टिकटकसँगै युट्युबमा बढ्न थाल्यो पाइरेसी | Khabarhub Khabarhub

टिकटकसँगै युट्युबमा बढ्न थाल्यो पाइरेसी


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय नेपाली फिल्महरू पाइरेसीको शिकार हुन थालेका छन् । हल पुगेका दर्शकहरूले टिकटकमा स-सानो क्लिप हाल्ने क्रम बढ्दै गर्दा केहीले लामो समयको भिडियो क्लिप नै हालिरहेका छन् । कोरोना भाइरसको महामारी पश्चात नेपाली फिल्म पनि पाइरेसीको शिकार हुने क्रम बढेको छ । यद्यपि स-सानो क्लिप मात्र टिकटक झैँ युट्युबमा समेत आइरहेका छन् । 

टिकटकमा स-सानो क्लिप भएता पनि युट्युबमा भने केही लामो भिडियो नै आउन थालेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले पाइरेसीको समस्या बढेको बताए । आफ्नो फिल्म प्रदर्शनको समयमा विभिन्न झमेलामा रहेका कारण पनि धेरै ध्यान दिन नपाएको बताउने सुदर्शनले टिकटकमा भेटिएको लामो भिडियोलाई रिक्वेस्ट गरेर नै हटाउन लगाएको बताए । 

‘हाम्रो फिल्मको पार्ट-पार्ट गरेर आएको भिडियोलाई व्यक्तिगत आग्रह गरेर हटाउन लगाएका थियौँ । यसको लागि चेतना बढाउनु पर्ने आवश्यकता भइसकेको छ’ सुदर्शनले भने । उनले हलले पनि कडाइ गर्नु पर्नेमा जोड दिए । ‘भिडियो खिच्न नहुने सूचना फिल्म चल्नु अगाडि देखाउनेसँगै मोबाइलले भिडियो खिच्दा कडाइ गर्नु पर्छु उनले भने । 

उनको फिल्मको १७ मिनेट ५२ सेकेन्डको भिडियो युट्युबमा समेत छ । यो भिडियो हलबाट नै खिचेको प्रस्ट हुन्छ । अर्को प्रतीक्षित फिल्म ‘ए मेरो हजुर ४’ को पनि ५३ मिनेट ४८ सेकेन्डको भिडियो युट्युबमै छ । निर्माण पक्षले भिडियो हटाउन अनेक प्रयत्न गरेका थिए । यद्यपि एक च्यानलबाट हटाएको भिडियो अर्को च्यानलमा अपलोड भएको पाइन्छ । एक पटक भिडियो सामाजिक सञ्जालमा आइसकेपछि जत्ति नै हटाए पनि कही कतैबाट अपलोड हुने गरेको बुझाई कबड्डी ४ का निर्माता मनिराम पोखरेलको पनि छ । ‘एउटाले हटायो भने अर्कोले हाल्ने रहेछन् । पाइरेसी सम्बन्धी चेतना नै बढाउनु पर्ने आवश्यकता छ’ उनले भने । 

प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ को २२ मिनेट ७ सेकेन्ड लामो क्लिप युट्युबमा छ । यो एउटाबाट हाते अर्कोमा अपलोड हुने गरेको छ । एक पटक सोसल मिडियामा आएपछि विभिन्न स्थानमा सेफ हुने भएकाले पनि यसलाई हटाउन असहजता बढ्दो छ । यद्यपि ‘कबड्डी ४’ टिम पछिल्लो समय अभिनेत्री मिरुना मगर र भिक्षु फुर्पा तामाङ बीच देखिएको विवाद मिलाउनमै व्यस्त छन् । 

पाइरेसी गर्न नहुने र गरेमा आउने परिस्थितिलाई बुझाउन नसक्दा फिल्म हेर्न हलसम्म पुग्ने गरेका दर्शकले रमाइलोको लागि भिडियो क्लिप बनाउने गरेका छन् । टिकटकले सुरुवाती समयमा सर्जकको कामलाई प्रचार गर्न ठूलो भूमिका खेलेको थियो तर पछिल्लो समय यो सर्जकका लागि नै सबैभन्दा धेरै घातक प्लेटफर्म बनिरहेको छ । प्रचारप्रसार हुने टिकटकमा आजभोलि फिल्मका दृश्यहरू छताछुल्ल हुन थालेका छन् । हलमा फिल्म हेर्न पुगेका अधिकांश दर्शकले मोबाइलबाट सानो क्लिप खिचेर टिकटकमा अपलोड गर्ने गरेका छन् । यसरी हलमा रिलिज भइरहेको फिल्मलाई टिकटकमा अपलोड गर्नुको मुख्य तात्पर्य फलोअर्सको संख्या बढाउनु र अरु प्रयोगकर्तालाई आफूतर्फ आकर्षित गर्नु हो ।

 केही समय अगाडि फिल्म प्रदर्शकहरूको छाता संगठन नेपाल चलचित्र संघले पनि हलमा भिडियो क्लिप खिच्नेलाई कडाइ गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । दर्शकहरुले नबुझ्दा नै यो समस्या बढेको उनीहरूको बुझाइ छ । सुरुवाती समयमा पब्लिसिटी सम्झेका अधिकांश फिल्मकर्मी अहिले यसलाई लिएर चिन्तित बन्न थालेका छन् । प्रचारमा सघाइरहेको टिकटकले प्रचारसँगै समस्या समेत निम्त्याएको छ । हलमा मोबाइल लैजान पाइने हुँदा यो छिट्टै रोकिने सम्भावना पनि छैन । अर्थात् आउँदा दिनमा यस किसिमको समस्या अझै पनि भोग्नु नै पर्ने देखिन्छ । 

पाइरेसी भइरहेको र यसले पार्ने असर र पाइने सजाय बारे चेतना बढाउन सके यो समस्या नियन्त्रण हुने प्रदर्शक, वितरकसँगै निर्माता समेत रहेका नरेन्द्र महर्जन बताउँछन् । उनले आफैँले हलमा निगरानी बढाउने गरेको बताएका छन् । ‘म आफैँ हलमा निगरानी बढाइरहेको छु । कर्मचारीलाई पनि कडाइ गर्न भनेको छु । टिकटकका लागि स-सानो क्लिप बनाउने भएकोले पनि त्यो कम भएता पनि रोकिएको छैन’ प्रदर्शक महर्जनले भने ।

नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदयले स-सानो क्लिप खिच्ने र भिडियो प्लेफर्ममा हाल्ने फेसन नै भएको बताए । ‘आफू हलसम्म पुगेको र  फिल्म हेरेको जानकारी दिन पनि धेरैले भिडियो खिच्ने गरेका छन् । हामीले बारम्बार नखिच्न आग्रह गरिरहेका हुन्छौँ । हामी सजग र सतर्क छौँ’ प्रदर्शन उदयले भने । ‘हामीले हलभित्र धेरै समय बसेर दर्शकलाई डिस्टर्ब पनि गर्न मिल्दैन । हामीले कडाइ गर्दै फिल्म सामाजिक सञ्जालमा अपलोड गर्न हुन्न भन्ने सन्देश दिएका छौँ,’ उदयले भने ।  प्रविधिको विकाससँगै आउने चुनौतीलाई विस्तारै समाधान गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

युट्युब र टिकटक मात्र नभई पछिल्लो समय सामाजिक सञ्जालका अन्य माध्यममा पनि आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै यो समस्या आइरहेको छ । आफ्ना गतिविधिलाई सोसल मिडिया फ्रेन्डली बनाउनुकै कारणले बढेको समस्याले लोकप्रियतासँगै समस्या निम्त्याएको हो । नेपालमा प्राय हेर्ने माध्यम अन्यको तुलनामा छिटो लोकप्रिय बन्दै आइरहेको छ ।  यसले सँगसँगै निम्त्याएको समस्यालाई पनि समाधान गर्न जरुरी छ । त्यसो त यसको समाधानको लागि सचेतनाभन्दा अन्य विकल्प हुन नै सक्दैन । भिडियो पाइरेसीमार्फत फिल्मलाई पर्ने असरलाई दर्शकसम्म पुर्‍याउन सकेमा यसले पुनः प्रचारप्रसारकै लयमा काम समेत गर्न सक्छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  १ : ४१ बजे

छ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै

काठमाडौं– राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराकासाथ सुरु

लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल

गलकोट – नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले

‘गौतम बुद्ध विमानस्थल दीर्घकालीनरूपमा सञ्चालन गरौँ’

लुम्बिनी– लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको अध्यक्षमा पुन: सीताराम न्यौपाने 

काठमाडौं – नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको दशौं

कर दिवसमा नबिल बैंक सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर