‘रिल’मा नायक, ‘रियल’मा नालायक ! | Khabarhub Khabarhub

‘रिल’मा नायक, ‘रियल’मा नालायक !



काठमाडौं। केही सातायता नायक पल शाह ‘लाइम लाइट’मा छन्। मूलतः म्युजिक भिडियोका ‘सुपर स्टार’ पलको चर्चा कुनै उत्कृष्ट चलचित्रका नायकका रुपमा भइरहेको चाहिँ होइन। न त उनले कुनै ओस्कार पुरस्कार नै पाएका हुन्।

अभिनेता पलको चर्चासँग यतिबेला ‘बलात्कार’को प्रसँग जोडिएको छ। एक नाबालिग गायिकामाथि पलले जर्बजस्ती करणी गरेको आरोपसहितको मुद्दा अहिले अदालतमा विचाराधिन छ।

धेरै तर्क राख्नै पर्दैन, सहमतिमै ‘रिलेसन’ भएको हो भने ‘नाबालिगसँगको शारीरीक सम्पर्क बलात्कार हो’ भन्ने कानुनतः स्पष्ट छ। उजुरीकर्ताको आरोप पुष्टि भए पल जेलमा जाकिन्छन, पुष्टि नभए सफाई पाउँछन्। यसमा अरुले न्यायाधिश हुनुको कुनै तुक छैन। पँक्तिकार यो मुद्दामा बस यत्तिमै पूर्णविराम लगाउँछ।

दर्शकको अनौठो मनोविज्ञान
पक्कै पनि, एउटा नायकको नाम बलात्कार प्रसंगसँग जोडिनु दर्शकले पचाउने विषय होइन। अहिलेसम्म स्थापित नायक या ‘हिरो’को छवी भनेको असल, चरित्रवान, सहयोगी, समाजका खराब व्यक्ति र प्रवृत्तिसँग लडने बहादुर, निडर र शक्तिशाली पात्र हो। विश्व चलचित्र इतिहासले स्थापित गरेको ‘हिरो’को मानक यही हो।

बलिउड र नेपाली चलचित्रमा बलात्कार त खलनायकले मात्र गर्छ। नायकले नायिकालाई बलात्कृत हुनबाट जोगाउँछ र त्यहीबाट नायकको पुरुषार्थपूर्ण कथा अगाडि बढ्छ। नायकको यस्तो छवी दर्शकको मन मुटुमा बसिरहेको बेला एकाएक कुनै नायकको नाम बलात्कार प्रसंगमा जोडिँदा दर्शकलाई पत्यार नलाग्नु स्वाभाविकै हो। प्रचण्डजस्ता ‘महान क्रान्तिकारी नेता’ले लडाकुको राशन घोटाला गरेको कुरा तिनका कार्यकर्ताले नपत्याएझैं।

दर्शक या फ्यानले बुझ्न नसकेको कुरा के हो भने, विश्वामित्र ऋषि त काम वासनाबाट मुक्त हुन नसकी मेनकाको मोहपासमा फसेका थिए भने, बाबा राम रहिम, आशाराम बापु या पल शाह भनेका त मानिस न हुन्। उनीहरुमा काम, क्रोध, लोभ, मोह, राग, द्वेश आदि स्वभाव नहुने भन्ने हुन्छ र ?

दर्शक या जनतामाझ थोपरीएको छवी या व्यक्तित्वको कसीमा को नायक, को खलनायक अनि को नालायक हो, यसको भेद खुटयाउनु त्यति सहज छैन। समाजमा स्थापित छवी एउटा हुन्छ, वास्तविक स्वभाव भिन्न। यसै कारण सत्यतथ्य पत्ता लगाएर निर्णय गर्ने सम्पूर्ण अधिकार कानुन र अदालतसँग हुँदाहुँदै पनि दर्शक, फ्यान र शुभचिन्तकको एउटा पङ्क्ती ‘पल शाह बलात्कारी हुनै सक्दैनन्’ भन्दै प्रदर्शनमा उत्रिएको छ। नायिका पूजा शर्मा त नारी संवेदनासमेत बिर्सिएर ‘पल निर्दोष भएको’ ठोकुवा गर्दैछिन्, मानौं उनी नै न्यायाधीश हुन्।

