कृषिमा भविष्य खोज्दै ईश्वर « Khabarhub

कृषिमा भविष्य खोज्दै ईश्वर



अत्तरिया – ईश्वरकुमार थापा कृषिमा राम्रो भविष्य छ भन्ने कुरामा सहमत छन्। उनी त्यही सम्भावनालाई साकार पार्न दुई वर्षदेखि व्यवसायी कृषि पेसामा आवद्ध छन्। तर, सरकारले नेपाल कृषि प्रधान देश हो। कृषिबाट नै नेपालको विकास गर्न सकिन्छ। कृषिबाट मात्रै फाइदा लिन सकिन्छ भनेर गरेको प्रचार भने उनलाई अफवाह मात्रै लाग्छ। ठोस योजना बिनै आकर्षक नारा लगाएर सरकारले कृषकलाई ठगिरहेको उनको बुझाई छ।

शिक्षण पेसा छोडेर २ वर्षदेखि कृषि पेसामा लागेका कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ बंकका ईश्वरले दुई जना दाजु भाइसँग मिलेर टिप्स अर्गानिक तथा पशुपन्छी फर्म संचालनमा ल्याएका हुन्।

वार्षिक २ लाख ८० हजार भाडा तिर्ने गरी ७ विघा जग्गामा दाइ (ठूलो बुवाका छोरा) अमरराज थापा र भाइ प्रभुराज थापा सँगको साझेदारीमा फर्म संचालनमा ल्याएका थापा राम्रो भविष्य देखेर कृषिमा होमिएका हुन्।

‘म दुई वर्ष अगाडि शिक्षण पेशामा आवद्ध थिएँ। निजी विद्यालयमा पठाएँ। खान लगाउन मात्रै पुग्ने बचत नहुने। दुःख अलि बढी गर्नुपर्ने। एउटै पेसाले जीवन धान्न नसकिन देखेपछि मैले अर्को पेसा गर्नुपर्ने देखेँ’, उनले भने, ‘त्यसपछि मैले २/२ पटक विदेशमा धोका खाइसकेका दाइ र भाइलाई कृषि गर्ने योजना सुनाएँ। उहाँहरु तयार भएपछि कृषिमा लागेको हुँ।’

स्थानीय डाइमण्ड इङलिस बोर्डिक स्कुलमा भाइस प्रिन्सिपलका रुपमा कार्यरत ईश्वरको महिनाको कमाई १५ हजार थियो। ६ वर्ष शिक्षण पेशा गर्दा पनि घर खर्च चलाउनै धौ–धौ हुन थालेपछि उनी वैकल्पिक आयआर्जनको श्रोत खोज्दै कृषिमा प्रवेश गरेका हुन। उक्त फर्ममा तीनै दाजुभाइले तरकारी, फलफूल र पशु, पालन गरिरहेका छन्।

‘केरा २ विघा, तरकारी ३ विघा, कागती २ विघामा लगाएका छौँ। थप ३ विघामा केरा र १ विघामा तरकारी लगाउनको लागि जग्गा खोजिसकेका छौँ। हाल २१ वटा बाख्रा छन्, बंगुर पनि पालन गरेका छौँ’, ईश्वर भने, ‘फर्मको नाम अनुसार यसलाई साकार दिनका लागि हामीले पन्छी पाल्न बाँकी छ। अहिले हामीले यसका लागि योजना बनाइरहेका छौँ।’ उनले फर्ममा अहिलेसम्म ६८ लाख लगानी लागिसकेको बताए।

नामको मात्रै कृषि प्रधान देश
नेपाललाई कृषि प्रधान देश भने पनि त्यस अनुसारको योजना र पूर्वाधारको विकास हुन नसकेको ईश्वरको गुनासो छ। ‘हाम्रो देशलाई कृषि प्रधान देश भनिएको छ। बिना अध्ययन कृषि प्रधान देश र कृषिबाट मात्रै फाइदा हुन्छ भन्ने कुरा गरिएका छन्। यो नै अहिलेको समस्या हो’, उनले भने, ‘कृषि सम्भाव्य क्षेत्र हो भने यसका लागि सरकारसँग ठूलो योजना हुनुपर्छ।’

उनले ठूला कुरा गरे पनि किसानले सधै सिंचाई र मलखादको समस्या भोग्दै आएको बताए। ‘मलको सधै समस्या हुने गरेको छ। मल बिना उत्पादन नै हुँदैन। तर, हामीले जुन समयमा मल चाहिने हो त्यो समयमा हामीलाई मल उपलब्ध हुँदैन। सबैभन्दा दुःखको कुरा यो छ’, उनले भने, ‘कृषिमा धेरै सम्भावना भएपनि सरकारले ठोस अध्ययन नगर्दा बनाएका योजना पनि फेल भइरहेका छन्।’

उनले उत्पादन भएको सामानको मूल्य निर्धारण नहुँदा किसान सधै मारमा पर्ने गरेको बताए। ‘सिजनको समयमा नाकाबाट जुन खालको आयात भइरहेको हुन्छ। त्यो आयातलाई रोक्नुपर्ने हुन्छ। आयात बढी हुँदा बजारमा छ्यापछ्याप्ती तरकारी हुन्छ। तर, स्वदेशको वस्तु बजारमा पुग्न पाउँदैन’, उनले भने, ‘सिजनमा हाम्रो उत्पादन कैडीको भाउमा जान्छ। अफ सिजनमा उत्पादन गर्नका लागि हामीसँग प्रविधि र लगानीको अभाव छ।’

उनले प्रविधिको अभाव, गुणस्तरीय बिउबिजनको अभाव, सिंचाई, मलको अभाव, मूल्य निर्धारण नहुनु, जस्ता समस्याले किसान एकदमै मार्कामा परेको बताए।

सरकारले योजना बनाए कृषिमा सम्भावना छ। ईश्वरले नेपालमा कृषिको थुप्रै सम्भावना भएको बताए। उनले कृषिमा सम्भावना देखेर नै विदेशमा गएका युवालाई पनि आफूले स्वदेशमा आएर कृषि कार्यमा लाग्न आग्रह गर्ने गरेको बताए। ‘बजारमा अहिले हाम्रो उत्पादन न्युन छ। कृषिबाट नै देश सम्मुनत हुन्छ। तर, त्यका लागि सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने देखिन्छ’, ईश्वर भन्छन्, ‘हामी सबै मिलेर कृषि काम गर्यौ भने आफ्नो र देशको विकास हुन्छ।’

योजनाका साथ काम भए कृषि आयातलाई रोक्न सकिने उनको भनाइ छ। उनले यसका लागि सरकारले कृषकका समस्या सम्बोधन हुने गरी बृहत योजना बनाउन आवश्यक रहेको बताए।

कृषिका चुनौती
व्यवसाय सुरु गर्ने बित्तिकै कोरोनाको मारमा परे पनि व्यवसायले पछिल्लो सयम गति लिएको ईश्वरले बताए। ‘व्यवसाय सुरु गर्दा कोरोना पनि सुरु भएकाले सुरुमा केही समस्या भएको थियो। उत्पादन बारीमै थन्किने अवस्था आएको थियो’, उनले भने, ‘हामीले भविष्य हेरेर यसलाई निरन्तरता दिएका थियौँ। विदेशमा जुन खालको पीडा छ, त्यो पीडा भोग्नु परेन। नोक्सान भए पनि आफ्नै देशमा कर्म गरेर खाइरहेका छौँ। अहिले बजार पनि सहज हुँदै गएको छ।’

उनले फर्ममा राज्यबाट पनि केही सहयोग पाएको बताए। ‘सरकारले हामीलाई केही राहत त गरेको छ। कृषि ज्ञान केन्द्रले केही टनेल सहयोग गरेको छ। केही बिउँबिजनमा पनि अनुदान पाएका छौँ’, उनले भने, ‘अझै केही लगानी गर्नुपर्ने देखिएकाले हामीले केही अनुदान र ऋणका लागि अपिल गरिरहेका छौँ।’ उनको कृषि फर्ममा हाल ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। ईश्वरले कृषिबाट वार्षिक करिब ५० लाखको कारोबार हुने गरेको बताए।

‘अहिले वार्षिक ४५ देखि ५० लाखको कारोबार हुन्छ। जसमा १४/१५ लाख केराको कारोबार हुन्छ। आलुमा पनि १४/१४ लाखको कारोबार हुन्छ। मासिक अन्दाजी ४ लाखको कारोबार हुन्छ’, उनले भने, ‘अहिले हामीले पाएका अनुदान र नाफा सबै लगानीमै लगाइरहेका छौँ।’ उनले कृषि फर्ममा राम्रो हुँदै गए वैदेशिक रोजगारीबाट फर्केका अन्य युवालाई पनि यसैमा जोड्ने योजना रहेको बताए।

उनले पछिल्लो समय सरकारलाई कृषिमा राम्रो योजना बनाउन र बनाएका योजना कार्यन्वय गर्न घचघच्याउने गरेको बताए।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : ३५ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै