दुर्गापक्षको नवौँ दिन मनाइयो महानवमी « Khabarhub

दुर्गापक्षको नवौँ दिन मनाइयो महानवमी


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष आश्विनशुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइएको छ ।

कुल परम्पराअनुसार महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइएको छ । दसैँ घर र कोतलगायत राज्यका विभिन्न देवीमन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशति, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिइएको छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । आश्विनशुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिएको छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजाआराधना गरिएको छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गीनिशाना पूजा र कोतपूजासमेत गरिएको जनाइएको छ ।

तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजन

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज हजारौँ भक्तजनले दर्शन गरेका छन् । आज लाम लागेका सबै भक्तजनलाई रातिसम्म मन्दिर खुला गरेर भए पनि दर्शन गराउने तयारी गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : २१ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज