काठमाडौँ– केही दिन अघिको कुरा हो । मेडिसिटी अस्पतालको इमर्जेन्सीमा जाँदै गर्दा ठूलो स्वरमा कोही रोएको आवाज आयो । त्यो आवाजले मलाई त्यहीँ रोकिन बाध्य बनायो ।
मेरो सामुन्ने जाँदै गरेकी सिस्टरलाई सोधेँ– के भएको हो उहाँलाई ?
‘पेट दुखेर हो,’ उनले भनिन् ।
हुन त पेट दुख्ने कारण धेरै हुन्छन् तर स्वास्थ्यसँग जोडिएको भएर होला चासो पनि अलिक बढी नै राखेँ । मैले उनलाई सोधेँ– के भएर दुखेको रहेछ थाहा भयो ?
उनले भनिन्, ‘अहिलेको किशोरीको समस्या नि, त्यही त हो मिन्स भएर ।’
एकछिन त म अकमक्क परेँ । महिनावारी हुँदाको पेट दुखाइ नभोग्ने त शायद कमै होलान् । फरक यत्ति हो कि, कुनै महिला त्यही पेट दुखाइमा अन्तराष्ट्रिय स्तरको अस्पतालको इमर्जेन्सीमा जान सक्छन् भने कुनै महिला पटुकी कसेर घण्टौ उकालो बाटोमा भारी बोकेका हुन्छन् । आखिर दुखाइ त हो नि ।
महिनावारीको वास्तविक पीडा ती शहरमा पेन किलर खानेलाई के थाहा हुनु र ! अझ उनीहरुले सिरानीमा प्याड राखेर छिनछिनमा डस्टबिनमा फाल्छन् । वास्तविक पीडा त दुर्गमका ती महिलाहरुलाई हुन्छ, जो पेट दुख्दा सल बाँधेर दिनभर मेलापात हिँड्छन् । बजारमा किन्न पाइने प्याड होइन, पेट दुख्दा पटुकी कस्छन्।
ती महिलाहरुले च्यातिएको पुरानो कपडाको टालो राखेर रगताम्मे हुँदै काम गरिरहेका हुन्छन् । ती दूर दराजका महिलामा पक्कै पनि शहरीया जनचेतनाको कार्यक्रम र चर्का भाषणले काम गरेको छैन ।
अस्पतालको त्यो घटनाले शहरमा नै भएर पनि महिनावारीकाबारेमा खुलेर कुरा नगर्ने हामी अनि परिवर्तन गर्न नसकेको हाम्रो सोचले अझै पनि धेरै पछाडि छौँ जस्तो लाग्यो ।
आज पनि नेपालका धेरै ठाउँमा महिनावारीको पीडा बुझ्ने अनि सहज व्यवहार गर्ने कमै भेटिन्छन् । यो मामिलामा म निकै भाग्यमानी रहेछु भन्ने लाग्यो । मैले पनि यो दुखाइको पीडा भोग्दै आएको हो तर मलाई आमाले कहिल्यै नराम्रो भन्नु भएन। म रोएपछि उल्टै मसँगै बसेर आमा पनि रोइदिनुहुन्थ्यो । कतिबेला आँखामा आँसु भरिएर बाहिर निस्कियो पत्तै हुन्थेन ।
आफूलाई सम्हाल्दै अस्पतालबाट बाहिर निस्किएँ । कुनै दिन मैले बाटोमा हिँड्दै गर्दा अञ्जान बहिनीलाई उनको घरसम्म लगेर पानी तताएर दिएको पनि याद आयो । जुन शहरी एरिया भए पनि भोगाइ दूर दराजको जत्तिकै थिायो ।
शहरमा त महिनावारीका बारेमा खुलेर व्यवहारमा उतारेको पाइँदैन भने ग्रामीण क्षेत्रमा झन् अवस्था कस्तो होला ? स्कुल, कलेज पढ्दै गरेका किशोरीहरुको अवस्था कस्तो होला ? उनीहरुलाई आफ्नो समस्या समाधान गर्न सक्ने कसरी बनाउन सकिएला ?
महिनावारी शुरु हुनु केही घण्टा अगाडिदेखि सानो पेट दुख्ने काम शुरु भई २४ घण्टासम्म रहन सक्छ । तल्लो पेटमा केन्द्रित हुने यस्तो पीडा ढाडतिर वा भित्री तिघ्रातिर सर्न सक्छ ।
अनि नेपालमा म जस्तै महिनावारीको पीडाले काम गर्न नसक्नेका लागि ‘पेन लिभ’ भनेर कहिलेदेखि बिदा पाउने होला ? महिनावारीलाई विषय बनाएर गरिने छुवाछूतको अन्त्य होला ? यस्ता धेरै प्रश्नको उत्तर भेट्याउन सकेको छैन ।
अहिलेको अवस्थामा मैले देखेको कुरा, महिनावारी हुँदा किन तल्लो पेट दुख्छ ? यसलाई कसरी कम गर्न सकिन्छ ? महिनावारीमा तल्लो पेट दुख्न कम गर्ने औषधि के हो ? भविष्यमा प्रजननसँग यसको के सम्बन्ध हुन्छ ? भनेर विद्यालय तहको शिक्षामा नै समावेश गराउन अत्यावश्यक छ । जसले गर्दा आफ्नो समस्याको बारेमा किशोरीहरुले खुलेर कुरा गर्न सकून् अनि, आफ्नो समस्या आफैले समाधान गर्ने आँट गरुन् ।
यसै पनि किशोरी अवस्थामा हुने मानसिक तनाव, चिन्ता एवं पीडा खप्न सक्ने क्षमतामा कमी हुन्छ । मैले डाक्टरसँगको कुराकानी अनि अध्ययनबाट थाहा पाए अनुसार, पाठेघरको मुख साँघुरिने, जन्मजात रूपमा पाठेघरमा हुने खराबी, महिनावारीको बेलामा अत्यधिक मात्रामा भ्यासोप्रेसिन (पाठेघर खुम्च्याउने रासायनिक तत्व) तथा प्रोस्टाग्लान्डिन (पाठेघरको मध्यम तहमा रक्तसञ्चार घटाउने रासायनिक तत्वको उत्पादनले गर्दा महिनावारीको बेला पीडा हुन्छ । यस्ता खाले पीडा डिम्ब निस्कने खालको महिनावारीसँग सम्बन्धित हुन्छ ।
महिनावारी शुरु हुनु केही घण्टा अगाडिदेखि सानो पेट दुख्ने काम शुरु भई २४ घण्टासम्म रहन सक्छ । तल्लो पेटमा केन्द्रित हुने यस्तो पीडा ढाडतिर वा भित्री तिघ्रातिर सर्न सक्छ । पीडासँगै वाकवाकी लाग्ने, उल्टी हुने, थकान महसुस हुने, टाउको दुख्ने पनि हुन्छ । तर पेट वा जननेन्द्रियको आन्तरिक जाँच वा भिडियो एक्सरेमा त्यस्तो कुनै खराबी भने भेटिँदैन । यो म आफैले भोगेको कुरा हो ।
महिनावारीका बारेमा राम्रोसँग बुझाउन नसक्दा अझै पनि विकराल समस्यासँग धेरै किशोरीले जुध्नुपरेको छ ।
महिनावारीको पीडालाई कम गर्न तल्लो पेट वा ढाडमा सेक्न तातोपानीलाई रबरको थैली वा सिसाको बोतलमा राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर प्रयोग गर्न सकिन्छ ।
मनतातो पानीमा एकछिन हातखुट्टा डुबाएर बस्दा पनि आराम मिल्छ । साथै अदुवा पानी तताएर पिउँदा पनि आराम मिल्छ । सात/आठ ओटा मुलाको दाना चपाएर मनतातो पानी खाँदा धेरै हदसम्मको पीडा कम हुन्छ ।
आफ्नो दैनिक क्रियाकलाप जारी राख्नाले एवं व्यायाम र घुमफिर गर्नाले ध्यान अन्यत्र मोडिने हुँदा फाइदै पुग्छ । यतिले पनि आराम नपुगे नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुपर्छ । धेरै गाह्रो भयो भने डाक्टरले दिने औषधि भनेको मेफेनेमिक एसिड, ब्रोफेन, नेप्रोक्सिन, मेफ्टाल लगायत औषधिहरू हुन् ।
यो औषधि महिनावारी भएको केही दिनसम्म प्रयोग गर्न सुझाव दिन्छन् तर यसको नियमित प्रयोगले भविष्यमा पर्ने असरको बारेमा पनि सचेत हुनपर्छ । यस्ता औषधिको नियमित प्रयोगले पछि पाठेघरमा असर गर्ने तथा बाँझोपन निम्त्याउने विभिन्न अध्ययनले देखाएको छ ।
त्यसैले समस्या समाधान गर्ने बाहनामा थप ठुलो समस्या नल्याऔँ । महिनावारीका बारेमा राम्रोसँग बुझाउन नसक्दा अझै पनि विकराल समस्यासँग धेरै किशोरीले जुध्नुपरेको छ । त्यसैले थप जोखिम नआओस् भन्नका लागि स्कुल तहमा नै पाठ्यक्रममा समावेश गर्न ढिला भैसकेको छ । सम्बन्धित निकायको ध्यान चाँडै जाओस् ।
प्रतिक्रिया