेको छ । प्रतीक्षित फिल्मको महत्त्वपूर्ण दृश्यहरु टिकटकमा देखिँदा फ्यानलाई फिल्म नै खल्लो लाग्ने गरेको छ ।

यद्यपि टिकटक हलमा प्रदर्शन हुनुअगाडि भने फाइदाजनक नै देखिएको छ । केही फिल्म र कलाकारले आफ्नो गीत वा डायलगलाई प्रवर्द्धन गरेबापत पुरस्कार दिइरहेका छन् भने कतिले यस्तै खाले घोषणा पनि गरिरहेका छन् । यसले प्रचारप्रसारको पाटोलाई दर्शाउँछ भने ‘कबड्डी ४’ ले भोगिरहेको पाटोले समस्यालाई । केहीले टिकटकलाई नै स्टार बनाएको छ भने केहीलाई यसले हानी समेत गरेको छ ।

आजभोलि फिल्मका क्लिप मात्र नभई हरेक घटनाक्रमको स–साना क्लिपले टिकटक भरिएको पाइन्छ । सहजै र सरल तरिकाले भिडियो अपलोड गर्न सकिने भएकाले पनि यो लोकप्रिय छ । साथै, नेपालमा प्राय हेर्ने माध्यम अन्यको तुलनामा छिटो लोकप्रिय बन्दै आइरहेको छ ।  यसले सँगसँगै निम्त्याएको समस्यालाई पनि समाधान गर्न जरुरी छ । त्यसो त यसको समाधानको लागि सचेतनाभन्दा अन्य विकल्प हुन नै सक्दैन । भिडियो क्लिपमार्फत फिल्मलाई पर्ने असरलाई दर्शकसम्म पुर्‍याउन सकेमा यसले पुनः प्रचारप्रसारकै लयमा काम समेत गर्न सक्छ । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ३ : १६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र