आगामी निर्वाचन : चुनावी चहलपहल बढ्दै | Khabarhub Khabarhub

आगामी निर्वाचन : चुनावी चहलपहल बढ्दै


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – निर्वाचन प्रचार-प्रसारका लागि सभा, सम्मेलन खुला प्रचार अभियान खुलेसँगै महोत्तरी-१ प्रतिनिधिसभामा चुनावी चहलपहल बढेको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरूप कात्तिक १७ देखि निर्वाचनका लागि उम्मेदवार र दलले खुला प्रचार गर्न पाउने अवधि सुरु भएपछि यहाँ चुनावी चहलपहल ह्वात्तै बढेको हो ।

 निर्वाचन क्षेत्रका बस्ती-बस्तीमा दल र उम्मेदवारका निर्वाचन चिह्नका प्रचार गीत र नाराका स्वर सुनिन थालेका छन् । दल र उम्मेदवारले समूहमा घरदैलो र बस्ती-बस्तीमा कोणसभाका कार्यक्रम अघि बढाएका छन् । महोत्तरी-१ को भङ्गाहा-९ कञ्चनवनबाट नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले चुनावी प्रचार र घरदैलो कार्यक्रमको आज बिहान शुभारम्भ गरे । त्यसैगरी पाँचदलीय सत्तागठबन्धनको वाम लोकतान्त्रिक निर्वाचन परिचालन कमिटीले कात्तिक १७ गतेदेखि मङ्सिर-१ गतेसम्मको तालिका नै बनाएर निर्वाचन प्रचार अभियान थालिएको जनाएको छ । ‘हामीले निर्वाचन प्रचार अभियानलाई नयाँ चरणमा लगेका छौँ, क्षेत्रभित्रका तीन नगरपालिका पर्ने ३० वडा बस्तीमा सभा, कोणसभा, घरदैलो र अन्य प्रचार अभियान थालेका छौँ’, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमालले भने, ‘हामीले १५ दिनको खुला प्रचार अवधिलाई बढीभन्दा मतदातासँग भेट्ने तालिका बनाएका छौँ ।’

पाँच दलीय सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधिसभाका उम्मेदवार छन्। त्यसैगरी यो क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः लोसपाका पिताम्बर महतो र माओवादी केन्द्रका भरतप्रसाद साह सत्तागठबन्धनका उम्मेद्वार छन् । प्रदेशसभा ‘क’ मा भने सत्तागठबन्धनबाट महतो आधिकारिक उम्मेदवार घोषणा गरिए पनि एकीकृत समाजवादीका सुरेशबहादुर राउतले पनि उम्मेदवारी दिएका छन् । आफू पाँचदलीय सत्तागठबन्धनमै आबद्ध भए पनि प्रदेशसभामा भने मित्रवत् प्रतिस्पर्धा गर्ने राउतले स्पष्ट पारे ।

यसैगरी एमाले/जसपा गठबन्धनले प्रतिनिधिसभा क्षेत्रका ३० वटै वडामा चुनावीसभाका कार्यक्रम तालिका बनाएको जनाएको छ । ‘हामीले निर्वाचन क्षेत्रभित्रका दुवै प्रदेशसभा क्षेत्रमा क्षेत्रीयसभा र प्रत्येक वडामा उम्मेदवारसहितको घरदैलो र कोणसभाका कार्यक्रम बनाएका छौँ’, एमाले-जसपा निर्वाचन परिचालन कमिटी महोत्तरी–१ का संयोजक शंकर महतोले भने, ‘हामी ३० वटै वडा बस्तीमा सभा गर्दैछौँ, यसको सुरुआत आज भङ्गाहा–९ कञ्चनवनबाट गरिएको छ ।’ महोत्तरी-१ मा एमाले-जसपा गठबन्धनबाट एमालेका लक्ष्मी महतो प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । 

त्यसैगरी यो क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः एमालेका शारदा थापा र जसपाका रामश्रेष्ठ महतो उम्मेदवार छन् । महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रमा बर्दिबास नगरपालिकाका १४ , गौशाला नगरपालिकाका १२ र भङ्गाहा नगरपालिकाका चार वटा वडा ९ वडा नम्बर ३, ४, ५ र ९० पर्छन् । यी ३० वडामा गरी सयभन्दा बढी बस्ती छन् । प्रतिनिधिसभा क्षेत्रका यी ३० वडामध्ये प्रदेशसभा ‘क’ क्षेत्रमा १६ र ‘ख’ मा १४ वडा छन् । सबै वडा बस्तीसम्म उम्मेदवारको घरदैलो पुर्‍याउन समय अपुग हुने भएपछि सभा, कोणसभाका कार्यक्रममा जोड दिइएको दलका नेता र उम्मेदवार बताएका छन् ।

गत स्थानीय निर्वाचनमा बर्दिबास नगरपालिकामा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र समूह बनेको प्रह्लाद समूहले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र दुवै प्रदेशसभामा उम्मेदवार दिएको छ । यो समूहबाट प्रतिनिधिसभामा अधिकृतस्तरको सरकारी सेवाबाट राजीनामा दिएर पोषण थापा उम्मेदवार बनेका छन् । 

त्यसैगरी यो समूहबाट प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः युवराज पोखरेल र विनोदकुमार महतो उम्मेदवार छन् । स्वतन्त्र भनिए पनि सङ्गठितरुपमा ‘समूह’ नै खडा गरेको यो समूहले १५ दिने खुला प्रचारको अवधिका लागि तालिका नै बनाएर अघि बढेको जनाएको छ । ‘हाम्रा उम्मेदवार सबै वडा बस्ती पुग्ने गरी कार्यक्रम तालिका बनाएका छौँ’, समूहका सञ्चार संयोजक ललनकुमार मण्डल ले भने , ‘निर्वाचन प्रचार अभियान बर्दिबासबाट प्रारम्भ गरिसकेका छौँ, दैनिक पाँच वटासम्म सभा सम्पन्न गर्ने गरी कार्यक्रम बनेको छ ।’

दलका नेता र उम्मेदवार सहयोगीसहित निर्वाचन चिह्न अङ्कित झण्डासाथ बस्तीबस्ती पसेपछि माहोल निर्वाचनमय बनेको छ । मतदाताबीच दलका नेता र उम्मेदवारले गर्ने वाचा सुन्दा भङ्गाहा-३ कटैया बस्तीकी सामाजिक अभियन्ता रामराजी यादव अब भने काम नदेखेसम्म कसैलाई पत्याउने अवस्था नरहेको बताउँछन् , ‘जेहोस् निर्वाचन जनताका लागि दल र नेता पर्गेल्ने अवसरझैँ हो’, यादवले भने, ‘यस अभियानमा झुठो आश्वासन बाँड्दै आएका कति नाङ्गिने छन् ।’

दल र उम्मेदवारको सघन आउजाउले बस्ती-बस्तीमा राजनीतिक छलफल, चुनावी अड्कलबाजी र स्थानीय मुद्दाबारे बहस गरिरहेका भेटिन्छन् । प्रचारमा भोट माग्न आउने दल र उम्मेदवारसँग स्थानीय आवश्यकताबारे जानकारी गराउन ठाउँठाउँमा सर्वसाधारणले आपसी छलफल नै गर्ने गरेका पनि पाइएको छ । ‘हाम्रो मुख्य समस्या सिँचाइ नपुग्नु हो, अनि बीउ, मल र खेतीपातीमा प्राविधिक सल्लाह र सुलभ ऋण हामीलाई चाहिन्छ’, भङ्गाहा-४ टोकाटोलका बासिन्दाको छलफल निष्कर्ष सुनाउँदै सो बस्तीका सुरेश महतोले भने ।

महोत्तरी-१ मा प्रतिनिधिसभाका १५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये सातजना स्वतन्त्र छन् । त्यसैगरी यसै क्षेत्रको प्रदेशसभा क्षेत्र ‘क’ मा १० स्वतन्त्रसहित जम्मा १८ जना र प्रदेशसभा क्षेत्र ‘ख’ मा १७ स्वतन्त्रसहित २२ जना उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी-१ बर्दिबासले जनाएको छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र  जनमत पार्टीसहितका दलीय उम्मेदवार छन् । यद्यपि निर्वाचनमा पाँचदलीय सत्तागठबन्धन, एमाले-जसपा गठबन्धन र प्रह्लाद स्वतन्त्र समूहबीच मुख्य प्रतिस्पर्धा हुने गौशाला-४ रजखोरका ६५ वर्षीय चन्देश्वर साहको अड्कल छ ।

निर्वाचनमा दलबाहेकका स्वतन्त्र उम्मेदवार निर्वाचन परिणाम आफ्नो पक्षमा हुने बताउन भने चुक्दैनन् । यसपालि महोत्तरी-१ प्रतिनिधिसभा क्षेत्रमा ९८ हजार चार सय ९७ मतदाता कायम छन् । महोत्तरी-१ प्रतिनिधिसभा क्षेत्रभित्र ५९ मतदानस्थल र एक सय २३ मतदान केन्द्र रहेका सहायक निर्वाचन अधिकृत सन्देश अधिकारीले जानकारी दिए ।

–गोपालप्रसाद बराल रासस

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ४९ बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको