काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । देशभरका मुख्य मुख्य समाचारसहित अन्तर्राष्ट्रिय र खेलकुदका गतिविधि समेटेर तयार पारिएको छ। यस्ता छन् बिहान १० बजेसम्मका मुख्य १० समाचार :
१. सप्तकोसीको बाँध फुटेर बाढी गाउँ पसेपछि स्थानीय त्रसित
अविरल वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि स्थानीय त्रसित बनेका छन् । आज बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् । नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए । सोमबारदेखि नै बेलका नगरपालिकाले बस्ती छाड्न माइकिङ गरेको र आफू घटनास्थल जाँदै गरेको उनले बताए।
२. सप्तकोशीले कटान सुरु गरेपछि स्थानीय सुरक्षित स्थल खोज्दै
सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्यधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भू–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षित स्थलतर्फ लागेका हुन् ।
३. पहिरोले अवरुद्ध नारायणगढ– मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा
पटक पटक पहिरोको कारण अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिङ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान २ बजेर ३० मिनेटदेखि भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
४. कर्णाली करिडोर खोल्ने प्रयास सुरु
कर्णाली करिडोर बन्द भएको आठ दिनपछि पचालझरना गाउँपालिकाले सडक सञ्चालनको प्रयास सुरु गरेको छ । साउन ९ यता कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउने काम भइरहेको छ। पचालझरना गाउँपालिका ८, लाफा खण्डमा अघिल्लो आइतबार पहिरो आएको थियो । गाउँपालिका अध्यक्ष देवजंग शाहीले सडक अवरुद्ध भएपछि स्काभेटर पठाएर पहिरो पन्छाउने काम भइरहेको बताए।
५. पुल बगाएपछि आवतजावत बन्द
म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवतजावत बन्द भएको छ । शिवरात्रि र भारवाङ बस्तीको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल सोमबारको बाढीले बगाएको थियो । भारवाङको जन्मभूमि युवा क्लबका अध्यक्ष प्रवीन जुग्जालीले अस्थायी पुल पनि बगाएपछि आवतजावत बन्द भएको जानकारी दिए । भारवाङगाउँ सडक र पैदलमार्गबाट सम्पर्कविच्छेद हुँदा समस्या भएको उहाँले बताउनुभयो । खोला तर्न नसकिने भएकाले वडा र पालिकाको केन्द्र तथा विद्यार्थी विद्यालय आउजाउ गर्नबाट वञ्चित भएका छन् ।
६. कक्षा ११ को भर्ना साउन मसान्तसम्म लिइसक्न निर्देशन
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यालयहरूले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्याएको छ । परीक्षा बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।
७. सुनसान बन्दै बागलुङका होमस्टे
बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् । बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिराका घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्ने गरेका छन् । असारपछि घरबास सुनसान बन्न पुगेका हुन् ।
८. ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाज : अमेरिकी सभामुख
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमा पर्ने बताएकी छन् । हिजो ताइवान पुगेकी पेलोसीले आज ताइवानको संसदलाई सम्बोधन गर्दै अमेरिका र ताइवानबीच आफूले संसदीय आदानप्रदान बढाउन चाहेको समेत बताएको बीबीसीले जनाएको छ । पेलोसीले ताइवानकी राष्ट्रपति साइ यिङ वेनसँग भेटवार्ता गरेकी छन् । भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै त्यसको प्रशंसा गरेकी छिन् ।
९.बीबीएल को १२औं संस्करणको ड्राफ्टमा नेपाली कप्तान लामिछाने
अष्ट्रेलियाको क्रिकेट लिग(बीबीएल) को १२औं संस्करणको ड्राफ्टमा नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने परेका छन् । बीबीएलले आज सामाजिक संजालमार्फत सन्दीप ड्राफ्टमा रहेको जनाएको छ । सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेका छन् । बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ ।
१०. इन्डिजविरुद्धको तेस्रो टी–ट्वान्टीमा भारतको जित
घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तेस्रो टी–ट्वान्टीमा भारतले जित निकालेको छ । गए राति भएको खेलमा भारतले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै ५ खेलको सिरिजमा भारतले २–१ को अग्रता बनाएको छ ।
प्रतिक्रिया