यो स्वभाविकै हो, दर्शक निजी जीवनको के कुरा नायकलाई चलचित्रमा समेत नकारात्मक भूमिकामा देख्न मन पराउँदैनन्। चलचित्रमा होस् या निजी जीवनमा, नायक भनेको नायक हो, उ खराब हुनै सक्दैन। बस यही मानसिकताका कारण कतिपय दर्शक ‘रियल र रिल’लाई छ्यासमिस पारिदिन्छन्।

भारतका एक धर्म गुरु छन्, राम रहिम। गायक, नायक अनि धार्मिक बाबा राम रहिमले आफ्नो आश्रमको अन्डरग्राउण्डमा पाँचतारे होटलजस्तै क्याबिन बनाएर स्त्रीमाथि यौन शोषण गर्दै आएको खुलासा भयो। तर, फ्यान र उनका चेला चेलीलाई यो पत्यार नै लागेन। राम रहीम बाबा पक्राउ परेपछि फ्यान र चेला चेलीले पुरै सहरमा आगजनी र ढुँगामुढा गरे।

दर्शक या फ्यानले बुझ्न नसकेको कुरा के हो भने, विश्वामित्र ऋषि त काम वासनाबाट मुक्त हुन नसकी मेनकाको मोहपासमा फसेका थिए भने, बाबा राम रहिम, आशाराम बापु या पल शाह भनेका त मानिस न हुन्। उनीहरुमा काम, क्रोध, लोभ, मोह, राग, द्वेश आदि स्वभाव नहुने भन्ने हुन्छ र ?

पर्दामा पो उ नायक हो, अभिनयको हकमा असल चरित्र निर्वाह गर्ला। तर, निजी चरित्र, स्वभाव या गुण उसमा नायकैजस्तो नहुन सक्छ। पर्दाको नायक वास्तविक जीवनमा खलनायक पनि त हुनसक्छ। द्वैध व्यक्तित्व वा चरित्र बोकेका पात्रहरु समाजमा अनेक हुन्छन्, जो सार्वजकि रुपमा लोकप्रिय छ, तर भित्री रुपमा उ एक अपराधी हुन्छ।

एक नाबालिक गायिकाले आफ्नो अस्मिता, इज्जत र भविष्यसमेत दाउमा राखेर ‘आफूमाथि बलात्कार भएको’ भन्दै उजुरी हालेकी छिन्। यो मुद्दामा पलको नेम, फेम र फ्यान शक्तिको दुरुपयोग हुनु हुँदैन, जसले निष्पक्ष छानबिन र कानुनी कार्वाहीमा प्रभाव नपारोस्।

कुनै चर्चित व्यक्तिको फेम कुनै समय उसका कमजोरी या अपराध ढाकछोप गर्ने साधन बनिदिन्छ। शाहरुख खानका छोरा आर्यनको हकमा पनि यस्तै देखियो। लागू औषध उपभोग र कारोबार मुद्दामा उनी पक्राउ परेपछि बलिउडका धेरै कलाकार शाहरुखलाई सहानुभूति दिन लाम लागे। मानौं, आर्यन निर्दोष हुन् र उनीमाथि षडयन्त्र भएको हो भन्ने भावमा शाहरुखलाई सान्त्वना दिनेहरुको भीड लाग्यो।

धेरै कम कलाकारले मात्र ‘शाहरुखको छोरा भए पनि आर्यन दोषी हो भने कार्वाही होस्’ भन्ने आवाज उठाएका थिए। शाहरुखको फेमले यसमा भाँजो नहालोस् भन्ने अधिकांशको मत थियो। सामाजिक संजाल र आम नागरिकको बलियो मत भएकाले शाहरुखको छोरा हुँदैमा आर्यनले उन्मुक्ती पाएनन्, अहिले पनि उनको मुद्दा चलिरहेको छ।

सलमान खानको कालो हरिण शिकार मुद्दा होस् या संजय दत्तको एके–४७ मुद्दा, उनीहरु उम्किन सकेनन्। तर, कतिपय अन्ध समर्थक दर्शक चाहिँ सलमान या संजयलाई निर्दोष नै ठानिरहेका थिए। किनकी, उनीहरुलाई लाग्छ, सलमान र संजयजस्तो चलचित्रको असल नायकले त्यस्तो गलत काम गर्नै सक्दैन, उनीहरुलाई त फसाइएको हो।

पल शाह नायक हुन्, म्यूजिक भिडियोका सुपर स्टार हुन्। उनले चलचित्र र मनोरंजनका क्षेत्रमा पुर्याएको योगदानको इतिहास अवश्य लेखिएला। उनको गोरो मुहार तारिफ लायक छ। बोलीचाली पनि हार्दिकतापूर्ण नै छ। दामी नाच्छन्, कम्मर हल्लाई उम्दा छ। कोरोनाले मन्दी छाएको मनोरंजन उद्योगलाई उनको म्युजिक भिडियो फेमले टेवा दिएकै हो।

यो बेग्लै आयाम हो। उनको निजी जिन्दगीको पाटोलाई उनको फेमसँग छयासमिस् पार्न मिल्दैन। कानुनका दृष्टिमा उनी अहिले आरोपित हुन्। एक नाबालिक गायिकाले आफ्नो अस्मिता, इज्जत र भविष्यसमेत दाउमा राखेर ‘आफूमाथि बलात्कार भएको’ भन्दै उजुरी हालेकी छिन्। यो मुद्दामा पलको नेम, फेम र फ्यान शक्तिको दुरुपयोग हुनु हुँदैन, जसले निष्पक्ष छानबिन र कानुनी कार्वाहीमा प्रभाव नपारोस्।

‘हिरो’ हुन नसकेका नायक
हलीउडमा ‘हिरो’ हुन्छन्, हामीकहाँ नायक। ब्रुस लीदेखि रबिन हुडसम्म, स्पाइडर म्यानदेखि सुपर म्यानसम्मका अवधारणा मुख्य पात्रलाई सर्वशक्तिशाली बनाउनकै लागि प्रयोगमा आएका हुन्। जेम्स बोण्डका श्रृंखला अहिले पनि बनिरहेकै छन्।

अभिनेता चकनरीसका ‘मिसिङ एन एक्सन’मार्का चलचित्र हेरौं, जसमा सयौं चिनियाँ र जापानी सेनाको ब्यारेक हिरोले एक्लै ध्वस्त पार्छ र बन्दी बनाइएका अमेरिकी सेनालाई मुक्त गरिदिन्छ। अभिनेता सिल्भरस्टार स्टेलनका ‘र्याम्बो’ श्रृंखला हेरौं, जसमा राज्यको सेनासँग र्याम्बो एक्लै भिडिरहेका हुन्छन् र सेनालाई हायलकायल पारिरहेका हुन्छन्।

हलिउडका चलचित्रमा अचेल साइन्स फिक्सन, एडभेन्चर, महाप्रलय मेटाफोर र मोन्स्टर या एलीयन आक्रमण आदि विषयवस्तु बढी देख्न पाइन्छ। यस्ता चलचित्रमा कुनै एस्टोरोयड, विशाल दैत्य, खुंखार जनावर या नकारात्मक शक्तिबाट पृथ्वी या कुनै सहरमा गम्भीर संकट उत्पन्न भएको देखाइन्छ।

जब निशानले रेस्टुरेन्टमा हुबहु ‘तुझे देखा तो यह जाना सनम’ गाए, तिब्बतीहरुलाई लाग्यो, यो पनि शाहरुख खान र सलमान खानजस्तै रहेछ, उनीहरुले जस्तै गायो। अनि त शाहरुख र सलमानप्रति झैं उनीहरु निशानप्रति पनि फिदा भएका थिए रे !

जस्तै परलोकबाट एलीयन आएर पृथ्वीमा हमला गरिदिन्छन्। गोडजिल्ला, डायनोसर, किंगकङ या यस्तै कुनै भयानक प्राणीले सहरमा नरसंहार मच्चाउन थाल्छ। संकट या प्रलयका रुपक (मेटाफोर) अनेक हुन सक्छन्। पुरै चलचित्रको उत्तरार्धसम्म मानिस गम्भीर संकटमा फँसेको देखाइन्छ। अन्तमा ‘हिरो’ले यस्तो उपाय लगाउँछ कि उसले सँकटबाट पृथ्वी या सम्बन्धित सहरका मानिसलाई बचाउँछ।

यो हिरो जेम्स बोण्ड पनि हुनसक्छ, सुपर म्यान या स्पाइडर म्यान पनि हुनसक्छ या चकनरीस र रबिनहुडजस्तो वीर, साहसी र शक्तिशाली पनि हुनसक्छ। हलीउडमा स्थापित भेण्डम, आर्नोल्ड स्वेत्जर, ज्याकी चेन, टम क्रुज, रोबर्ट डाउनी जुनीयर, ड्वाने जोन्सन द रक, क्रिस होम्सवर्थ, भिन डिजल, जेसम स्थेतम, वील स्मीथ, जोनी डेम, लियानार्दो डिक्याप्रियो आदि अभिनेताहरुले ‘हिरो’को यही मानक स्थापित गरेका छन्।

बलिउड र नेपाली चलचित्रमा चाहिँ ‘हिरो’ खासै देखिदैनन्। हामीकहाँ ‘एंग्री योङ म्यान’को अवधारणा हावी छ। चकलेटी नायक जो प्रेममा माहिर छ। प्रेमिकासँग मिलन हुन नपाएपछि उ विद्रोहमा उत्रन्छ र दुई चार जना गुन्डा मारेर उसले वीरता प्रदर्शन गर्छ।
बलीउड र नेपाली चलचित्रको ‘हिरो’ले गर्ने बहादुरी भनेको दर्जनौं गुण्डासँग एक्लै फाइट गर्नु हो। चारैतिरबाट गोली बर्सिरहेको हुन्छ, तर उसलाई लाग्दैन। तर, उसले ताकेको पेस्तोलको गोलीले दर्जनौं खलपात्रहरु लड्छन्। यो संयोग न हो, नायकको बहादुरी त यसमा देखिएन।

हलिउडका ‘हिरो’ र हाम्रोतिरका ‘नायक’बिच यही फरक छ। दक्षिण एसियाली चलचित्रका नायक बढीमा ‘बाहुबली’सम्म हुनसक्छन्, जो पहाडजत्रो पत्थर एक्लै उठाउनसक्छ।

ग्ल्यामर क्षेत्रमा सबथोक जायज हुन्छ भन्ने मानसिकता राखेर यदि विषय बासनामा भटकिने हो भने उसले अहिले पल शाहले भोगिरहेको नियती भोग्नुपर्नेछ।

‘हिरोपन्थी’को टाइगर श्राफसम्म हुनसक्छन्, जसलाई चारैतिरबाट हेलिकोप्टरले बम र गोली बर्साउँदा पनि लाग्दैन। दर्जनौ गोली लागेर आइसीयूमा पुगेको नायक उसकी आमाले भगवान शिवजीको आराधना गर्नासाथ जीवित हुन्छ। भगवान भरोसे नायक।

‘मिस्टर इन्डीया’को अनिल कपुर, जो अदृश्य हुनसक्ने विशेषताले ‘हिरो’ कहलिन्छन्। अथवा यिनै अनिल कपुर जो एक दिनको मुख्यमन्त्री हुनेजस्तो असंभव कथानकका आधारमा ‘नायक’ कहलिन्छन्। ‘दबंग’का सलमान खान, ‘सिंघम’का अजय देवगन, ‘गजनी’का आमिर खान, ‘डन’का शाहरुख खान आदि पनि ‘हिरो’ बन्न सकेका छैनन्, उनीहरु अहिले पनि ‘नायक’कै सीमाभित्र रमाइरहेका छन्, नाम र दाम कमाइरहेका छन्।
हलिउडमा झैं नायकले प्राविधिक, तर्कसंगत र चातुर्यपूर्ण हिसाबले खलनायकमाथि विजय पाएको देखाइदैन। हाम्रोतिरको नायकले सुरुमा धेरै दुःख पाउँछ। कुटाइ खान्छ। मानौं उ निरिह र कमजोर छ। अन्तमा उसमा मानौं हनुमान जाग्छ, एक्लै दुश्मनका अखाडामा जान्छ।

अब निर्देशकको चलाखी हेरौं। नायक चारैतिरबाट हतियारले सुसज्जीत दर्जनौं खलपात्रबाट घेरिएको हुन्छ। उसले अब एक्लै उनीहरुसँग भिडनु छ। कसरी उ भिड्यो, त्यो देखाइदैन, बस एकैपटक दृश्यमा आउँछ, नायकले उनीहरु सबैलाई एक चिहान बनाइसक्यो।

यहाँ खास द्वन्द्व देखाइदैन, एकैपटक नायकले जितेको परिणाम देखाइन्छ। यो सहज उपाय हो, एक्लै दर्जनौं खलपात्रलाई सिध्याउन त सोही अनुसारको तिकडम देखाउनुपर्ने हुन्छ, जसमा अझै पनि बलिउड र नेपाली चलचित्र कमजोर छ। हामीकहाँ ‘हिरो’को इन्ट्री अझै हुन सकेको छैन।

हलिउडका हिरोहरुलाई चलचित्रमा नाच्ने, गाउने, कमेडी गर्ने फुर्सद हुँदैन। बलिउडका नायकहरु नाच्न सिपालु, गाउन सिपालु, हसाँउन सिपालु। धेरै दर्शकलाई लाग्छ, चलचित्रमा शाहरुख खान आफैले गाएका हुन्, पाश्र्व गायकले होइन।

तिस र चालिसको दशकमा दरबार मार्गको अमर रेस्टुरेन्टमा गजल मेहफील जमाउने गायक निशान भट्टराई (हाल दिवंगत) पचासको दशकमा तिब्बतको ल्हासाको एक गजल रेस्टुरेन्टमा गाउने गर्थे। निशानले पंक्तिकारलाई बताए अनुसार तिब्बतीहरु आफ्नै भाषामा शब टाइटल राखिएको हिन्दी चलचित्र खुब हेर्दारहेछन्। हिन्दी गीत खुबै सुन्दा रहेछन्। उनीहरुलाई लाग्दोरहेछ, चलचित्रमा शाहरुख र सलमानले नै त्यो गीत गाएका हुन्। गायक उदीत नारायण या कुमार सानुका बारेमा उनीहरुलाई थाहै रहेनछ।

जब निशानले रेस्टुरेन्टमा हुबहु ‘तुझे देखा तो यह जाना सनम’ गाए, तिब्बतीहरुलाई लाग्यो, यो पनि शाहरुख खान र सलमान खानजस्तै रहेछ, उनीहरुले जस्तै गायो। अनि त शाहरुख र सलमानप्रति झैं उनीहरु निशानप्रति पनि फिदा भएका थिए रे !
हामीकहाँ नायक या ‘हिरो’को मानकभित्र नाच्नु, गाउनु, फाइट गर्नु र अन्तिममा सपरिवार फोटो शेसन गरेर दर्शकलाई मख्ख पारी हलबाट बिदा गर्नुमै सीमित छ। यसले लामो समयदेखि नायक भन्नासाथ दर्शकमा एक असल, इमानदार, नाच्न, गाउन, हँसाउनसक्ने, गुण्डालाई एक किकमै ढाल्नसक्ने र नायिकालाई बलात्कार हुनबाट बचाउने पात्रको छवी गडेको छ।

नायिकामाथि बलात्कार हुँदैछ भने दर्शक अनुमान लगाइहाल्छन्, अब आकाशतिरबाट उड्दै नायकको ‘इन्ट्री’ भइहाल्छ, बलात्कारीको मुखमै एक पन्च लगाउँछ र ताली र सीटी बजाउन पाइन्छ। नभन्दै त्यस्तै देखाइन्छ। अतः हाम्रो तिरको ‘हिरो’को हालसम्म प्रचलित, प्रख्यात र पपुलर भूमिका भनेको नायिकालाई बलात्कृत हुनबाट बचाउनु हो।

सयौं चलचित्रमा यही संवाद हुन्छ–
‘कुन मुखले शुक्रीया (धन्यवाद) भनुँ, तपाईंले मेरो इज्जत बचाउनु भो’, नायिका। ‘हैन, यो त मेरो कर्तव्य हो, हरेक नारीको इज्जत जोगाउनु मेरो दायित्व हो, अबदेखि सम्हालीएर हिँडनु होला’, नायक भन्छ।

यहाँबाटै नायक र नायिकाको प्रेमको अंकुरण हुन्छ। कथा अगाडि बढछ। नायिकालाई हरेक चलचित्रमा बलात्कृत हुनबाट जोगाउने यस्तो नायकले रिल लाइफमा बलात्कार गर्ला त ?

‘कुन मुखले धन्यवाद भनुँ, तपाईंले मेरो इज्जत बचाउनु भो’, नायिका। ‘हैन, यो त मेरो कर्तव्य हो, हरेक नारीको इज्जत जोगाउनु मेरो दायित्व हो, अबदेखि सम्हालीएर हिँडनु होला’, नायक भन्छ।

‘अहँ हुनै सक्दैन, पल शाह निर्दोष छन्’, कतिपय दर्शक अहिले यसै भनिरहेका छन्, जुन उनीहरुमाथि चलचित्रले निर्माण गरेको भ्रामक मनोविज्ञान हो।

