सिट बाँडफाँडको सकसले नेताहरु नै अन्यौलमा « Khabarhub

चुनावी चिन्ता

सिट बाँडफाँडको सकसले नेताहरु नै अन्यौलमा

कांग्रेसको दुई लाइन संघर्षले शीर्ष नेताहरुकै जित-हार अनिश्चित !


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अहिले धमाधम प्रदेश र प्रतिनिधिसभा उम्मेदवारका लागि नाम सिफारिस भइरहेको छ । हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा ३ जनाको नाम सिफारिस चलिरहेको छ । कतिपय शीर्ष र प्रभावशाली नेताहरूले एकभन्दा बढी क्षेत्रबाट पनि नाम सिफारिस गरेका छन् ।

चुनावी माहोल र गठबन्धनमा कति सिट पाइने हो भन्ने एकिन नभएका कारण नेताहरू एकिनका साथ उम्मेदवार बन्छु भन्नेमा ढुक्क छैनन् । तर पनि नेताहरू टिकटका लागि लागिरहेका छन् । अहिले एमालेमा एकतर्फी कुनै तनाव नभई उम्मेदवार सिफारिस भइरहेका छन् ।

तर गठबन्धनमा आबद्ध दलका नेताहरू भने टिकट पाउने हो कि होइन भनेर सिफारिसमा परेका छन् । कतिपयलाई सिफारिसमा पर्न पनि सकस देखिएको छ । कतिपय नेताहरू सिफारिसकै लागि भनसुन गर्नेदेखि मोटो रकमको बार्गेनिङ गर्ने क्रम चलिरहेको छ ।

तर सिफारिसका लागि दौडधुप गरिरहेका नेताहरू टिकट पाउनका लागि यो भन्दा बढी संघर्ष गर्नुपर्ने अवस्थामा छन् । गठबन्धन भएकाले कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरू अहिलेभन्दा बढी ठूलो दौडधुप गर्नुपर्ने अवस्थामा हुनेछन् ।

सिट बाँडफाँड नहुँदा नेताहरू नै अन्यौलमा

१६५ निर्वाचन क्षेत्रका लागि अहिले सत्ता गठबन्धनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी दौडमा छन् । कांग्रेसले १०० भन्दा तल झर्न नसकिने बताउँदै आएको छ । माओवादीले ६० र समाजवादीले ४० सिट दाबी गरिरहेको छ ।

जसपा र जनमोर्चाको दाबी पनि छ । माओवादीको चुनाव चिन्ह लिएर वामदेव गौतम र बाबुराम भट्टराई पनि दुई सिट खोजिरहेका छन् । बटम लाइन बनाएका शीर्ष नेताहरू दर्जनौँ पटक बैठक बसेपनि टुंगोमा पुग्न सकेका छैनन् ।

बरु उनीहरु सार्वजनिक मञ्चमा एकले अर्कोलाई घोचपेच गरिरहेका छन् । हालै नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस जम्मा २३ सिटे हैसियतको पार्टी भएको भन्दै ठुलो भाग खोज्न नहुने तर्क गरे । उनले गएको चुनावमा कांग्रेस कमजोर पार्टी भएको भन्दै अहिले ठूलो भाग खोज्न नहुने बताइरहेका छन् ।

तर अहिले बलियो संगठन भएका कारण सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना छ । कांग्रेसको संगठन बलियो भएकै कारण १०० सिट दाबी गरिरहेको छ । उसले दाबी गरेका ठाउँमा जित्ने सम्भावना पनि छ । ठिक यति बेला एमाले फुटेको र माओवादी कमजोर भएका कारण कांग्रेसलाई फाइदा बढी छ ।

तर एमालेबाट फुटेको समाजवादीको कुनै जिल्लामा पनि बलियो संगठन छैन । संगठन बलियो नभएका कारण उसका उम्मेदवारलाई जित्न सकस छ । त्यसकारण माधव नेपाल कांग्रेस र माओवादीको भरमा छन् । तर उनी सिट बाँडफाँड टुंगिन नसक्दा कांग्रेसलाई गाली गर्ने अवस्थामा पुगिसकेका छन् ।

सिट बाँडफाँड टुंगिन नसक्दा शीर्ष नेताहरू नै अन्योलमा परेका छन् । कार्यकर्ताहरूको तीव्र दबाब र आकांक्षाले गर्दा शीर्ष नेताहरू कति सिट पाइने हो भन्नेमा अन्यौलमा देखिएका हुन् ।

शीर्ष नेताहरुकै जित हार अनिश्चित !

कांग्रेसमा दुई लाइन संघर्षका कारण शीर्ष नेताहरुको जित हारमा पनि शंका उब्जिएको छ । अहिले कुनै पनि पार्टी एक्लै हरेक ठाउँमा चुनाव जित्न सक्ने ठाउँमा छैनन् । जित्ने आधार भए पनि प्रतिपक्षी दलका नेताहरुको चलखेलले गर्दा जितभन्दा हार मात्रै निश्चित देखिएको छ ।

कांग्रेसमा दुई लाइन संघर्षले एकले अर्कोलाई हराउन पूरा भूमिका खेल्ने काम भइरहेको छ । यसअघि स्थानीय चुनावमा पनि कांग्रेसको दुई लाइन संघर्षले गर्दा धेरै ठाउँमा उसकै उम्मेदवार हारेका थिए । अहिले नेताहरुको व्यक्तित्व र प्रवृत्ति हेरेर गठबन्धन हुँदा पनि समर्थन गर्ने गरिन्छ ।

गठबन्धनमा नेताहरुमध्ये एउटाले जित्ने सम्भावना भए पनि व्यक्तिगत प्रवृत्तिका कारण विपक्षीसँग मिलेर हराइदिने प्रवृत्ति भएका कारण माओवादीबाट प्रचण्ड र समाजवादीबाट माधव नेपालले पनि चुनाव जित्नेमा आंशका व्यक्त गरिरहेका छन् ।

यस्तोमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार गठबन्धनका प्रभावशाली नेताहरुलाई हराउन एमालेले पनि भूमिका खेल्न सक्छ । सोही कारण छिटो सिट बाँडफाँडको विषय टुंग्याएर कार्यकर्ताहरुलाई गठबन्धनमा प्रतिबद्ध गराउनुपर्ने दबाब शीर्ष नेतालाई छ ।

अन्यथा हरेक पार्टीमा दुई लाइन संघर्ष चलिरहेका बेला शीर्ष नेताहरुको जित हारमा पनि निश्चित हुन सकेको देखिँदैन । जसकारण नेताहरुलाई दबाब यति धेरै बढेको छ कि गठबन्धन हुन नसके एक्लै एक्लै लड्नुपर्ने विकल्प पनि खुल्ला गर्नुपर्ने बाध्यता छ ।

अथवा कांग्रेससँगको गठबन्धन फाइदाजनक नभए प्रचण्ड र माधव नेपाल वाम गठबन्धनका लागि एमालेसँग जानुपर्ने बाध्यताको चेपुवामा छन् । आफूले एक्लै लडे नजित्ने भएका कारण उनीहरू गठबन्धनमा सम्मानजनक सिट बाँडफाँडमा चिन्तित बन्न थालेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १ : १३ बजे

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र