दिनभर आजः प्रधानमन्त्रीले गरे निजगढ विमानस्थलको निरीक्षण, जनशक्ति विदेश पलायन हुँदा श्रममन्त्री चिन्तित | Khabarhub Khabarhub

दिनभर आजः प्रधानमन्त्रीले गरे निजगढ विमानस्थलको निरीक्षण, जनशक्ति विदेश पलायन हुँदा श्रममन्त्री चिन्तित


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज दिनभर नेपालमा प्रधानमन्त्रीले निजगढ विमानस्थलको निरीक्षण, स्वतन्त्र उम्मेदवारहरुले गठबन्धन जुटाउने प्रयास, दक्षिण एसियामा साझा मुद्राको अवधारणा बनाउनुपर्ने राष्ट्र बैंकका गभर्नरको भनाइ लगायतका समाचारहरु चर्चामा रहे ।

यी हुन् आज दिनभरका प्रमुख समाचारहरुः

प्रधानमन्त्री देउवाद्वारा निजगढ विमानस्थल क्षेत्रको निरीक्षण

प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’ सहितको विमानस्थल निर्माण गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको आज स्थलगत निरीक्षणपछि दुई धावनमार्गसहितको विमानस्थल निर्माण गर्न निर्देशन दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री देउवाका साथै गठबन्धन दलका शीर्ष नेताहरुले विमानस्थल बनाउनुपर्नेमा जोड दिएको अधिकारीले बताए ।

निजगढ विमानस्थल निर्माणस्थलको अवलोकनका लागि प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहितका नेताहरु आज विहान निजगढ पुगेका थिए ।

रमेश लेखकले गरे देउवाको तारिफ

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कुरा कामबाट नै प्रमाणित भएको बताएका हुन् ।
उनले जुन उद्देश्यले सरकार गठन भएको हो अहिले सोहीअनुरुप काम भइरहेको उल्लेख गरे ।

लेखकले वर्तमान गठबन्धनको मुख्य जिम्मेवारी भनेको संविधान रक्षा गर्नु रहेको स्मरण गर्दै अहिले सोहीअनुसार काम भैरहेको दावी गरे । लेखकले पार्टीको महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि विधान बनाउने, पदाधिकारी नियुक्त गर्ने र कार्य समितिलाई पूर्णता दिने काम बाँकी रहेकोले अब छिट्टै ती काम पनि सम्पन्न गरिने दावी गरे ।

सभापति देउवाले काम गर्न सकेनन् भन्ने कुरामा कुनै सत्यता नभएको उनको भनाइ छ । उनले आगामी निर्वाचनमा कांग्रेस एकताबद्ध भएर जाने धारणा राखे ।

समयमा मल उपलब्ध गराउन नसक्ने कृषिमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानलाई मल उपलव्ध गराउन नसक्ने कृषिमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

ललितपुरमा अखिल नेपाल किसान महासंघले आज आयोजना गरेको कार्यक्रममा ओलीले किसानका लागि काम गर्नुपर्ने कृषिमन्त्रीले मल उपलव्ध गराउन नसकेकाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।

झण्डा हल्लाउन मात्रै मन्त्री नबनाइएको भन्दै ओलीले कृषिमन्त्रीले किसानका लागि काम गर्नुपर्ने तर्क गरे । उनले समय समयमा हुने मिल्क होलिडे उचित नभएको र किसानलाई हित नगरेको भन्दै यसलाई सदाका लागि समाप्त पार्नुपर्ने जिकिर गरे ।

साथै ओलीले वर्तमान सरकारले किसानमैत्री काम गर्न नसक्दा उत्पादन घटेको र अर्बौंका चामल आयात गर्नुपर्ने अवस्था आएको बताए ।

त्यस्तै ओलीले कृषि प्रधान देशमा सरकारले नै कृषिका लागि केही गर्न नसकेको आरोप समेत लगाए ।

छोटो समयमा नै राप्रपा नेपालप्रति जनताको आकर्षण बढ्योः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो अवधिमा नै आफ्नो पार्टीको पक्षमा आकर्षण बढेर गएको दावी गरेका छन् ।

काठमाडौंमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले मुुलुकको कान्छो पार्टी भए पनि राप्रपा नेपालप्रति आम नागरिकको आकर्षण बढ्दै गएको दावी गरेका हुन् ।

नेता थापाले बुद्धिजिवी र नागरिक समाजमा पनि पार्टीप्रति उत्सुकता र चासो देखिएको भन्दै यसले राप्रपा नेपालको उज्वल भविष्यको संकेत गर्ने तर्क गरे ।

राप्रपा नेपाललाई राष्ट्रवादी पार्टी बनाउन लागेको र सनातन हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्यका साथ अघि बढ्ने उनको भनाइ छ । कार्यक्रममा नेकपा मालेका पोलिट्व्युरो सदस्य कुमार श्रेष्ठ नेतृत्वको टोलीलाई अध्यक्ष थापाले राप्रपा नेपालमा समायोजन गराएका थिए ।

देशमा रोजगारी सिर्जना गरेर युवालाई विदेश जानबाट रोक्नुपर्छः श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरी विदेश जानबाट रोक्नुपर्ने बताएका छन् ।

अछाम टिकाथली समाज सेवाले आज काठमाडौँमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशको जनशक्ति विदेश पलायन भएकोप्रति चिन्ता व्यक्त गरे ।

देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएको भन्दै आफ्नो कार्यकालमा यसलाई न्यूनीकरण गर्नतर्फ भरपुर कोसिस गर्ने पनि मन्त्री कुँवरले बताए । जोश जाँगर र देशलाई आवश्यक पर्ने जनशक्तिलाई यहीँ विकास निर्माणका काममा परिचालन गर्ने उनको भनाइ छ ।

अनेरास्ववियु क्रान्तिकारीको असन्तुष्ट पक्षले गर्‍यो समानान्तर समितिको घोषणा

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर समिति घोषणा गरेको छ । असन्तुष्ट पक्षले आज काठमाडौंको बानेश्वर भेला गर्दै पवन कार्कीको संयोजकत्वमा विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको हो ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै संगठनको उपाध्यक्ष रहेका पवन कार्की नेतृत्वको समूहले अलग्गै समिति गठन गरेर राष्ट्रिय भेला बोलाएको हो ।

संयोजक कार्कीले संगठनलाई कोही पनि व्यक्ति र समूहको निहित स्वार्थमा उपयोग हुन नदिन संगठन पनुर्निर्माण र पुनर्जागरणका लागि विशेष राष्ट्रिय भेला आह्वान गर्ने र अघि बढ्ने बताए । उनले संगठन भित्रका बेथिति सच्याउन पहल गर्दा पनि नेतृत्वले त्यसतर्फ चासो नदिएपछि आफूहरूले संगठन पुनर्निर्माणको अभियान थालिएको बताए ।

स्वतन्त्र उम्मेदवारी अभियानको प्रस्तावः ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवार मान्न नसक्ने

स्वतन्त्र उम्मेदवारी अभियानले विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवार मान्न नसक्ने प्रस्ताव गरेको छ ।

ललितपुरमा आज आयोजना गरेको स्वतन्त्र उम्मेदवारको प्रथम भेलामा प्रस्तुत अवधारणा पत्रमा ग्रिनकार्ड र पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न नसकिने प्रस्ताव गरिएको हो ।

त्यस्तै अवधारणा पत्रमा उल्लेख उम्मेदवारका मापदण्डहरुमा भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न नपाउने, प्रत्यक्ष निर्वाचन लड्ने व्यक्तिले चूनाव लड्ने घोषणा गरेकै दिन सम्पति विवरण सार्वजनिक गर्नुपर्ने, पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने लगाएका छन् ।

त्यस्तै अभियानले विषयगत समानता र एकरुपता कायम गर्न स्वतन्त्र उम्मेदवारहरुको एउटा एलाइन्स गठबन्धन बनाउने पनि प्रस्ताव गरेको छ ।

पैसा असुल्ने गिरोहका २ जना पक्राउ

मोरङको विराटनगरका उद्योगी–व्यापारीलाई धम्क्याएर पैसा असुल्ने गिरोहका २ जना पक्राउ परेका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–६ घर भइ विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित एयरपोर्ट मोडमा बस्दै आएका ३९ वर्षीय गणेशकुमार कार्की र पथरीशनिश्चरे–६ हसनदहका २६ वर्षीय विशाल ऋषिदेवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धाकधम्की दिएर विराटनगर महानगरपालिका–३ का अगरबत्ती उद्योग व्यापारी मुकेश शर्मासँग पैसा असुलेको पत्ता लागेपछि कार्की र ऋषिदेवलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुले बारम्बार धम्कीपूर्ण पत्र पठाएर र फोनमार्फत शर्मासँग ५ लाख रूपैयाँ मागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । १० दिनअघिदेखि ५ लाखबाट ‘डिल’ गर्न थालेको गिरोहले शर्मासँग २५ हजार रूपैयाँ पनि लिइसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

डीएसपी श्रेष्ठले आज सार्वजनिक बिदा परेका कारण कार्की र ऋषिदेवविरुद्ध भोलि अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने जानकारी दिए ।

पैसा माग गर्दै कोहीकसैलाई धम्क्याएको र बार्गेनिङ गरेको भए तत्काल प्रहरीमा जानकारी गराउन र घटना नलुकाउन मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले आग्रह समेत गरेका छन् ।

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार २ सय १ पीसीआर परिक्षणका क्रममा ३३ जना र १ हजार २ सय ६६ एन्टीजेन परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३ सय १४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दक्षिण एसियामा साझा मुद्राको अवधारणामा जानुपर्छः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियामा साझा मुद्राको अवधारणामा जानुपर्ने बताएका छन् ।

नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेशले आयोजना गरेको केन्द्रीय बैंक डिजिटल करेन्सी तथा मौद्रिक नीतिबारे छलफल कार्यक्रममा गभर्नर अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले सो बारेमा प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताए ।

उनले नेपालले आफूले गर्नुपर्ने अध्ययन सकिसकेको पनि बताउनुभयो । यस्तै केन्द्रीय बैंक डिजिटल मुद्रामा जानुपर्नेमा पनि उनले जोड दिए ।

कतिपय देशले डिजिटल बैंकको अनुमति समेत दिन थालिसकेको र डिजिटल मुद्राबाट हतास हुनुपर्ने अवस्था नआउने उनको भनाइ थियो । यस्तै पछिल्लो समय नोटको कारोबार घट्दै गएको र राष्ट्रबैंकको तथ्यांक अनुसार कार्तिकयता एक खर्बले घटिसकेको उनले बताए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ४४ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु