विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ २२, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन ५, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

बङ्गलादेशमा आगलागीमा परी मृत्यु हुनेको सङख्या ३८ पुग्यो

बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ ।आगलागी तथा विस्फोटका कारण ३८ जनाको मृत्यु भएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अझै पनि मृतकको संङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो ।मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य विभागका निर्देशक हसन सहरियारले एएफपीलाई बताएका छन् । आगलागी भएको करिब एक घण्टापछि सयौँ मानिसहरूले आगो निभाउने प्रयास गरिरहेको अवस्थामा केमिकल राखेका धेरै कन्टेनरहरू विस्फोट भएको बताइएको छ ।

सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीसहित सयौँ भन्दा बढी घाइते छन् । अधिकारीहरूले आइतबार बिहानसम्म उद्धारको काम जारी रहेको जानकारी दिएका छन् । सो क्षेत्रका दर्जनौँ अग्निनियन्त्रक समूहलाई आगो निभाउन लगाइएको छ । आगलागीसँगै ठूलो विस्फोट पनि भएकोले दर्जनौँ अग्नि नियन्त्रकसहित घाइते भएका थिए । चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पनि बताएका छन् ।

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले पूर्वी तटमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । वासिंगटनसीउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो । चार वर्षपछि पहिलो पटक अमेरिकी विमान प्रयोग गरेर अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेका थिए । आर्थिक प्रतिबन्धबीच प्योङयाङले आफ्नो आणविक कार्यक्रमको स्तरोन्नति गरेको छ । उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । ‘उत्तर कोरियाले पूर्वी तटमा अपरिचित ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ’ सीउलका जोइन्ट चिफ अफ स्टाफले आइतबार भने । उत्तर कोरियाबाट ब्यालिस्टिक मिसाइल प्रहार गरेको हुनसक्ने रक्षा मन्त्रालयलाई उदृत गर्दै जापानको तटीय गार्डले जनाएको छ । उत्तर कोरियाका आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ ।

तर, प्रतिबन्धबीच उत्तरले आफ्ना आणविक गतिविधिलाई तीब्र पार्दै आएको छ । आणविक गतिविधि रोक्न आफूमाथि लाग्दै आएको प्रतिबन्ध रोक्नुपर्ने प्योङयाङले माग गर्दै आएको छ ।

पाकिस्तानी अनुसन्धान निकायद्वारा प्रधानमन्त्रीलाई पक्राउ गर्न अनुमति माग

पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शहबाज शरीफ र उनका छोरा एवम् पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन अनुरोध गरेको छ । यद्यपि, अदालतले उनीहरूको अन्तरिम जमानतलाई जुन ११ सम्म लम्ब्याएको छ । शरीफ परिवारका वकिल मोहम्मद अमजद परवेजले  बताएअनुसार उक्त मुद्दामा डेढ वर्षदेखि अनुसन्धान चलिरहेको छ तर अझै पनि एफआईएले उनका विरुद्ध कुनै प्रमाण पेश गर्न सकेको छैन ।

अमजद परवेजले ‘मनी लान्ड्रिङ मुद्दामा जमानत पुष्टि गर्न आफ्नो तर्क पेश गर्न थालेपछि पाकिस्तान मुस्लिम लिग नवाज पीएमएलएनका दुबै नेताहरू अदालतबाट बाहिरिएको’ बताए थिए ।न्यायाधीशले अन्य सबै सरोकारवालाहरूलाई अर्को सुनुवाइमा आफ्नो तर्क प्रस्तुत गर्न आदेश दिएका छन् । अर्को सुनुवाइ जुन ११ हुनेछ । नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले अदालतमा मुद्दा दायर गरेको थियो । सुनुवाइका क्रममा अभियोजक असदुल्लाह मलिकले भ्रष्टाचारका मुद्दाहरूसँग सम्बन्धित रेकर्डहरू प्रस्तुत गर्ने साक्षीहरू पेश गर्न माग गरेका थिए । सबै बहस सुनेपछि सुनुवाइ जुन २० सम्मका लागि स्थगित गरिएको छ । जिओ टिभीका अनुसार शहबाजलाई आशियाना हाउजिङ मुद्दामा अभियोग लगाइएको छ ।

फेडरल इन्भेस्टिगेशन एजेन्सी (एफआईए) ले सन् २०२१ को डिसेम्बरमा शहबाजहम्जा विरुद्ध चिनी घोटाला प्रकरणमा १६ अर्ब रुपैयाँको सम्पत्ति अपचलनमा संलग्न भएको आरोपमा विशेष अदालतमा चलान पेस गरेको थियो । एफआईएले उनीहरूलाई नोभेम्बर २०२० मा पाकिस्तान दण्ड संहिता, भ्रष्टाचार निवारण ऐन र एन्टि मनी लान्ड्रिङ ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो ।

सोमालियामा खाद्यान्न अभाव

अफ्रिकी मुलुक सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ ।त्यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरिका कारण पनि खाद्यान्नको अभाव हुँदै गएको पाइएको हो ।सोमालियामा खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरूले बताउँदै आएका थिए । यसका कारण त्यहाँका बालबालिकामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको छ । सोमालियाको यो अवस्थाका बारेमा सोमालिया सरकार र राष्ट्रसंघीय अधिकारीहरूले जानकारी दिएका हुन् ।

अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव र नागरिकहरू कुपोषणको शिकार हुने अवस्था रहेको पनि उनीहरूले जनाएका छन् ।सोमालियामा खाद्यान्न लगायतका सहयोग गर्दै आएका निकाय, दाता राष्ट्र तथा राष्ट्रसङ्घद्वारा शनिबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा सोमालियाको यस्तो अवस्थाका बारेमा जानकारी गराइएको छ ।

