‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’ | Khabarhub Khabarhub

‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा पुग्न थालेका छन् ।

पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् । पार्टी र चुनाव चिह्नका झन्डा तथा ब्यानरले सजाएका सवारी साधन प्रयोग गरी भोट माग्नमै उम्मेदवार व्यस्त छन् ।

जिल्लामा ६ स्थानीय तह र ४५ वडामा २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा नेकपा (माओवादी केन्द्र) बाट र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् ।  वडाध्यक्षमा झकबहादुर छन्त्याल निर्विरोध चुनिए । जिल्लामा सत्ता गठबन्धनको पूर्ण तालमेल नभए पनि केही स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । रघुगङ्गा गाउँपालिका–६ मा एमाले र राप्रपाबीच तालमेल भएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्र बेनी नगरपालिका, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा आंशिक तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल नभएपछि जिल्लाभर तीन पदबाहेक अन्यमा मनोनयन फिर्ता लिएका छन् ।

तालमेल र एकल उम्मेदवारी दर्तापछि उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नजिकको सरकारका प्रतिनिधि चुन्ने अवसर भएकाले पनि जनतामा स्थानीय तह निर्वाचनको रौनकले छोएको छ । एकपछि अर्को दलका उम्मेदवार गाउँ, टोल बस्ती हुँदै घरघरमा पुग्न थालेपछि निर्वाचन उत्सवजस्तै बनेको छ । अधिकांश उम्मेदवारले जनताको जनजीविकामा परिवर्तन ल्याउने ठोस खाका जनतासामु पेश गर्न सकेका छैनन् ।

रघुगङ्गा गाउँपालिका–६ पाखापानीका गौबहादुर विश्वकर्मा नेताहरुले निर्वाचनको समयमा आश्वासन र सपना मात्रै देखाउने र निर्वाचन जितेपछि पुरा नगर्ने गरेको दुःखेसो पोखे। ‘हिजो पनि यो गर्छौं, यो सुविधा दिन्छौँ भनेर मत मागे, जितेर गएपछि खै हाम्रो लागि काम गरेको ?’, उनले प्रश्न गरे । सडक र भवन बनाउनेबाहेक जनताको दैनिकीमा आएका समस्यामा स्थानीय सरकारले काम नगरेको उनले बताए ।

उम्मेदवार यस पटक पनि विभिन्न मुद्दासहित चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुसँग ठोस खाका भने छैन । अघिल्लो निर्वाचनमा विजयी जनप्रतिनिधिलाई यसपटक चुनावी मैदानमा उत्रिरहँदा अघिल्लो कार्यकालमा किन जनताको अवस्था सुधार गर्न सकिएन भन्ने प्रश्नको जवाफ दिन सकस भएको छ । अघिल्लो पाँच वर्ष प्रायः सबै जनप्रतिनिधिले डोजर घुमाएर सक्ने योजनालाई प्राथमिकतामा राखेको कारण यस पटक उनीहरुले अघि सारेका एजेण्डामा नागरिकले आशङ्का व्यक्त गर्ने अवस्था सिर्जना भएको मालिका गाउँपालिका–५ का गेमबहादुर पुनले बताए।

चुनावी घोषणापत्रमा रोजगार दिने, शिक्षा, स्वास्थ्य र जनजीविकालाई सम्बोधन गर्ने बताए पनि चुनाव जितेपछि आफ्ना कार्यकर्तालाई मात्रै केन्द्रमा राखेर बजेट परिचालन गर्ने परिपाटीले दलका घोषणापत्रमाथि विश्वास गरिहाल्ने अवस्था नरहेको उनको भनाइ छ । अधिकांश उम्मेदवारले सडक कालोपत्रसहित स्तरोन्नति गर्ने, शैक्षिक गुणस्तर सुधार गर्ने, रोजगार सिर्जना गर्नेलगायत कुरा घोषणा गरेका छन् । उनीहरुले ठोस खाकासहित मत माग्न भने सकिरहेका छैनन् ।

अधिकांशको घोषणापत्र जनताको जनजीविकामा सुधार ल्याउन सम्भव हुनेभन्दा पनि मन जितेर मत माग्नतर्फ केन्द्रित छ । म्याग्दीमा ६ स्थानीय तहमध्ये चार गाउँपालिकाका अध्यक्षमा पुरानै व्यक्ति उम्मेदवार बनेका छन् भने १७ वडाध्यक्ष पुनः सोही पदमा दोहरिएका छन् ।

सबैभन्दा बढी चर्चामा बेनी नगरपालिका छ । यहाँ एक्ला एक्लै मनोनयन दर्ता गरेका दलहरु मनोनयन फिर्ताको समयमा पुग्दा कांग्रेस र माओवादी केन्द्र तालमेलको अवस्थामा पुगेका छन् भने अन्य दल एक्ला एक्लै प्रतिस्पर्धामा छन् । मनोनयन दर्तासम्म नगरको मेयर उपमेयरमा एक्ला एक्लै उम्मेदवारी दिएका कांग्रेस र माओवादीबीच उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनावी तालमेल गर्ने सहमति जुटेको हो ।

पाँच दलित गठबन्धनमा सहमति नभए पनि अन्तिम चरणमा कांग्रेस र माओवादीबीच मेयर उपमेयरमा चुनावी तालमेलको सहमति भएको थियो । कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा कांग्रेसका चिरञ्जीवी शर्मा र उपमेयरमा माओवादीका ज्योति लामिछाने पौडेल उम्मेदवार बनेका छन्।

बेनी नगरपालिकामा कांग्रेस र माओवादीले वडा नम्बर २, ६, ७, ८ र ९ मा तालमेल गरेका छन् ।  प्रतिस्पर्धामा एमालेबाट सुरत केसी र पशुपति शाही छन् । यहाँ अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा कांग्रेस र एमाले–राप्रपा तालमेलबाट उपमेयरमा राप्रपाका उम्मेदवार विजयी भएका थिए ।

रघुगङ्गा गाउँपालिकामा यसअघि गाउँपालिका अध्यक्ष बन्नुभएका भवबहादुर भण्डारी कांग्रेसबाट पुनः अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । उनको मुख्य प्रतिस्पर्धीको रुपमा एमालेका प्रेमबहादुर कार्की देखिएका छन् । यद्यपि माओवादीबाट जिल्लामै एकमात्रै दलित महिला उम्मेदवार रहनुभएकी मीना विश्वकर्मा र स्वतन्त्र उम्मेदवार सागर भण्डारी पनि कांग्रेस र एमालेको लागि चुनौतीको रुपमा देखिएका छन्।

रघुगङ्गामा उपाध्यक्ष पदमा समेत रोचक प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्रबाट रिम कटुवाल, एमालेबाट यामुकमारी गर्बुजा र कांग्रेसबाट प्रेमकुमारी पुन उपाध्यक्षका प्रमुख प्रत्यासीको रुपमा देखिएका छन् । अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा बलबहादुर तिलिजा, उपाध्यक्षमा ललिता तिलिजा र एमालेबाट अध्यक्षमा भरतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुनलाई उम्मेदवार बनाएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले विजयी हाँसिल गरेको थियो ।

मङ्गला गाउँपालिकामा एमाले, माओवादी र कांग्रेसको त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । यसअघि गाउँपालिका अध्यक्ष भइसक्नुभएका सतप्रसाद रोका पुनः एमालेबाट अध्यक्षमा उम्मेदवार बनेका छन्। माओवादीबाट टेकबहादुर विश्वकर्मा र कांग्रेसबाट वीरेन्द्र बुढाथोकी उम्मेदवार हुनुहुन्छ । यहाँ कांग्रेसका शर्मिला थापा, एमालेका प्रेमकुमारी खत्री र माओवादीबाट सुकमाया रोकामगर उपाध्यक्षको उम्मेदवार बने ।

मालिका गाउँपालिकामा यसअघि अध्यक्ष रहनुभएका श्रीप्रसाद रोका कांग्रेसबाट पुनः प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली र एमालेबाट यसअघि पराजित बेगप्रसाद गर्बुजा प्रतिस्पर्धी छन् । उपाध्यक्षमा माओवादी केन्द्रबाट गौरी सेञ्चुरी, एमालेबाट लक्ष्मीदेवी घर्तीमगर र कांग्रेसबाट पिपला बुढा उम्मेदवार बनेका छन् । यहाँ वडा तहसम्मै कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । एमालेबाट निर्वाचित थमसरा पुन पुनः अध्यक्षमा उठेका छन् । उपाध्यक्षमा प्रगति कार्की उम्मेदवार बनेकी छन् । गठबन्धनबाट प्रेमप्रसाद पुन र रेशम पुनमगर उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ९ : ४० बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन