चुनावी घोषणापत्रमै सीमित बागलुङ-घोडाबाँधे सडक खण्ड | Khabarhub Khabarhub

चुनावी घोषणापत्रमै सीमित बागलुङ-घोडाबाँधे सडक खण्ड


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-घोडाबाँधे सडकको ट्रयाक खुलेको २५ वर्ष पुग्यो । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो तर अहिलेसम्म कालोपत्र हुन सकेको छैन । सडक निर्माण भएपछि धेरै पटक निर्वाचन सम्पन्न भए । अहिलेसम्म भएका निर्वाचनमा उम्मेदवारले यो सडक कालोपत्र गर्ने विषयलाई मुख्य ‘एजेण्डा’ बनाउँदै आए । तर काम भने भएन ।

आगामी ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्ररुपमा उम्मेदवार बनेकाले पनि घोषणापत्रको मुख्य बुँदामा यो सडक कालोपत्र गर्ने उल्लेख गरेका छन् । हरेक निर्वाचनमा उम्मेदवारको प्रमुख एजेण्डा बन्ने यो सडक कालोपत्र नहुँदा मतदाताले अहिले पत्याउनै छोडिसके । नेताहरूले भोट फुत्काउन आफूहरूको आँखामा छारो बर्साएको मतदाता बताउँछन् । 

काठेखोला गाउँपालिका-५ का स्थानीय मनप्रसाद कँडेलले भने, ‘सडक कालोपत्र गर्ने कुरा जब चुनाव आउँछ, तब मात्रै उठ्छ, चुनाव सकिएपछि नेताले कुर्सी पाउँछन्, जनताले आहात, अहिलेसम्म कालोपत्र गर्छौं भनेर हाम्रो आँखामा छारो बर्साए, मत पाउनलाई अनेक तिकडम गरे, सडकको हालत उस्तै छ, अहिले पनि फेरि सडक कालोपत्र गरेरै छोड्छौँ मत दिनु भन्दै आएका छन् ।’

उनले राष्ट्रिय गौरवको आयोजनाको हालत नै खराब हुँदा जनप्रतिनिधि गम्भीर नहुनुमा निर्माण कम्पनीसँग मिलेमतो हुनसक्ने बताए । सडक खुलेको साढे दुई दशक पूरा हुँदा पनि कालोपत्र नहुँदा यात्रु, चालक र स्थानीयले निकै सास्ती खेप्नुपरेको उनको भनाइ छ । वर्षातमा हिलो र हिँउदमा धुलोले गर्दा सडक छेउछाउकाले बसाइँसराइ गर्न बाध्य भएको स्थानीयवासी कँडेलको भनाइ छ ।

‘हामीहरुले यो सडकको हिलो र धुलो खाएर बसेको २२/२५ वर्ष भयो, हिउँदमा धुलोले घर नै देखिँदैन सबै धुलैधुलो हुन्छ, खानाको भागदेखि सुत्ने अछ्यानसम्म धुलो हुन्छ, बर्खामा हिलोले बाहिर निस्किनै नसक्ने हुन्छ’, उनले भने, ‘सडकको अवस्था यस्तो भएको अहिले होइन, यो त वर्षौ भयो, नेताहरुले काम गरिहाल्छौँ भनेको पनि कैयौँ वर्ष बित्यो तर हालत उस्तै छ, हिलो र धुलोका कारण यस क्षेत्रबाट धेरैले बसाइँसराइ गरिसके, धेरै विस्थापित भए, त्यो पीडा हामीलाई छ, नेतालाई जिते र पद पाए पुग्छ, पछि घुमेर आउनु पर्दैन ।’

स्थानीय सुरेश पुनले अघिल्लो पटक भोट माग्न आएका उम्मेदवारले छ महिनाभित्रै कालोपत्र गर्छु भनेर आश्वासन देखाएको जनाउँदै जितेर एकपटक आफूहरूलाई भेट्नसमेत नआएको बताउँछन्। उनले सडक बनाउने प्रतिबद्धता गरेपछि आफूहरूले मत दिएको र उक्त मत खेर गएको बताउँछन् । ‘अघिल्लो निर्वाचनमा एक जना नेताले मैले जिते भने सबैभन्दा पहिलो यो सडक बनाउँनेछु भनेर हामीसँग प्रतिबद्धता जनाए, चुनाव पनि जित्नुभयो तर काम गर्नु त टाढाको कुरा भयो जितेर एकपटक हामीलाई धन्यवादसमेत भन्न आउनुभएन’, उनले भने।

उनले यो सडकका कारण वर्षौंदेखि हजारौँ यात्रुले दुःख पाउँदै आएको बताए । पुनले आफूहरूले सडक कालोपत्रका लागि बारम्बार निर्माण कम्पनी र नेताहरूलाई भने पनि कुनै सुनुवाइ नभएको गुनासो पोखे। उनले आफूहरू भोट माग्नका लागि उम्मेदवारले अनेक आश्वासन दिएको भन्दै यसपटक सोचेर भोट हाल्ने मनशय बनाएको बताए ।

यस सडकमा यात्रा गर्दा हप्तामा गाडीको पार्टपुर्जा फर्कनुपर्ने गाडी चालक लोकेन्द्र घर्तीले बताए । उनले सडकमा निकै खाल्डाखुल्डी हुँदा यात्रु र गाडीवालाले सास्ती खेप्नुपरेको बताए । घर्तीले यो सडकका कारण गाडी व्यवसायीले समयसमयमा दुख पाइराखेको बताए ।

‘यो बाटोमा गाडी चलाउन लागेको १३ वर्ष बढी भयो, सुरुमा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ, सडकका खाल्डाखुल्डी कसले पुर्ने, नाली कसले बनाउने ?, कयौँपटक चालक मिलेर बाटो बनाउँदै यात्रा गर्‍यौँ  त्यो सम्भव नहुँदो रहेछ’, उनले भने, ‘सडकको दुरावस्थाका कारण कैयौँ पटक गाडीको टायर पड्किएर, पत्ता भाँचिएर सडकमै बास बस्नुपरेको छ, यहाँका नेताहरू के भएका हुन्, चुनावका बेला छिटै कालोपत्र गर्छौं भन्छन्, अरु बेला वास्तै गर्दैनन् ।’

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड कालोपत्रका लागि २०७३ माघ १४ गते भारत-सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी-एससिएफ-इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण सुरु भएको यतिका वर्षसम्म कालोपत्र हुन सकेको छैन ।

कूल एक हजार सात सय ७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै एक सय ४२ किमी पर्छ । तीमध्ये बागलुङमा अब करिब १८ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ । बागलुङको ‘लाइफलाइन’सँग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्र भइसकेको छ । 

–डम्मर बुढामगर रासस

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ५२ बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको