अफ्रिकाको सर्वोत्कृष्ट फुटबलर माने कि सलाह ? | Khabarhub Khabarhub

अफ्रिकाको सर्वोत्कृष्ट फुटबलर माने कि सलाह ?

जसको उत्तर अफ्रिका कप अफ नेसन्सको फाइनलले दिनेछ



काठमाडौँ – क्लब फुटबलमा उपाधि जित्ने धेरै खेलाडीको सपना जसरी पनि पुरा हुन्छ । त्यो आफैले खेलेर हो वा नामी क्लबको खेलाडीको रुपमा मात्रै पनि उनीहरुको उपाधि सपना प्राय अधुरो हुँदैन ।

क्लबमा केही राम्रा खेलाडीको उपस्थितीले उपाधि जित्न जटिल हुँदैन । त्यसमाथि अर्बौ लगानीले फुटबल क्लबहरु उपाधि जित्न सबथोक गर्छन्। खेलाडी किनबेचदेखि व्यवस्थापनमा पैसा खन्याउने फुटबल क्लबले त्यही अनुसार च्याम्पियन बन्दै उपाधि भोक पुरा गर्छन ।

तर त्यही उपाधि देशका लागि जित्न भने खेलाडीलाई महाभारत हुन्छ । सीमित खेलाडी, सीमित लगानी, सीमित व्यवस्थापनदेखि सीमित समयले पनि देशका लागि उपाधि जित्न हरेक खेलाडीका लागि धेरै जटिल काम हो ।

अहिले त्यही जटिल मोडमा विश्वकै उत्कृष्ट दुई खेलाडी साडियो माने र मोहम्मद सलाह छन् । जो अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि एकसाथ मैदान उत्रिदैछन् । त्यो पनि एक अर्काका प्रतिद्वन्द्वी भएर ।

लिभरपुलका सुपरस्टार माने र सलाह दुवै अफ्रिकी महादेशका खेलाडी हुन् । यति बेला दुवैले उत्कृष्ट प्रदर्शन गर्दै आ–आफ्नो देशलाई फुटबलमा अफ्रिकाकै ठूलो उपाधि जिताउने अन्तिम भिडन्तको तयारी गरिरहेका छन् ।

माने सेनेगलका खेलाडी हुन् । सलाह भने इजिप्टका हुन् । बुर्किना फासोलाई हराउँदै सेनेगलले फाइनल यात्रा तय गर्दा इजिप्टले दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई स्तब्ध पारेको थियो ।

यी दुबै खेलाडी इंग्लिस क्लब लिभरपुलका सुपरस्टार हुन् । उनीहरु चिनिएका, गनिएका र सुपरस्टार भएका लिभरपुलबाटै हो । जहाँ दुवै जनाले च्याम्पियन्स लिग, प्रिमियर लिग र क्लब वल्र्ड कप उपाधि जितिसकेका छन् ।

चेल्सीबाट सलाह लिभरपुल आएपछि मानेको पनि भाग्य चम्केको थियो । जहाँ ब्राजिलका रोबर्टो फिरमिनोसँग मिलेर दुवै अफ्रिकी खेलाडीले लिभरपुललाई प्रिमियर लिगको च्याम्पियन मात्रै बनाएनन्, च्याम्पियन्स लिगकै उपाधि जितेर विश्व फुटबललाई अफ्रिकी क्षमता देखाइदिएका थिए ।

दुवै विंगर फुटबल फिनिसिङमा पोख्त छन् । गोल फिनिसिङमा बाया खुट्टाको जादु देखाउने सलाहलाई अर्जेन्टिनी सुपरस्टार मेस्सीको उत्ताराधिकारका रुपमा समेत हेरिन्छ । वर्तमान विश्व फुटबलमा मेस्सीपछि बाया खुट्टाको जादु देखाउने खेलाडी सलाह नै हुन् । सेनेगलसँगको फाइनलमा सलाहको बाया खुट्टा कति चल्छ ? हेर्न बाँकी छ ।

तर तथ्यांकले सर्वाधिक ७ पटक च्याम्पियन इजिप्टका लागि सन् २०१० यताको उपाधि खडेरी तोड्नुपर्ने चुनौति सलाहसामु छ । पछिल्लोपटक सन् २०१७ मा सलाहकै कप्तानीमा इजिप्ट फाइनल पुगेपनि च्याम्पियन बन्नबाट बञ्चित भएको थियो ।

सेनेगल भने अघिल्लोपटकको उपविजेता हो । सलाहको इजिप्टभन्दा मानेको सेनेगल झन् खतरानाक छ । सन् २०१९ मा फाइनलमा हारेको पीडा बिर्साउने चुनौति मानेले स्वीकार गरिसकेका छन् । जुन सलाहकै लागी पनि चिन्ताको विषय बन्न सक्छ ।

आइतबार उपाधिका लागि इजिप्ट र सेनेगल भिड्दा लिभरपुलका दुई सुपरस्टारको उपाधि भिडन्त रोचक हुने अनुमान छ । इजिप्टले घरेलु टोली क्यामारुनलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दा सेनेगलले बुर्किना फासोलाई ३–१ गोलले हराएको थियो । इजिप्टले फाइनल पुग्न पेनाल्टीको सहारा लिँदा सेनेगल गोल गर्न एक कदम अगाडि देखिएको छ ।

फुटबल पण्डितले पनि अफ्रिका कप अफ नेसन्समा सलाहभन्दा मानेकै प्रदर्शन उत्कृष्ट भन्दै आएका छन् । माने गोल गरिरहदा सलाह भने चुकिरहेका छन् । फाइनलमा कसले गोल गर्छ ? त्यो सबैभन्दा बढी प्रतिक्षा र प्र्रतिष्ठाको विषय छ।

प्रिमियर लिगमा लिभरपुलबाट सलाहले १७८ खेल खेल्दै ११३ गोल गरेका छन् । मानेले भने २४९ खेलबाट १ सय ३ गोल गरेका छन् । गोलको तथ्यांकमा मानेभन्दा सलाह अगाडि छन् । प्रिमियर लिगमा एक सय गोलको कोशेढुंगा पार्ने दुबै अफ्रिकी खेलाडी विशेष छन् ।

उत्कृष्ट खेलाडीको रोचक भिडन्त

विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिका जिताएका छन् । क्रिष्टियानो रोनाल्डोले पोर्चुगललाई युरो कप र लिग अफ नेसन्सको उपाधि जिताएका छन् ।

दुवै जना वर्तमान विश्वका सबैभन्दा सफल खेलाडी हुन् । रियल मड्रिड र बार्सिलोनामा उनीहरुको भिडन्त रोचक हुने गरेको थियो । मेस्सी अहिले पीएसजीमा छन् । रोनाल्डो भने म्यानचेस्टर युनाईटेडमा छन् ।

यस्तै नेयमारले ब्राजिललाई ओलेम्पिकमा स्वर्ण जिताएका छन् । कोपा अमेरिकामा मेस्सी र नेयमारको भिडन्त हुने गरेको छ । गएको वर्ष मात्रै मेस्सीले नेयमारलाई हराउँदै अर्जेन्टिनालाई पहिलोपटक उपाधि जिताएका थिए । उनले यसका लागि झण्डै डेढ दशक संघर्ष गरेका थिए ।

युरोकपमा रोनाल्डो र रियलकै खेलाडी ग्यारेथ बेलको भिडन्त हुने गरेको छ । बेल वेल्सका खेलाडी हुन् । सन् २०१६ मा रोनाल्डोले देशलाई पहिलोपटक युरोकप जिताएका थिए । सेमिफाइनलमा भने वेल्सलाई हराएका थिए ।

तर यी विश्व फुटबलका चर्चित खेलाडीले क्लबका लागि सबै उपाधि जितेपनि देशका लागि विश्वकप जित्न सकेका छैनन । अहिले देशका लागि उपाधि जिताउन पनि उनीहरुले धेरै संघर्ष गरेका थिए । विश्वमै उत्कृष्ट मेस्सी, रोनाल्डो र नेयमारले आ–आफ्नो महादेशीय उपाधि जितेर आफूलाई प्रमाणित गरेका छन् ।

त्यही संघारमा अहिले अफ्रिकाका सुपरस्टार माने र सलाह छन् । जो आप्रवासी भएर युरोप नगई अफ्रिकामै बसे । अहिले अफ्रिकाबाटै फुटबलमा ख्याती कमाएका छन् । अब हेर्न बाँकी छ, उनीहरुले आफ्नो देशलाई साच्चिकै पहिलोपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जिताउँलान त ? आइतबारको फाइनल खेलले यो प्रश्नको उत्तर मात्रै होइन, अफ्रिकामा माने र सलाहमध्ये को उत्कृष्ट भन्ने फुटबलका पारखीको जिज्ञासालाई पनि तिर्खा मेटाउनेछ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ५० बजे

जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

काठमाडौं– इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी

जिरीबाट बाइक र मैनापोखरीबाट हेलमेट चोरी

दोलखा– गएराती दोलखाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिमा मोटरसाइकल र

बागमतीमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा

काठमाडौं– बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ

चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भन्दै कुवेत पुर्‍याई मानवबेचबिखन