काठमाडौं – पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको शीर्ष चारमा प्रवेश गरेको छ । सारजाह क्रिकेट मैदानमा शुक्रबार हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान शीर्ष चारमा पुगेको हो ।
जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङ १०।४ ओभरमा ३८ रनमा अल आउट भयो । हङकङका कप्तान निजाकत खानले १३ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए । किन्चित शाहले १० बलमा १ चौकासहित ६ रन बनाए ।
पाकिस्तानका लागि स्पिनर शादब खानले ४ विकेट लिए । मोहम्मद नवाज ३ तथा नसिम शाहले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १ सय ९३ रन बनाएको थियो ।पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनमा अविजित रहे । खुशदील शाह १५ बलमा ५ छक्कासहित ३५ रनमा अविजित रहे ।
हङकङका एहसान खानले २ विकेट लिए । योसँगै टि२० एसिया कप २०२२ को सुपर फोरमा पुग्ने चार टोलीको निर्धारण लागेको छ । समूह ए बाट भारत दुबै खेलमा जितका साथ शीर्ष चारमा स्थान बनाएको छ । पाकिस्तान दोस्रो स्थानमा रहँदै शीर्ष चारमा पुगेको हो । समूह बी बाट अफगानिस्तान र श्रीलंका शीर्ष चारमा स्थान बनाएका छन् ।