नवलपुर-१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा कोइराला « Khabarhub

नवलपुर-१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा कोइराला


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नवलपुर – राज्य पुनःसंरचनासँगै सिङ्गो नवलपरासी दुई जिल्लामा विभाजन भयो। जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गण्डकी प्रदेशमा र पश्चिमी भाग नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) लुम्बिनी प्रदेशमा राखियो।

पुनःसंरचनासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा सम्पूर्ण संरचना नयाँ निर्माण भए। चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको जिल्लालाई दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विभाजन गरियो। नवलपुरको बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिकाका सबै क्षेत्र र कावासोती नगरपालिकाका ११ वटा वडा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा समेटिएका छन्।

विसं २०४८ देखि नेपाली कांग्रेसले जित्दै आएको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को क्षेत्र नम्बर १ बाट यसपटक पनि बीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइराला चौथो पटक निर्वाचनमा होमिएका छन्। कोइराला यस क्षेत्रबाट संविधानसभा निर्वाचन २०६४, २०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भारी मतका साथ विजयी भएका थिए।

चौथोपटक निर्वाचन जित्ने कसरतका साथ उम्मेदवारी दिएका डा कोइरालाको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलरहेका छन्। नवलपुर क्षेत्र नम्बर १ कांग्रेसको सुरक्षित निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने व्यक्ति भएकाले कोइरालाको विकल्प नभएको कांग्रेसको दाबी छ तर, देशव्यापी रुपमा नयाँ नेतृत्वको खोजी भइरहेको बेला र स्थानीय तह निर्वाचन २०७९ मा यस क्षेत्रमा पर्ने अधिकांश पालिकामा एमालेका उम्मेदवार विजयी भएकाले पौडेल विजयी हुने एमालेको दाबी छ।

विसं २०६४ मा डा कोइरालाले १७ हजार ४३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी तत्कालीन माओवादीका ठाकुरप्रसाद चापागाईं थिए। एमाले तेस्रो स्थानमा रहेको थियो। विसं २०७० को निर्वाचनमा कोइराला १८ हजार दुई सय २८ मत ल्याएर दोस्रोपटक विजयी बन्दा एमाले उम्मेदवार दीपक अधिकारी क्षेत्रीले १२ हजार एक सय १० र माओवादीका धनप्रसाद सापकोटाले चार हजार तीन सय १७ मत प्राप्त गरेका थिए।

त्यस्तै २०७४ सालको निर्वाचनमा कोइराला ३६ हजार छ सय ५२ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी तत्कालीन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार तीन सय आठ मत प्राप्त गरेका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसलाई केही सहज देखिन्छ।

नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा बौदीकालीका छ, बुलिङटारका छ, गैँडाकोटका १८, देवचुलीका १७ र कावासोतीका ११ गरी ५८ वडा रहेका छन्। गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रको गैँडाकोट नगरपालिकामा प्रमुख र उपप्रमुख तथा बुलिङटार गाउँपालिका उपाध्यक्षबाहेक सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष एमालेले जितेको छ। अन्ठाउन्न मध्ये ३० वडामा एमालेले वडाध्यक्ष जितेको छ भने कांग्रेसले २७ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेको छ।

नवलपुर क्षेत्र नम्बर १ मा पर्ने ५८ वडामा एमालेका वडाध्यक्षले ४४ हजार सात सय ७७ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षले ४४ हजार एक सय ८८ र माओवादी केन्द्रका वडाध्यक्षले एक हजार नौ सय आठ मत प्राप्त गरेका छन्। माओवादी केन्द्र र कांग्रेस सत्ता गठबन्धनमा रहेका कारण पनि माओवादीको वडाध्यक्षको मत कांग्रेसका उम्मेदवार कोइरालालाई आउने कांग्रेस नेताको दाबी छ।

त्यसैगरी यस क्षेत्रमा एमालेका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३४ हजार चार सय ४७ र कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार ५५० रहेको छ। त्यस्तै कांग्रेसका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३५ हजार एक सय छ र कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार चार सय १०० रहेको छ।

नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेका छन्। यहाँ ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र तेस्रो लिङ्गी एक मतदाताले ५७ मतदान स्थलका एक सय ५३ मतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए।

नवलपुर-१ मा प्रतिनिधिसभातर्फ कोइराला र पौडेलसहित १५ जनाले उम्मेदवारी मनोनयन गराएका छन्। पाँच स्वतन्त्रका साथै जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपालका लागि नेपाली पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसमेत चुनावी मैदानमा छन्। मुख्यतया कोइराला र पौडेलबीच नै चुनावी प्रतिस्पर्धा हुने बताइएको छ।

-रासस

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ११ : ०५ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले