निर्वाचनको मुखमा भारत गइरहेका नेपाली भन्छन्- हाम्रो परिवार कसले पाल्ने ? | Khabarhub Khabarhub

निर्वाचनको मुखमा भारत गइरहेका नेपाली भन्छन्- हाम्रो परिवार कसले पाल्ने ?


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- स्थानीय तह निर्वाचन आउन अब नौ दिन बाँकी छ । तर, मंगलबार बेलुका गौरिफण्टा नाकामा भारत जाने नेपाली लामबद्ध थिए । देश चुनावमय भइरहेका बेला भारत गइरहेका उनीहरूलाई भारत जाने रहर भने हैन, घरमा ऋणको भार थपिनु र स्वदेशमा रोजगारीको सुनिश्चितता नहुँदा चुनावको मुखमा पनि भारत जानुपर्ने उनीहरूको बाध्यता हो ।

‘गाउँघरमा चुनाव लागेको छ,’ अछामको तुर्माखाँद गाउँपलिका–२ का विशाल रावलले भने, ‘तर हामीलाई ऋणले च्यापेको छ । घरमा बसेर परिवार पाल्न नसकिने देखिएपछि बाध्य भएर भारत जानुपरेको हो ।’

नेता र उनीहरूकाे पछि लागेर फाइदा लिनेलाई मात्र चुनाव लागेको उनी भन्छन् । ‘घरघरमा नेता आएर चुनावमा सहयोग गर्नुपर्छ भन्दै थिए,’  रावलले भने, ‘हाम्रो परिवार कसले पाल्छ भन्दा कसैले भरोसा दिन सकेनन्, जनताको गाँसबासको सुनिश्चितता गर्न नसक्ने उम्मेदवारलाई भोट दिनुको औचित्य नै देखिएन । यो चुनाव नेता र आसेपासेका लागि मात्रै आएको हो ।’

सोही ठाउँका हिमाल रावल नयाँ वर्ष मनाउन भारतको दिल्लीबाट घर फर्केका थिए । चुनावको मुखैमा उनी फेरि रोजगारीका लागि भारत नै फर्केका छन् । भारतबाट कमाएर ल्याएको पैसा घरमा परेको ऋण तिर्नमै ठिक भएको भन्दै उनले छोराछोरीलाई स्कुल पढाउन समस्या हुने देखिएपछि पुनः भारत हिँडेको बताए । ‘आफूले पढ्न नसकेपछि छोराछोरीलाई पढाउने रहर छ,’ उनले भने, ‘नयाँ भर्नाको समय आउँदा आफूसँग पैसा नभएपछि कामको खोजीमा भारत गइरहेको छु ।’ 

चुनावका बेला मात्रै नेताहरू आफ्ना हुने गरेको भन्दै उनले भने, ‘चुनावपछि कसैले हामीलाई चिन्दैनन् । चुनावमा गाउँ बस्नुभन्दा दुई चार पैसा कमाउन सकिन्छ भनेर भारत जाँदै छु ।’ नयाँ वर्ष मनाउन चैत अन्तिम साता नेपाल आएका उनी एक महिना पनि घरमा बसेर पुनः भारत तर्फ फर्कन लागेका हुन् ।

आफु भारत हुँदा घर खर्च चलाउन परिवारले गाउँमा निकालेको ऋण तिर्नमै सकियाे ल्याएको पैसा,’ उनले भने, ‘बचेको पैसा नयाँ वर्ष मनाउनमै सकियो, लामो समय घरमा बस्दा फेरि ऋण पर्ने भएपछि भारत फर्केको हुँ ।’

यसअघि निर्वाचनको समयमा नेताहरुले थुप्रै आश्वास दिए पनि जनताकाे जीवनमा परिवर्तन नआएकाे हिमालले बताए । ‘२०७४ को निर्वाचनमा स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने एजेण्डा सबै उम्मेदवारको प्राथमिकतामा थियो,’ उनले भने,  ‘तर पाँच वर्षसम्म गाउँमा कुनै रोजगारीका अवसर सृजना भएन । अहिले पनि उम्मेदवार त्यही नारा लिएर गाउँ आइरहेका छन्, अब पत्याउँन सकिएन ।’

भारत जान लागेका बझाङको छबिस पाथिभेरा गाउँपालिका-३ का नवराज जोशीले अघिल्लो स्थानीय तहको निर्वाचनमा उत्साहका साथ उम्मेदवारको पछि लागेको बताए । ‘गाउँगाउँमा विकासको लहर ल्याउँछौं, भारत जानुपर्ने बाध्यताको अन्त्य गछौं, नि:शुल्क शिक्षा प्रदान गछौं, डाक्टरसहितको स्वास्थ्य चौकी बनाउँछौं भन्दै अघिल्लो चुनावमा नेताहरूले नारा लगाएका थिए,’ जोशीले भने, ‘ती नारा चुनावपछि हराए । त्यसैले यस पटकको चुनावप्रति कुनै उत्साह जागेन । गाउँमा हल्लिएर बस्नुभन्दा भारततर्फ जान ठिक लाग्यो ।’

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : २४ बजे

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा