दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

निर्वाचन आचारसंहितामा दलहरूको प्रतिबद्धता
विवादका बीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबाट प्रतिबद्धता लिएको छ । हिजो आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूलाई बोलाएर आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता लिएको हो । त्यसअघि निर्वाचनमा आचारसंहिताको छलफलमा भाग लिन नपाएको भन्दै साना दलहरूले नारावाजी गरेका थिए । आचारसंहितामाथि छलफल नै नगराइ प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए । पछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उक्त विषय नियमित प्रक्रिया मात्र भएको बताएपछि साना दलहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । 

सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समिति गठन
सत्तारुढ गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन बैठकले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । त्यस्तै बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद् र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

स्वदेशी पुँजीलाई मुलुकभित्रै लगानीको वातावरण बनाउनुपर्छः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दकिशोर पुनले स्वदेशी पूँजीलाई मुलुकभित्रै लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आज काठमाडौँमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति पुनले केही पूँजीपतिहरू आफ्नो पूँजी बाहिर लैजान खोजेको भन्ने आफूले सुनेको भन्दै स्वदेशी पूँजीलाई स्वदेशमा उपयोग गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उद्योगी व्यवसायीहरूका अहिलेका समस्या र मागहरूलाई सरकारले समयमा नै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । 

प्रधानमन्त्री देउवाद्वारा चोभारमा सुक्खा बन्दरगाह भन्सार कार्यालयको उद्घाटन
प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर मात्रै सरकार आफैँले रेल–वे निर्माण गर्न सक्ने बताएका छन् । आज काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह भन्सार कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको व्यापार घाटा बढ्दोक्रममा रहेको भन्दै तत्काल सरकारले रेल–वे निर्माण गर्न नसक्ने भन्दै कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेल–वेमा लगानी गर्न सक्ने बताए । मुलुकमा रेलको आवश्यकता भएपनि धेरै खर्चिलो रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले मुलुकका अन्य स्थानमा पनि बन्दरगाह निर्माण गर्ने बताए ।

एमालेसँग चुनाव लड्न नसकेपछि गठबन्धनले चुनावी तालमेल गर्न खोजेको होः ओली
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताएका छन् । आज वीरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताए । उनले एमालेमा प्रवेश गर्ने जनलहर देखेर गठबन्धन तर्सिएको टिप्पणी गरे । ओलीले गठबन्धन अपवित्र ढंगले जन्मिएको र जनताले बनाएको सरकारलाई अँधेरो कुनाका बसेर ढालिएको उल्लेख गरे । अदालतबाट प्रधानमन्त्री बनाउने काम भएको भन्दै उनले वर्तमान सरकार वैध र संवैधानिक सरकार नभएको उनले बताए । 

एआईजी बढुवा प्रकरण : सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलायो
सर्वोच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिटमा कारण देखाउ आदेशसहित छलफलमा बोलाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले दायर गरेको रिटमाथि आज सुनुवाइ गर्दै न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले प्रतिवादीहरूलाई अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई २८ चैतमा बोलाएको छ । अन्तरिम आदेशबारे छलफल गर्न २८ चैतमा दुवै पक्षलाई बोलाइएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । 

संविधानमाथि अझै चुनौतीः ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको सङ्घर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छन् । गोदाबरी नगरपालिका वडा नं १४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै  मन्त्री भुसालले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर्ने कार्यभार परिवर्तनकर्मी शक्तिको काँधमा आएको बताइन् । मन्त्री भुसालले गठबन्धनको संस्कृतिले निर्वाचनमा मात्र तालमेल गरी विजयी हुने मात्र नभइ परिवर्तनका एजेण्डाको रक्षा, राष्ट्रियता,जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन्धन आवश्यक रहेको पनि औल्याँइन् । 

चुनावमा राप्रपाले जिते कक्षा १२ सम्म निःशुल्कः अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी विजयी भए कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाले कक्षा १२ सम्म निःशुल्क‚ सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला एवं वृद्धवृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिने बताए । अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग आग्रह गरे । 

उदयपुरमा हत्या प्रकरणः घटनामा संलग्न भएको आशङ्कामा दुई जना पक्राउ
उदयपुरको बेलका नगरपालिका ३ बुद्धचौकीस्थित विद्यालय जाँदै गरेकी एक बालिकाको हत्या भएको छ । आज बिहान कोशी जनता माध्यमिक विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनवारको जसोधा खोलामा हत्या भएको प्रहरीले जनाएको छ । स्थानीयले बालिकाको शव खोला किनारामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की  विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको प्रहरीले जनाएको छ । 

सरकारले बालबालिकालाई अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप लगाउने
पहिलो पटक सरकारले बालबालिकालाई अभियानकै रूपमा टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आज पत्रकार सम्मेलन गरि आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म अभियानकै रूपमा खोप लगाइने जानकारी दिएको हो ।आगामी वैशाख १८ देखि भने टाइफाइड विरुद्धको खोपलाई पनि नियमित खोपमा समेटिने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले बताए । 

पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार २ सय ७८ पिसिआर परिक्षणका क्रममा २१ जना र २ हजार ३ सय ९ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५१ जना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ७ सय ६५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा ८ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

मध्यपुरठिमीमा बिस्केट (बिस्का) जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी सुरु 
फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुरठिमीमा बिस्केट (बिस्का) जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ । पर्यटन बोर्डको प्राङ्गणमा भएको उक्त प्रदर्शनी तीन दिनसम्म चल्ने छ । मध्यपुरठिमीमा हुँदै आएको जात्राका १०० भन्दा बढी फोटो प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा जात्राको सुरुदेखि अन्त्यसम्मका फोटो राखिएका छन् । प्रदर्शनीको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा शुभारम्भ गरे । कार्यक्रममा मध्यपुरठिमी नगरपालिकाका प्रमुख श्रेष्ठले नगर क्षेत्रभित्रका जात्रा, पर्वका अमूर्त कलालाई विश्व सम्पदाका रूपमा पहिचान दिलाउन नगर लागि परेको बताए ।

काठमाडौँको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालनमा
काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ । वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै बन्दरगाह सञ्चालनमा ल्याएको हो । तेस्रो मुलुकबाट काठमाडौँका लागि मालवस्तु बोकेर आएका ती कन्टेनर वीरगन्ज नाका हुँदै काठमाडौं आएका थिए । अब अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौँबाटै गर्ने बाटो खुलेको छ ।

टेलिकम र एनसेललाई निर्देशन : केवाईसी रुजु नगरी सिमकार्ड नदिनू
नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक नेपाल टेलिकम र एनसेललाई  केवाईसी रुजु नगरी सिमकार्ड वितरण नगर्न निर्देशन दिएको छ । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा मोबाइल फोनको सिमकार्ड/रिमकार्डको दुरुपयोग बढ्ने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक नेपाल टेलिकम र एनसेललाई सतर्क गराएको हो । 

सेयर बजार परिसूचक नेप्से आज पनि घट्यो
सेयर बजार परिसूचक नेप्से आज पनि ओरालो लागेको छ । आज नेप्से ४६ दशमलव ४६ अकंले घटेर २  हजार  ४ सय ५२ विन्दुमा पुगेको हो । आज कुल ५८ लाख ४१ हजार ९ सय ९८ कित्ता शेयर कुल २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३ सय ८८ रुपैयाँको कारोबार   भएको छ  ।आज  होटल तथा पर्यटन उपसमूह १५ अंक बढ्ेको छ  भने अरु सबै घटेका छन् । आज इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्को छ । यस्तै राष्ट्रउत्थाननेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढको छ ।कारोबारका आधारमा  हिमालयन डिस्टिलरी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ र अरुणभ्याली हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहेका छन्  ।

अस्ट्रेलियाको बजेटमा नेपाललाई २ अर्ब ८० करोड रुपैयाँ सहयोग घोषणा
अस्ट्रेलिया सरकारले नेपाललाई यो वर्ष ३ करोड ११ लाख अस्ट्रेलियन डलर अर्थात करिब २ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । अस्ट्रेलियाले दिने यो सहयोग गत वर्षको तुलनामा १५ लाख डलर बढी हो । केही दिनअघि अस्ट्रेलियाका ट्रेजरर जोस फ्रयाडनबर्गद्वारा प्रस्तुत बजेटमा नेपालका लागी सो रकम छुट्याएको सार्वजनिक गरिएको हो ।  

चालु आर्थिक वर्षमा ३ करोड बराबरको सियो आयात
चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ ।२०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा सो मुल्यका सियो नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो मुल्यमा २ करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार ४७३ केजी सियो नेपालले  विभिन्न देशबाट आयात गरेको  विभागको भनाइ छ । 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ५७ बजे

दिव्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको

ट्रम्प कार्यालय प्रवेश फन्डमा बोइङ, गुगल र माइक्रोसफ्टको चन्दा

न्युयोर्क – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रवेश

पाँच महिनामा छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

काठमाडौं – चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म छ खर्ब ४०

राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ कार्यसमिति चयन

काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को नयाँ नेतृत्व चयन