निर्वाचन आयोगले क–कसलाई सोध्यो स्पष्टीकरण ?  | Khabarhub Khabarhub

निर्वाचन आयोगले क–कसलाई सोध्यो स्पष्टीकरण ? 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आचारसंहिता लागू भएपछि निर्वाचन आयोगले एक दर्जनभन्दा बढी व्यक्ति, संघसंस्था र पार्टीलाई स्पष्टीकरण सोधेको छ ।

उनीहरूमै निर्वाचन आचारसंहिता उल्लंघन गरेको कारण स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । प्राय सबैलाई चौबीस घण्टाको समय दिई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता गत चैत २६ गतेबाट लागू भएको हो ।

आयोगले सबैभन्दा पहिला नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालासँग स्पष्टीकरण सोधेको थियो । कोइरालाले गएको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो ।

उक्त निर्वाचनमा आयोगले एक जना उम्मेदवारलाई २५ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने सीमा तोकेको थियो । निर्वाचनपछि कोइरालाले आयोगमा बुझाएको रिपोर्टमा आफूले निर्वाचनमा २१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका थिए । कोइरालालाई स्पष्टीकरण बुझाएपछि आयोगले उनलाई सचेत समेत गराएको थियो ।

निर्वाचन आचारसंहिता लागू भएपछि आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितसँग दुई पटक स्पष्टीकरण सोधेको छ ।

वैशाख १५ गते धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर आयोगले पहिलो पटक स्थापितसँग स्पष्टीकरण मागेको थियो ।

स्थापितले उक्त कार्यक्रममा एक जना महिलालाई आक्रोषित हुँदै ‘यु आर नाइस लेडि तर तपाईँको थुतुनो ठीक छैन’ भन्ने जवाफ दिएका थिए । उनले ‘यो बहिनीले वेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ’ भन्ने अभिव्यक्ति पनि दिएका थिए । त्यसपछि आयोगले उनीसँग स्पष्टीकरण सोधेको थियो ।

स्थापितसँग आयोगले दोस्रो पटक काठमाडौं महानगरपालिकाका अर्का प्रमुखका उम्मेदवार बालेन साह विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर सोधेको थियो ।

स्थापिततले साहका बारेमा ‘एउटा फुच्चे भन्ने बालेन साह रहेछ, उ त अन्तर्राष्ट्रिय ठग रहेछ…’ भन्ने अभिव्यक्ति दिएका थिए ।

आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै नेकपा (माओवादी केन्द्र) सँग पनि जवाफ मागेको छ । माओवादीले कलैया उपमहानगरपालिका–२३ का वडाध्यक्ष बिक्रम साह लगायतका व्यक्तिहरुले माओवादी केन्द्रको चुनाव चिन्ह अंकित टिसर्टसहित प्रचारमा देखिएको समाचार सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएपछि दलबाट भएको हो वा होइन ? भनी आयोगले जवाफ मागेको हो ।

आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग पनि स्पष्टीकरण सोधेको छ । उनले अग्निपीडित मुक्त कमैयाका घर बनाई दिने प्रतिवद्धता जनाएपछि स्पष्टीकरण सोधेको हो ।

मुख्यमन्त्री भट्टले अग्निपीडित मुक्त कमैया परिवारलाई एकीकृत वस्ती विकास कार्यक्रम अन्गर्तत घर निर्माणका लागि तत्काल प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको बताएका थिए ।

निर्वाचन आचारसंहितामा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने उल्लेख छ ।

आयोगले निर्वाचन परिबेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई समेत स्पष्टीकरण सोधिसकेको छ । वैशाख १९ गते उनले एक टेलिभिजनमा निर्वाचन आचारसंहिता २०७८ विपरीत हुने गरी ‘राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ’ भनी मतदातालाई प्रभाव पार्ने अभिव्यक्ति दिएको जनाउँदै आयोगले स्पष्टीकरण सोधेको हो ।

यही बीचमा दुर्गा भगवती गाउँपालिका–४ का अध्यक्ष धर्मनाथ चौधरीलाई आयोगले स्पष्टीकरण सोधेको छ । वडा अध्यक्ष चौधरीले निर्वाचनलाई प्रभावित गर्नेगरी गतिविधि गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । चौधरीले दुर्गा भगवती वडा नं. ५ का एक जना महिलालाई दुई हजार रुपैयाँ नगद दिएको र अर्को एक जनालाई पाइप वितरण गरेको उजुरी आयोगमा परेको थियो ।

आयोगले नेपाली कांग्रेस पार्टीसँग पनि स्पष्टीकरण मागेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएपछि सो राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ मागेको हो ।

तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख बासुदेव घिमिरेलाई आयोगले स्पष्टीकरण सोधेको छ । दलीय चुनावी प्रचारप्रसारमा खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाल राष्ट्र आधारभूत विद्यालय कपिलवस्तुका प्रधानाध्यापक प्रल्हाद पाण्डेसँग स्पष्टीकरण मागेको छ । उनी दलीय चुनावी प्रचारप्रसारमा संलग्न रहेको भन्दै फोटोसहितको समाचार प्रकाशन भएपछि निर्वाचन आयोगले उनीसँग जवाफ मागेको हो । 

आयोगले मेलम्ची नगरपालिका–१० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनाललाई पनि स्पष्टीकरण सोधेको छ । मतदाताको पाउमा एक हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चार माध्यममा प्रकाशन भएपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो । 

यस्तै आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई स्पष्टीकरण सोधेको छ । मन्त्री मोक्तान चुनावी प्रचारमा खटिएको फोटोसहितको समाचार प्रकाशन भएपछि के भएको हो भनी आयोगले स्पष्टीकरण सोधेको हो । 

आयोगले महिला पुनर्स्थापना केन्द्र (ओरेक) सँग पनि स्पष्टीकरण सोधेको छ । ओरेकले काठमाडौं महानगरपालिकाका प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितबारे जारी गरेको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेको जनाउँदै स्पष्ट पार्न भनेको हो । 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : ३६ बजे

मानव-हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जनाको मृत्यु

बनियानी– झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा

काठमाडौं – तनावग्रस्त खेलमा रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

रामपुर– रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित

सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना

वाशिङ्टन – अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि थुप्रै सहयोगका