नायकको ‘खलनायकी’
नायिकालाई बलात्कृत हुनबाट जोगाउने असल चरित्रवान नायकबाट दर्शक र प्रशंसक वास्तविक जीवनमा मात्र होइन, चलचित्रमा समेत ‘खलनायक’ भूमिका ग्रहण गर्दैनन्। यसैले त बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी अभिनित चलचित्र ‘मन्टो’ र ‘रमन राघव’ले दर्शकबाट राम्रो ‘रेस्पोन्स’ पाएन।

‘बितेका चालिस–पचास वर्षदेखि हामीले नायकलाई असल देखाउँदै आयौं। दर्शक नायकलाई खराब भूमिकामा हेर्न सक्दैनन्। दर्शक नायकमा खलनायकी हेर्न तयार छैनन्। तर, ठूलो पर्दामा नायकको केवल खराब चरित्रमाथि प्रकाश पारियो भने बक्स अफिसमा नकारात्मक असर पर्छ’, अभिनेता सिद्दीकीले भनेका थिए।

बलिउडका नायकहरुले सायद नवाजुद्दीनको अनुभवबाट पाठ सिकेनन् की, पछिल्ला दिनमा एक से एक सुपरस्टार ‘निगेटिभ’ भूमिका देखिदैछन्। प्रर्दशोन्मुख चलचित्र ‘बच्चन पाण्डे’मा अक्षय कुमार ‘ग्रे शेड’वाला खतरनाक खलनायकको भूमिकामा देखिदैछन्। अक्षय मात्र होइन, प्रायः सकारात्मक भूमिकामा पर्दामा देखिने अन्य केही नायक ‘नायक विपरीत’ भूमिकामा देखा पर्दैछन्।

हलिउड हिरोको बढ्दो लोकप्रियताका कारण भारत र नेपालमा बन्ने रोमान्टिक चलचित्रले दर्शकलाई खासै आकर्षित गर्न सकेको छैन। ठूला नायकका रोमान्टिक चलचित्र बक्स अफिसमा डब्बामा परिणत भइरहेका छन्। हलिउडका हिरोहरुलाई जेम्स क्यामरुन र क्रिस्टोफर नोलानजस्ता निर्देशकले चन्द्रमा, मंगल मात्र होइन, ‘अवतार’को काल्पनिक ग्रह ‘पान्डोरा’सम्म पुर्याइसके, हाम्रा सुदर्शन थापाहरु चाहिँ अझै पनि नायकलाई ‘म यस्तो गीत गाउँछु’को रुवाबासी गराइरहेका छन्। बलिउडका करण जौहरहरु अझै पनि ‘शादी बारात’मै अल्झिरहेका छन्।

उही घिसापिटा भूमिकाका चकलेटी हिरो, एकाध फाइट र नाचगानवाला दृश्य हेर्दा हेर्दा वाक्क भएका दर्शकमाझ नयाँ स्वाद पस्किन होला, बलिउड नायकहरु अब ‘एन्टी–हिरो’ भूमिकामार्फत दर्शकको मन जित्ने ताकमा छन्।

अक्षय कुमारजस्तै देशभक्तीपूर्ण चलचित्रका नायक जोन अब्राहम पनि अब खलनायक हुँदैछन्। ‘सत्यमेव जयते’, ‘बाटला हाउस’, ‘परमाणु’ र ‘फोर्स’जस्ता देशभक्तीपूर्ण चलचित्रका नायक अब्राहमलाई अब शाहरुख खानको ‘पठान’मा नकारात्मक भूमिकामा देख्न पाइनेछ।

यो होडमा सुपरस्टार रितिक रोशन पनि के कम ? तमिल चलचित्र ‘विक्रम वेधा’को हिन्दी रिमेकमा उनी खलनायकका रुपमा देखा पर्र्दैछन्। यसैगरी ‘सिलियल किसर’ उपनामले प्रख्यात इमरान हाशमी पनि एक पटक पुनः सलमान खानको चलचित्र ‘टाइगर–३’मा भिलेनको भूमिकामा देखिनेछन्।

हुन त चलचित्र उद्योगमा सुरुमा जुनसुकै कलाकार आउने भनेको ‘हिरो’ बन्नकै लागि हो। भिज्दै जाँदा उ विस्तारै खलनायकमा फिट भइदिन्छ। चलचित्र उद्योगमा नायक भएर मात्र स्थापित हुन सकिन्छ भन्ने होइन। खलनायक यस्ता पनि छन्, जो नायकभन्दा बढी चर्चित र स्थापित छन्।

प्राणदेखि प्रेम चोपडासम्म, अमरीश पुरीदेखि अमजद खानसम्म, शक्ति कपुरदेखि गुलशन ग्रोभरसम्म, रजा मुराददेखि कुलभुषण खरबन्दासम्म, रंजीतदेखि अजीतसम्मका खलनायकले हिन्दी चलचित्रमा यस्तो छाप छाडेका छन्, जो सदा स्मरणीय छन्। ‘सोले’का गब्बर सिंह या ‘मिस्टर इन्डिया’का मुग्याम्बोलाई दर्शकले कहाँ भुल्न सक्छन् र ? नेपाली चलचित्रमा पनि नीर शाह, सुनील थापा, टिका पहारीजस्ता अभिनेताको खल भूमिका बेजोड छ। चलचित्र ‘चिनो’को ‘राते काँइला’को भूमिका सुनील थापाको पहिचान नै बनेको छ।

हिन्दी चलचित्र ‘मेरा गावँ, मेरा देश’मा विनोद खन्नाले डाँकु जब्बर सिंहको नकारात्मक भूमिका निर्वाह गरेका छन्, जसले धर्मेन्द्रको नायक भूमिकालाई नै ओझेलमा पारिदिएको छ। शाहरुख खानले आफ्ना प्रारम्भिक चलचित्र ‘बाजीगर’ र ‘डर’मा शे ग्रेडमार्का नकारात्मक भूमिका नै निर्वाह गरेका छन्, तर यही नकारात्मक भूमिकाले कालान्तरमा उनलाई बलिउडको ‘किङ खान’ बनाइदियो।
संजय दत्तको ‘खलनायक’मा बल्लूको भूमिका नकारात्मक छ। चलचित्र ‘आँखे’मा अमिताभ बच्चन, ‘धूम’मा जोन अब्राहम, ‘अजनबी’मा अक्षयकुमार, ‘खाकी’मा अजय देवगण, ‘एक भिलेन’मा रितेश देशमुख, ‘मर्डर’मा इमरान हासमी, ‘पद्यमावत’मा रणवीर सिहले नकारात्मक भूमिका निर्वाह गरेका छन्, जसले दर्शकमाझ अमीट छाप छाडेका छन्।

घिसापिटा रोमान्टिक भूमिकाबाट अलग रही बेजोड खलनायकका रुपमा पर्दामा देखा पर्न लागेका नायकहरुको नयाँ शैली दर्शकलाई मन पर्ला या नवाजुद्दीन सिद्दिकीकै नियती भोग्नुपर्ला, त्यो भने आगामी दिनमा देखिनेछ।

रियलमा खलनायक कोही नहोस्
नायक होस् या खलनायक, सच्चा अभिनेता उही हो, जसले जुनसुकै भूमिका सशक्त ढंगले निर्वाह गर्नसक्छ। ‘सुपर स्टार’ हुनु र ‘एक्टर’ हुनुमा यही फरक छ। बलिउडमा नाना पाटेकर, नरिरुद्दीन शाह, ओम पुरी, फारुक सेख, अमोल पाटेकर, इरफान खान, नवाजुद्दीन सिद्धिकी यस्ता एक्टर हुन्, जो जुनसुकै भूमिकामा बेजोड अभिनय गर्न सक्छन्।

नेपालमा हरिहर शर्मा, नीर शाह, सुनील पोखरेल, दयाहाङ राई, सौगात मल्ल, बुद्धी तामाङ, दिपकराज गिरी, शुरवीर पण्डित आदि केही अभिनेता छन्, जो जस्तोसुकै भूमिकामा न्याय गर्न सक्छन्। सकारात्मक या नकारात्मक, दुबै भूमिकामा फिट।

पक्कै, चलचित्रको खलनायकलाई वाहीरी दुनियाँमा खासै मन पराइदैन। अमरीस पुरी, शक्ति कपुर र गुलसन ग्रोभरले धेरै ठाउँहरुमा दर्शकको जुत्ता र टमाटर प्रहार सहेका छन्। महाभारतका दुर्योधन पुनीत इस्सरलाई धेरै ठाउँमा लखेटिएको छ। चलचित्रको खलनायक छवीका कारण दर्शकमाझ प्रत्यक्ष प्रकट हुँदा उनलाई खलनायक नै ठान्ने जमात ठूलो छ, जुन उनको अभिनयको सफलता पनि हो। उता, रामायणका राम (अरुण गोबिल) र सीता (दिपीका) मंचहरुमा उपस्थित हुँदा राम र सीता नै ठानेर फूल र दक्षिण दिएका घटनाले दर्शकको मनोविज्ञान बुझ्न सकिन्छ।

