प्रधानमन्त्रीको भ्रमणले जनताको चासो सम्बोधन गरेन : अधिकारी | Khabarhub Khabarhub

प्रधानमन्त्रीको भ्रमणले जनताको चासो सम्बोधन गरेन : अधिकारी


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खगराज अधिकारी २०२९ सालदेखि लगातार राजनीतिमा सक्रिय छन्। अधिकारी २०७४ मा कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि अधिकारी नेकपा एमालेको प्रमुख सचेतकसमेत बनेका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई साता गृहमन्त्री बनेका उनी त्यसअघि तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए। अधिकारीसँग आगामी स्थानीय चुनाव, तालमेलको अवस्था, एमालेको चुनावी तयारी र रणनीतिलगायत स्थानीय चुनावमा केन्द्रित रहेर खबरहब सहकर्मी धिरज बस्नेतले लिएको अन्तर्वार्ताको सारसंक्षेप–

अध्यक्ष केपीशर्मा ओलीसहितका नेताहरूले जिल्ला दौडाहालाई तीव्रता दिनुभएको छ, चुनावी तयारी कस्तो छ ?

हाम्रा टोल तहसम्मका कमिटी र चुनाव प्रचार समितिहरू बनिसकेका छन्। तीनले आफ्नो काम अघि बढाइसकेका छन्। हामी केन्द्रका नेताहरूले पनि जिल्ला जिल्ला, गाउँ गाउँ गएर कार्यकर्ता भेट्ने जनतालाई आफ्ना कुरा सुनाउने र बुझाउने क्रमलाई तीव्रता दिएका छौं। यो महिना भित्र हामी तल्लो तहबाट उमेदवारको सिफारिससमेत टुङ्ग्याउँछौँ। त्यसलाई केन्द्रले सिफारिस भएको एक महिनाभित्र टुङ्ग्याउँने छ। घोषणापत्र निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ। उम्मेदवारको टुंगो लाग्नु अघि नै घोषणा पत्र तयार हुने छ। स्थानीय उमेदवारले आवश्यकता अनुसार आफ्ना कुरा थपेर जनताको घरमा जानु हुनेछ। प्राविधिक तयारी र प्रशिक्षणको क्रमलाई पनि तीव्रता दिएका छौँ।

जिल्ला जिल्ला, गाउँगाउँ पुग्नु भएको छ। माहोल चाहिँ कस्तो छ ?

उत्साहजनक छ। पहिला हामीले जति ठाउँमा जितेका थियौँ त्यसमा बढोत्तरी हुनेमा हामी विश्वस्त छौं। धेरै पार्टीका नेता कार्यकर्ताहरू हाम्रो पार्टीमा प्रवेश गर्न लालायित छन्। हामीले आवश्यकताका आधारमा भित्र्याइरहेका छौँ। जनताको आकर्षण पनि राम्रै देखिन्छ। जहाँ कार्यक्रम हुन्छ, त्यहाँ हजारौँ नागरिकको ओइरो लागिरहेकै छ। यो हिसाबले हामी पहिलेभन्दा अझै शक्तिशाली बनेर उदाउने विश्वास लिएका छौँ । ७५३ स्थानीय तहमध्ये करिब करिब ४५० स्थानीय तहमा एमाले एक्लैले जित हासिल गर्ने आकलन गरेका छौँ। 

सत्ता गठबन्धनमा रहेका दलहरूले तालमेल गरेर चुनाव लड्ने निर्णय गरेका छन्। तपाईहरूलाई त पुरानै सिट जोगाउन पनि गाह्रो पर्ला नि ?

एउटा पार्टी गठबन्धन अर्को नेकपा एमाले मात्रै चुनावमा देखिने भए। दुई दल मात्रै चुनावमा देखिनु त राम्रै कुरा हो नि। पाँच वटा पार्टी बनाउनुको अर्थ छैन भन्ने पनि उनीहरूले पुष्टि गरे। एउटै घोषणा पत्रले चुनाव लड्दै छन्। सिद्धान्त, विचार केही नमिले पनि गठबन्धन भनेर लागि परेका छन्। तर, यसले केही फरक पार्दैन् । गठबन्धन त टाउकेहरूका बीचमा हुने हो । यसले जनतालाई केही फरक पार्दैन।

जनतामाझ यो गठबन्धनको केही अर्थ हुँदैन। बरु उनीहरूले नसकेर आत्मसमर्पण गरेर पाँच दल एक ठाउँमा आएको देखिन्छ। फेरि सबै ठाउँमा यी दलको गठबन्धन मिल्छ भन्ने पनि छैन्। भोलिका दिनमा कति ठूलो लफडा हुन्छ हेर्दै जानुस् न। त्यसको अलिअलि छनक त चितवनमा देखिन थालिसकेको छ।

गठबन्धनको कुनै अर्थ छैन भन्ने एमाले नै चुनावी तालमेलको तयारीमा जुटेको छ। एक्लै लड्न सकिन्न भनेर आत्तिनु भएको हो ?

होइन, हामी कसैलाई निषेध गर्दैनौँ। कसैको पछि लागेर पनि हिँड्दैनौँ। सम्वृद्धि, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको हाम्रो जुन यात्रा छ, त्यसमा सहमत हुनेसँग सहकार्य हुनसक्छ। त्यस्तासँग वार्ता संवाद हुनसक्छ। यसलाई आत्तिएको भनेर परिभाषित गर्न नमिल्ला। चुनावका बेला एजेन्डा मिल्नेसँग सहकार्य हुनसक्छ।

राप्रपासँग तपाईंहरूले तालमेलको तयारी गरिरहनु भएको रहेछ। के अधारमा एमालेले राप्रपा सहकार्य गर्न खोजिरहेको हो ? कि लाइन एउटै हो ?

त्यस्तो होइन। हामीबीच केही छलफल भएका छन्। तर, चुनावी सहकार्यका लागि छलफल हुनु भनेको अर्को कुनै पार्टीको भारी बोकिदिनु होइन्। उसको एजेन्डा बोक्नु होइन्। राप्रपाले राजाको एजेन्डा बोकेकोमा हाम्रो समर्थन छ र ? छैन नि। विचार नमिल्नेसँग सहकार्य नहुन पनि सक्छ। हामी अहिलेको सत्ता गठबन्धनजस्तो भेडा बाख्रा एकै ठाउँमा बसेर चुनाव लड्ने पक्षमा छैनौँ । संघीयता खारेज गरौँ भन्ने चित्रबहादुर केसीको पार्टी र संघीयतालाई आफ्नो प्रमुख एजेन्डा बनाएका उपेन्द्र यादव एउटै गठबन्धनमा छन्। हामी त्यो सिद्धान्तहीन तालमेल गर्दैनौ, गठबन्धन त परै जाओस्। हामी जे हौ, त्यही नै देखाएर भोट माग्छौँ। जनताको घर जान्छौँ।

तालमेल नगर्ने भए तपाईंको अध्यक्ष ओलीले राप्रापको दुवै समूहका नेतासँग छुट्टा छट्टै किन भेट्नुभयो ?

भेट हुने बित्तिकै चुनावी तालमेल नै गर्न लाग्यो भन्ने होइन। सत्ताबाहिर रहेका दलबीच संवाद हुनसक्छ। यसलाई अन्यथा लिनु हुँदैन। एमालेले तालमेलको ढोका नै बन्द गर्नुपर्छ भन्ने पनि होइन्। तर, अध्यक्ष ज्यूको भेट प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषय, त्यहाँ नउठाइएको चुच्चे नक्साको सवालमा छलफल भएको हो। त्यसो त सत्ता पक्षकै कतिपय नेताले पनि हाम्रा शीर्ष नेतासँग भेटिरहेकै छन्। कयौं कुरा बाहिर नआएको मात्रै हो। गठबन्धनप्रति त्यसमा सामेल केही दललाई विश्वास छैन। उनीहरु गठबन्धन भत्किन्छ भनेर सहकार्यका लागि हामीसँग पनि कुरा गरिरहेकै छन्।

कुन दलले हो तपाईंहरूसँग छलफल गरिरहेको ?

अहिले यो कुरा तरल रूपमा छ। यसले जब ठोस रूप ग्रहण गर्छ त्यसपछि हामी तपाईंहरूलाई जानकारी गराउँने छौं। सहकार्यका लागि गठबन्धनमै रहेका ठूला भनिएका दलहरू बाटै अनौपचारिक रुपमा प्रस्ताव गर्ने छलफल गर्ने काम गरिरहनु भएको छ। मसँग नै पनि केही नेताले अनौपचारिक कुरा गर्नु भएको छ। तर, हामी उनीहरु आउँछन् र त्यसको बलमा चुनाव लड्छौं भन्ने छैन। हामी एक्लै लड्दा पनि हिजोको दिनमा भन्दा धेरै सिटमा विजयी हुनेछौँ।

जिल्ला तहमा सहकार्यका लागि कांग्रेस माओवादीले पनि प्रस्ताव गरेका छन् ?

औपचारिक रुपमा कुनै पनि जिल्लामा दुबै दलले प्रस्ताव गरेका छैनन्। तर, अनौपचारिक रूपमा कुनै पनि जिल्लामा बाँकी राखेका छैनन्। गठबन्धन भत्कियो भने उनीहरू हामीसँग तालमेल गर्ने तयारीमा छन्। माओवादीले त जिल्लामा मात्रै होइन केन्द्रमा समेत तालमेलका लागि अनौपचारिक प्रस्ताव गरेको हुनसक्छ। अहिले ठोस आकार नबनेकाले भनिहाल्न मिल्दैन।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई कसरी समीक्षा गर्नुभएको छ ?

वास्तवमा संविधान संसोधन गरेर समावेश गरिएको चुच्चे नक्साको कार्यान्वयन, सीमा समस्या समाधान, वाणिज्य व्यापारमा परेको घाटा, भारतीय सहयोगमा बनेका परियोजना सञ्चालनको विषय, पञ्चेश्वर परियोजना, जयसिंह धामीको मृत्यु प्रकरण, सीमा क्षेत्रमा बनाइएको बाटो र बाँध लगायतका थुप्रै विषय उठाउनु पर्ने र भारतलाई सम्बोधन गर्न बाध्य पार्नु पर्ने थियो। तर, प्रधानमन्त्री देउवाले त्यसो गर्न सकेको देखिदैन। सीमाको समस्यालाई ओझेलमा पारेको देखिन्छ। प्रधानमन्त्रीको भ्रमण यसो घुमफिर तिर्थाटन जस्तो, कुनै दलको पार्टी कार्यालय भ्रमण जस्तो मात्रै भयो। यसले हाम्रो क्षमता योग्यतालाई कमजोर बनाइदियो। अहिलेको भ्रमणले हामी कूटनीतिक क्षेत्रमा असाध्यै कमजोर भएको आभास गरायो।

चुच्चे नक्सा जारी भएपछि नेपाल र भारतबीच हुन नसकेको उच्चस्तरीय संवादलाई यो भ्रमणले तोड्यो। संवादका हिसाबले आइसब्रेक गरेको छ। यसरी हेर्न सकिदैन् ?

वार्ता संवाद भएको त धेरै राम्रो हो। तर, वार्ता संवाद के का लागि भन्दा चुनावमा हामीलाई सहयोग गरिदिनु प्रभु भनेर झुक्ने र राष्ट्रिय मुद्दा नउठाउनाले हामीलाई कहाँ पुर्‍यायो ? भारतीय जनताका पार्टीको कार्यालयमा भेट्न जाने भनेपछि हामी कति कमजोर बनेछौ। त्यसैले भ्रमणले जनताको इच्छा र चासो सम्बोधन गरेन। मुख्य विषय ओझेलमा पार्‍यो।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ५ : १८ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको