चाडपर्व सुरु भएसँगै डुङ्गा व्यवसायी व्यस्त « Khabarhub

चाडपर्व सुरु भएसँगै डुङ्गा व्यवसायी व्यस्त


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण (कास्की)- वर्षायाम सकिएसँगै  फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् ।

कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो । चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ । तीमध्ये डुङ्गा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन् । कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकको सङ्ख्या बढेको डुङ्गा चालक चिजमान गुरुङले बताए। पोखरा आएका पाहुना फेवाताल पुगेर डुङ्गा सयर गर्ने उनको भनाइ थियो । यसरी फेवातालमा डुङ्गा चढ्ने पाहुनाका कारण आफ्नो आम्दानी बढेको गुरुङले जानकारी दिए। “कोरोनाको बेलामा त सुक्को पैसा कमाइएन, जहान बच्चा पाल्न पनि धौधौ थियो”, उनले भने, “कोरोना घटेपछि पाहुना आएर डुङ्गा चढ्नुहुन्छ अलिअलि भए पनि कमाइएको छ ।” पहिले दैनिक रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गुरुङले अहिले दैनिक रु आठ सयसम्म कमाउँछन् ।

पोखरा आएपछि फेवातालमा डुङ्गा सयर नगरी फर्कनै मन नलाग्ने स्याङ्जाबाट पोखरा घुम्न आएका समिर मानन्धरले बताए। गएको दुई वर्ष कोरोनाले गर्दा घुम्न नपाएको बताउने उनी दसैँ बिदाको मेसोमा पोखरा आएका हुन् । पोखरा आए लगत्तै सिधै फेवाताल पुगेर डुङ्गा चढी बाराही मन्दिरको दर्शन गरी फर्किएको उनले सुनाए।

चाडपर्वको आगमनसँगै पर्यटक पोखरा आउन थालेको फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए। पोखरा आएका पर्यटक फेवातालमा डुङ्गा चढ्न हुरुक्कै गर्ने कारण डुङ्गा चालक व्यस्त हुन थालेको उनको भनाइ छ ।

फेवातालका आठ वटा घाटबाट डुङ्गा सञ्चालन हुने गर्छ । अहिले ती सबै घाटका डुङ्गा चालक बिहानदेखि बेलुकासम्मै व्यस्त हुन थालेको अध्यक्ष गिरीले जानकारी दिए। बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा सात सय २६ वटा डुङ्गा छन् । ती डुङ्गा चलाउने २५ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । त्यसमा पनि युवाहरूको सङ्ख्या धेरै रहेको अध्यक्ष गिरीले जानकारी दिए।

पर्यटकले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो गर्न थालेपछि फेवा डुङ्गा व्यवसायी सङ्गठनले अनुगमन समिति पनि बनाएको छ । अनुगमन समिति गठन भएर निरीक्षण गर्न थालेपछि पर्यटकको गुनासोमा कमी आएको अनुगमन टोलीको संयोजक प्रितम कुँवरले बताए। “बाराहीघाटबाट बाराही मन्दिरसम्म पुगेर फर्केको रु ६० भाडा हो तर, यहाँ चालकले मनोमानी पैसा लिएको भन्ने गुनासो आउन थाल्यो”, कुँवरले भने, “यसका लागि हामी अनुगमनमा निस्कन्छौँ, त्यस्तो भेटिए तत्काल कारबाही गर्छौँ ।”

दसैँको आगमनसँगै पोखरामा आन्तरिक पर्यटकको आगमन बढेकाले डुङ्गा व्यवसायी र चालक खुसी भएको कुँवरले बताए। पोखरा आएका आन्तरिक तथा केही बाह्य पर्यटकले डुङ्गा चढ्ने गरेको उनले जानकारी दिए । सोही कारण फेवातालका डुङ्गा व्यवसायी तथा चालकले आम्दानी बढ्ने आशा गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ११ : ४६ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी