राउटे बस्तीमा दसैंको चटारो « Khabarhub

राउटे बस्तीमा दसैंको चटारो


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

दैलेख – दसैंको रौनकले राउटे बस्तीलाई छाएको छ। उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन्। फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका थिए। अहिले सोही गाउँपालिकाको वडा नं १ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जङ्गलमा सरेका छन्।

लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको उनीहरुको भनाइ छ। महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको सुनाउनुभयो। “दसैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ, चिसो बढ्यो, दसैँ मनाएर अन्तै सर्नुपर्ला।” बेस्तडा जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाइ नहुने शाहीको भनाइ छ।

फिरन्ते जीवन बिताउने यो समुदायका ४६ घरधुरीमा गरेर एक सय ४३ जना छन्। बस्तीमै पुगेर राउटे समुदायलाई खसी, चामल, चिसोमा न्यानो गराउने पिफर्म वितरण गरेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताए।

गुराँस गाउँपालिका–८ ले परिचयपत्र दिएर नेपाली नागरिकको रूपमा सामाजिक भत्ता बस्तीमै पुगेर वितरण गर्दै आएको छ। सरकारले अतिलोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक चार हजार प्रदान गर्दै आएको छ।

दसैं नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन्। किनमेलका लागि स्थानीय बेस्तडा बजार हुँदै दैलेख सदरमुकामसम्म पुग्ने उनीहरूको योजना छ। राउटे समुदायमा मुख्य मान्छेलाई महामुखिया भनिन्छ।

महामुखिया शाही छन् भने मुखिया दुई जना सूर्यनारायण र वीरबहादुर शाही छन्। उनीहरू महामुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन्। यो दसैँलाई ‘असोजे दसैँ’ भन्छन्। यसका लागि राउटेले अगाडि नै खसीबोका जम्मा गरिराख्छन्।

दसैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन्। दसैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन्। मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन्।

देवी–देवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संस्कारप्रति राउटे पनि विश्वास गर्छन्। यद्यपि उनीहरूको मृत्यु संस्कार भने फरक शैलीको छ। आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्येष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन्। जहाँ मर्यो त्यही गाडेर बस्ती सर्छन्। कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको आसपासका क्षेत्रमा यो समुदायले बसोबास गर्दै आएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ०८ बजे

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका