सर्वसाधारणको उपचार सेवा आम्चीको भरमा चल्दै | Khabarhub Khabarhub

सर्वसाधारणको उपचार सेवा आम्चीको भरमा चल्दै


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– उपल्लो डोल्पाका सर्वसाधारणको उपचार सेवा आम्चीको भरमा चल्दै आएको छ । तीन वटा पालिकामा कार्यरत रहेका स्वास्थ्यकर्मीले नियमित सेवा नदिने भएकाले आम्चीको भरमा यहाँका सर्वसाधारणको उपचार हुँदै आएको हो । 

शे फोक्सुण्डो गाउँपालिकाले आम्चीको सेवा प्रवाह सम्बन्धी कार्यविधि नै कार्यपालिकाको बैठकबाट पास गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए । शे फोक्सुण्डोमा तीन वटा संस्था रहेका छन् । १ देखि ४ सम्मका सर्वसाधारणलाई भनेर सालदाङ, ५, ६, ७ का लागि भिजेर र ८ र ९ नम्बरका लागि फोक्सुण्डोमा स्वास्थ्य चौकी रहेको छ । सालदाङमा मात्र अहिले एक जना स्थानीय स्वास्थ्यकर्मी रहेका छन् भने अन्य ठाउँमा हिमपातका कारण जान सकेको अवस्था छैन । 

सबै वडामा आम्चीले स्थानीय जडीबुटीद्वारा उपचार गरेर बिरामी तथा सुत्केरी सेवा दिने गरेको स्वास्थ्यकर्मी निमा धार्गे गुरुङले बताए । स्वास्थ्यकर्मीले दिएको सेवा समेत यहाँका स्थानीयवासीलाई नपरेको र आम्चीकै भरमा सबै खालका उपचार गर्दै आएको गुरुङले बताए । दुनैबाट औषधि लिनसमेत मुस्किल हुँदै गएको छ । प्रतिकिलोको १२० रुपैयाँमा भाडा लाग्ने गरेको गुरुङले बताए ।

एक गाउँबाट अर्को गाउँमा जानका लागि हिउँले अब केही दिन भित्र जान नसक्ने अवस्था हुने भएकाले सेवा दिन समेत हैरानी भएको उनको भनाइ छ । खोप सेवा समेत कात्तिकदेखि चैतसम्म बन्द हुने गर्छ । 

त्यस्तै डोल्पोबुद्ध  गाउँपालिकामा दुई वटा स्वास्थ्य संस्था रहेका छन् । १, २ र ३ वडाका लागि धोमा रहेको छ । वडा नम्बर ४, ५ र ६ का लागि तिन्जेमा रहेको छ । आफ्नै भवन नहुँदा भाडामा चलाउनु परेको गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए । अहिले कुनै पनि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएको उनले गुनासो गरे ।

कर्मचारी गाउँपालिकामा आउनै नमान्ने गरेको उनको दुखेसो सुनाए । सरकारले सुत्केरी भत्ता दिए पनि यहाँका सबै गर्भवतीहरू घरमै सुत्केरी हुने भएकाले भत्ता नपाउने गरेको उनले बताए । आम्चीको भरमा घरमै सुत्केरी हुने परम्पराका कारण स्वास्थ्य संस्थाको विश्वास नरहेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । 

त्यस्तै छार्काताङसुङ गाउँपालिकामा दुई वटा स्वास्थ्य संस्था रहेका छन् । १, २ र ३ को लागि छार्कामा र ४, ५ र ६ को मुकोटमा रहेको स्वास्थ्य संस्थाले सेवा दिने गर्छन् । त्यहाँ अहिले कुनै पनि स्वास्थ्यकर्मी नभएको पाइएको छ । मुकोट स्वास्थ्य संस्थाका प्रमुख ज्ञानेन्द्रबहादुर शाही जुफाल घरमा रहेका छन् । तिहारमा घरमा आएका उनी चैतमा मात्र फर्कने सोचमा रहेको बताए । हिमपात छ कसरी जानु ? उनले प्रश्न गरे । 

कात्तिकदेखि नै खोप सेवा बन्द भएको उनले बताए । मुकोटमा रहेको स्वास्थ्य संस्थामा प्रहरी, बैंकसमेत बसेको उनले बताए । गाउँपालिका भरी अघिल्लो वर्ष एक जनाले मात्र सुत्केरी सेवा लिएको शाहीले बताए । सबै यहाँका गर्भवती आम्चीको सहयोगमा घरमै हुने सुत्केरी हुने गरेका कारण सुत्केरी भत्तासमेत नपाउने गरेका छन् । नियमित गर्भ जाँच कसैले पनि स्वास्थ्य संस्थामा आएर नगर्ने तर घरमै बसेर जोखिम मोलिरहेको स्वास्थ्यकर्मीको भनाई छ । 

उता आम्चीले स्वास्थ्यकर्मीसँग भाषा नमिल्ने भएकाले काम गर्न समस्या हुने गरेको बताएका छन् । आफूहरू स्थानीय भाषा मात्र बोल्ने भएकोले स्वास्थ्यकर्मी नेपाली भाषा बोल्ने भएकाले आफूहरू त्यो नजान्ने भएकाले समस्या भएको उनीहरूको भनाइ छ । एक गाउँमा एक आम्ची हुने गरेको बताएको छ । उपल्लो डोल्पाको तीन वटा पालिकामा स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँचदेखि सुत्केरी हुने संख्या जिरो रहेको छ । 

ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा थोरैले सुत्केरी सेवा लिने गरेका छन् । एक वडाबाट अर्को वडामा जानका लागि दिनभरी लाग्ने भएकाले र सडकको पहुँच नभएका कारण पनि यहाँका महिलाहरू सुरक्षित सुत्केरी सेवा लिन नपाएका हुन् ।

ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका सदरमुकाम दुनैसँग जोडिएका स्थानीय तह हुन् । मुड्केचुला जाजरकोटको नलगाड नगरपालिकासँग जोडिएको छ । जगदुल्ला गाउँपालिका जुम्लासँग जोडिएको छ । उपल्लो डोल्पा भन्दा तल्लो डोल्पामा सुरक्षित सुत्केरी हुने महिलाको संख्या बढी रहेको छ ।

कर्णाली प्रदेशको सबै भन्दा बढी हेलिकोप्टरबाट गर्भवतीको उद्धार हुने जिल्लामा डोल्पा एक नम्बरमा पर्छ । यहाँका महिलालाई सुरक्षित रूपमा सुत्केरी सेवा प्रदान गर्न प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण गरी जनचेतना फैलाउनु पहिलो प्राथमिकता रहेको स्थानीय सरकारले बताएका छन् । 

के आम्ची उपचार विधि ? 

हिमाली क्षेत्रका डाक्टर हुन्, आम्ची । आयुर्वेदमा आधारित आम्चीकै भरमा सयौँ वर्षेदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ । उनीहरू अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन् । ती जडीबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन् । आम्ची जडीबुटी पाइने बेला उच्च हिमाली भागमा उक्लन्छन् ।

पुस्तौँदेखि जडीबुटीको चिन्ने कलाले उनीहरूलाई कुनचाहिँ ओखती हो र कुन हैन भन्ने सजिलै थाहा पाउने गर्दछन् । ती जडीबुटीलाई पिसेर, मात्रा मिलाएपछि बल्ल ओखती बन्छ । पूर्वीय समाजको दैनिक जीवनमा आम्ची र आयुर्वेद परापूर्वकालदेखि नै प्रयोगमा छ । अहिले आयुर्वेद जोडिएका औषधी र सौन्दर्य प्रशोधनले लोकप्रियता पनि हासिल गरेका छन् । पुरातन उपचार पद्धतिलाई आधुनिकीकरण गर्ने विश्वव्यापी लहर पनि चलेको छ ।

पुरातन पद्धतिमा टेकेर जडीबुटीमार्फत उपचार गर्ने आम्चीहरू देवता नै रहेको यहाँका स्थानीयवासी बताउँछन् । हिमालयन आम्ची एसोसिएसनको पहलमा सरकारले आम्ची पढ्न अनुमति दिइएको छ । सोवा रिग्पा उपचार पद्धति आदिवासी ज्ञानमा आधारित उपचार विधि हो । अहिले यो उपचारका बारे विश्व विद्यालय तहमा अध्यापन हुने गरेको छ । यसबाट सोवा रिग्पाका विज्ञ विशेषज्ञ ९आम्ची० उत्पादन हुन थालेका छन् ।

सोवा रिग्पा उपचारका अगुवा आम्ची हुन्छन् । स्वास्थ्य उपचारका वैकल्पिक विधा आयुर्वेद, अकुपञ्चर युनानी जस्तै सोवा रिग्पा पनि उपचारको फरक पद्धति हो । बुद्ध भगवानको पाँच महाज्ञान मध्ये एउटा ज्ञान सोवा रिग्पा ज्ञान हो । बुद्ध भगवानले यस उपचार विधिका लागि चार वर्ष तपस्या गरेका थिए । 

हिमाल क्षेत्रको करिब एक हजार प्रजातिका जडीबुटी र १३० किसिमका जनावरका शरीरका विभिन्न अङ्गबाट सोवा रिग्पाको औषधि बनाउने गरिन्छ । यस्ता जडीबुटीहरू नेपालमा नै उपलब्ध हुन्छन् । यी जडीबुटी पहिचान गर्ने ज्ञान आम्चीहरूमा मात्र हुन्छ । यस्तो ज्ञान परम्पराबाट सिकेका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ५६ बजे

पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

वीरगञ्ज– पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका

संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भयो : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य