पहिरोले खोटाङमा नौ घर विस्थापित, २३ घर उच्च जोखिममा | Khabarhub Khabarhub

पहिरोले खोटाङमा नौ घर विस्थापित, २३ घर उच्च जोखिममा


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौ घर विस्थापित भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका छ, केपिलासगढी गाउँपालिकाका दुई र रावाबेँसी गाउँपालिकाका एक घर विस्थापित भएका हुन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका जीतबहादुर राई, भीमबहादुर राई, कर्णबहादुर राई, रामीरा राई, शारदा राई र धनकुमार विश्वकर्माको परिवार विस्थापित भएका छन् । वर्षाका कारण जमिन फाटेर गाउँ नै चिरा–चिरा परेपछि घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

बस्ती भएको जमिन चिरा परेपछि स्थानीय साउधन राई, पुरीमाया राई, पर्शुराम राई, बलराम राई र युवराज श्रेष्ठको घर उच्च जोखिममा परेको जनाइएको छ । जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सर्न तथा उच्च सतर्कता अपनाउन आग्रह गरिएको वडाध्यक्ष दानबहादुर राईले बताए ।

घर भएको जमिन फाटेर पहिरोले बगाउने खतरा भएपछि विस्थापितलाई हुर्लुङ–जालपा–फेदी सडक छेउको खेतमा प्लास्टिकको टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष राईले बताए । ‘विस्थापितमध्ये जीतबहादुर, भीमबहादुर, कर्णबहादुर र रामीरा राईको घर अन्तै सार्नुपर्ने अवस्था देखिएको छ”, उनले, “यसप्रति सम्बन्धित निकायले चासो दिन जरुरी छ ।’

वडा कार्यालय र टोल विकास संस्था साबालुङको पहलमा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको जनाइएको छ । पहिरोबाट विस्थापितमध्ये एकल महिला रामीरा र अभिभावकविहीन शारदाको अवस्था नाजुक छ ।

घटनाका विषयमा जानकारी आउनासाथ स्थानीय प्रहरीलाई घटनास्थलमा पठाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिए । ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ’, उनले भने, ‘विस्थापित परिवारको उद्धार तथा राहत वितरणका लागि पहल भइरहेको छ ।’

उता, रावाबेँसी गाउँपालिका–६ हौँचुरका भैरवबहादुर राईको परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई स्थानीय वर्णबहादुर राईको घरमा सारिएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए।

पहिरोका कारण स्थानीय हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राई उच्च जोखिममा परेका छन् । चित्रबहादुर र शुक्रराजको घरभन्दा मुनिबाट सुरु भएको पहिरोले लाखौँको अन्नबाली क्षति गरेको जनाइएको छ ।

यस्तै, पहिरोका कारण केपिलासगढी गाउँपालिका–१ फेदीमा दुई घर विस्थापित भएका छन् भने आठ घर जोखिममा परेका छन् । पहिरोका कारण स्थानीय नवीन राई र बडमणि राईको परिवार विस्थापित भएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए ।

तपसी–दामलुङ ग्रामीण सडकको नयाँ ट्रयाकबाट पहिरो जाँदा दुई घर विस्थापित हुनुका साथै आठ घर उच्च जोखिममा परेको जनाइएको छ । पहिरोले घर जोखिममा परेपछि समाक्षमा राई, लाखमणि राई, रत्नमणि राई, मतिराज राई, इन्द्रमणि राई, धनकुमार राईको परिवारलाई तपसी डाँडामा सार्ने तयारी गरिएको छ ।

फेदीमा गएको पहिरोले तीन गोठ बगाउँदा समाक्षमा राईको एउटा दुहुनो भैँसी मारिएको छ भने, एउटा थोरे भैँसीको खुट्टा भाँचिएको छ । एउटा पाडो र गाईलाई पहिरोबाट सकुशल उद्धार गरेर निकालिएको प्रहरीले जनाएको छ ।

जिल्लामा लगातार वर्षा भइरहेकाले बाढी र पहिरोको क्षतिबारे यकिन तथ्याङ्क आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय खोटाङका सूचना अधिकारी पवित्रप्रकाश साहले जानकारी दिए । बाढी र पहिरोको क्षतिको विवरण सङ्कलन गर्न प्रशासनमा हटलाइन सेवासमेत सञ्चालनमा ल्याइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जिल्लामा मनसुन सुरु भएसँगै विपद् पूर्व तथा प्रतिकार्य योजना बनाएको छ । मनसुनको समयमा जिल्लामा पर्न सक्ने विपद् प्रभावितको खोज, उद्धार तथा राहत वितरणलाई तत्काल सहजीकरण गर्नका लागि विपद् पूर्व तथा प्रतिकार्य योजना बनाइएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ५५ बजे

युक्रेनमा युद्धविराम थाति राख्दै रुससँग सम्बन्ध सुधार्ने प्रयासमा ट्रम्प

काठमाडौं– गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध

मन्त्री अधिकारीले संसद्‍मा भने- असारसम्म जग्गाको वर्गीकरण नसकिए कित्ताकाट रोकिन्छ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

त्रिविको उपकुलपति छनोटका लागि समिति गठन

काठमाडौं– प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त

राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन : महासचिव पोखरेल

देउखुरी– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको

पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

पर्वत– स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षमा यहाँ छ वटा