चलचित्र उद्योगमा सुरुमा जुनसुकै कलाकार आउने भनेको ‘हिरो’ बन्नकै लागि हो। भिज्दै जाँदा उ विस्तारै खलनायकमा फिट भइदिन्छ। चलचित्र उद्योगमा नायक भएर मात्र स्थापित हुन सकिन्छ भन्ने होइन। खलनायक यस्ता पनि छन्, जो नायकभन्दा बढी चर्चित र स्थापित छन्।

फरक यत्ति हो, चलचित्रको खलनायक चलचित्रमै मर्छ। नायकले उसलाई पर्दामै समाप्त गर्छ या जेल पठाउँछ। त्यसैले उ चलचित्रबाट निस्कीएर समाजमा आउनै पाउँदैन। तर, नायक भने रियल लाइफमा पनि नायककै रुपमा स्थापित हुन्छ। चलचित्रको नायकलाई वास्तविक जीवनमा पनि दर्शकले नायक नै ठान्ने भएकाले उसले चलचित्रमा मात्र होइन, निजी जीवनमा पनि नायकीपन बरकरार राख्नुपर्छ।

हो, नायकको भूमिका चलचित्रमा मात्र होइन, समाजमा पनि उत्तिकै हुन्छ। नायकलाई दर्शकले आदर्श मानेका हुन्छन्। उसको लवाई, खवाई, आचरण र शैली पछयाइरहेका हुन्छन्। बब मार्लेले गाँजा खाएर गाएकाले धेरै रेग्गी गायकहरु गँजडी भए। नारायण गोपालले मदिरा पिएर गाएका थिए भन्दै धेरै गायक मदिराको कुलतमा फसे र फसिरहेकै छन्। हरिभक्त कटवालले मदिरा पिएरै कविता लेखेकाले हाम्रा कतिपय कवि पनि मात्न पछि पर्दैनन्।

सारा जगत र अस्तीत्वलाई समभावका साथ विराट प्रेम गरौं। तर, वासनामा निर्लिप्त भएर कलिलो, राम्रो, स्वादीलो छान्दै अनेकसँग अनैतिक हिसाबले सम्बन्ध राख्ने काम नगरौं। चलचित्रमा नायक बनौं, खलनायक बनौं, तर निजी जीवनमा नायक मात्र बनौं, खलनायक नबनौं। समाजका लागि नालायक नबनौं।

चलचित्रको नायक वास्तविक जीवनमा पनि नायक नै बन्नुपर्छ। सार्वजनिक जीवन बिताउनेहरुले आफूलाई असल, चरित्रवान र नैतिक मूल्यमा हिंडाउनैपर्छ। ग्ल्यामर क्षेत्रमा सबथोक जायज हुन्छ भन्ने मानसिकता राखेर यदि विषय बासनामा भटकिने हो भने उसले अहिले पल शाहले भोगिरहेको नियती भोग्नुपर्नेछ।

चलचित्रमा नायक बनौं, खलनायक बनौं, हास्य नायक बनौं, तर नालायक नबनौं। चलचित्रमा रोमान्स गरौं, निजी जीवनमा पनि उमेर पुगेकीसँग सहमतिमा साँचो प्रेमका साथ रोमान्स गरौं। सकिन्छ, एकसँग प्रेम गरौं, सकिदैन अनन्तसँग प्रेम गरौँ। सारा जगत र अस्तीत्वलाई समभावका साथ विराट प्रेम गरौं। तर, वासनामा निर्लिप्त भएर कलिलो, राम्रो, स्वादीलो छान्दै अनेकसँग अनैतिक हिसाबले सम्बन्ध राख्ने काम नगरौं। चलचित्रमा नायक बनौं, खलनायक बनौं, तर निजी जीवनमा नायक मात्र बनौं, खलनायक नबनौं। समाजका लागि नालायक नबनौं।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ४४ बजे

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । दमक

बाढीपीडितलाई रोशी गाउँपालिकाको सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट

सवारी दुर्घटनामा एकजनाको मृत्यु

डोटी– शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको

नेसन्स कप : विपक्षीको पोस्टमा जर्मनीले गर्‍यो सात गोल

काठमाडौँ – युरोपेली नेसन्स कप अन्तरगत शनिबार भएको भएको समूह