क्युबामा बाढीका कारण दुई जनाको मृत्यु, हजारौँ विस्थापित

क्यारेबियन सागरमा अवस्थित मुलुक क्युबामा आँधीपछि अविरल वर्षासँगै आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ । आगाथा नामक आँधीका कारण क्युबामा ८ इन्चसम्म पानी परेको बीबीसीले जनाएको छ ।राजधानी हवानासहित मुलुकको पश्चिम तथा मध्य क्षेत्र सबैभन्दा धेरै प्रभावित रहेको जनाइएको छ । हवानाबाट २ हजारभन्दा धेरै मानिसहरूलाई उद्धार गरिएको छ ।

यसबाहेक ५० हजार भन्दा धेरै मानिसहरको घरमा विद्युत प्रवाह अवरुद्ध भएको छ । विस्थापितहरूलाई राख्न अस्थायी शिविरहरू तयारी अवस्थामा रहेको क्युबाली समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्युबामा बेलाबेला यस्ता आँधी आउने गरेको बताइएको छ । आगाथा नामक यो आँधीले सोमबार मेक्सिकोमा वर्षा गराउँदा ९ जनाको मृत्यु भएको थियो ।

भारतद्वारा श्रीलङ्कालाई स्वास्थ्य सामग्री हस्तान्तरण

भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री फेरि पठाइदिएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् । आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई सहयोगस्वरूप ३ दशमलब ३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ । कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलङ्काका प्रतिनिधिहरूलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरू किन्न नसकेका र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो । श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य वृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए । आर्थिक सङ्कटका कारण बहुआयामिक सङ्कटमा परेको श्रीलङ्कामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतको अन्य धेरै चिजको पनि अभाव भइरहेको छ ।

अत्यावश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलङ्कालाई उपलब्ध गराउँदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो । यी सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता भारतले यसअघि नै गरेको थियो । “हाम्रो प्रतिबद्धता अर्को पनि पुरा भएको छ, हामीले श्रीलङ्कालाई अत्यावश्यक परेको स्वास्थ्य सागम्रीहरु उपलब्ध गराएका छौँ, ”श्रीलङ्कास्थित भारतीय उच्च आयुक्तको कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ ।

पाकिस्तानी तालिबानद्वारा युद्धविराम घोषणा

पाकिस्तानमा सक्रिय तहरिकतालिवान पाकिस्तान (टीटीपी) ले अनिश्चितकालीन युद्धविरामको घोषणा गरेको छ । अफगानिस्तानको सत्तामा रहेको अफगान तालिबानको मध्यस्थतामा पाकिस्तान सरकारसँग वार्ता गरेपछि पाकिस्तानी तालिबानले अनिश्चितकालीन युद्धविरामको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई एकजना वरिष्ठ पाकिस्तानी अधिकारीले बताएअनुसार वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ । वर्षौँदेखि पाकिस्तानी तालिवान सरकारविरुद्ध युद्धरत छन् । अफगानिस्तानसँग सीमा जोडिएका जातीय क्षेत्रमा पनि शरिया कानून लागू गराउने युद्धरत पाकिस्तानी तालिवान र अफगान ताइवानबीचको सम्बन्ध नजिकको तर अस्पष्ट रहेको बीबीसीले जनाएको छ ।

गत वर्षको अगस्ट महिनामा अफगान तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पाकिस्तानी तालिबानले पनि पाकिस्तानी भूमिमा आक्रमणलाई तीव्र पारेको जनाइएको छ ।काबुलमा पछिल्लो समय पाकिस्तान सरकारले वार्ताका लागि राजनीतिक नेता एवम् जातीय मुखियाहरुको ‘जिर्गा’ भनिने समूह पठाएको बीबीसीले जनाएको छ । पछिल्लो समय इस्लामिक पर्वहरूलाई मध्यनजर गर्दै दुबै पक्षले ३० मेसम्म युद्धविरामको घोषणा गरेका थिए । विगतमा यस्ता युद्धविराम घोषणा भएको केही घण्टामा उल्लङ्घन हुँदै आएका छन् ।

साउदी अरबद्वारा कोरोना महामारीपछि पहिलो हज तीर्थयात्रीको समूहलाई स्वागत

साउदी अरबले कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ । अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वहरूमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएका थिए । इण्डोनेशियाबाट आएको समूह मदीना शहरमा आइतबार अवतरण भएको र आगामी हप्ताहरूमा हजको लागि तयारी गर्न दक्षिणी मक्काको पवित्र शहर जाने तय गरिएको थिया राज्य सञ्चालित सञ्चार माध्यमले बताएको छ ।

देशको हज मंत्रालयका मोहम्मद अल–बिजावीले राज्य सञ्चालित अल–एखबरीया च्यानललाई भने, “आज हामीले इण्डोनेशियाबाट यस वर्षको तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेका छौँ । आगामी दिनमा मलेसिया र भारतबाट हजका लागि उडान जारी रहनेछन् ।’महामारीको कारण दुई वर्षे अवरोधपछि आज हामी राज्य बाहिरबाट परमेश्वरका पाहुनाहरूलाई स्वागत गर्न पाउँदा खुसी छौं ।” उनले भने । साउदी अरबले उनीहरूको व्यवस्थापनका लागि ‘पूर्ण तयारी’ गरिरहेको छ । इस्लामका पाँच खम्बामध्ये एक मानिने हजलाई आफ्नो जीवनमा कम्तीमा एक पटक सम्भव हुने सबै मुसलमानहरूले हज जाने प्रचलन छ ।

सामान्यतया विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक हज यात्रामा सन् २०१९ मा लगभग २ं५ लाख मानिसहरूले भाग लिएका थिए । सन् २०२० मा कोभिड–१९ को महामारी सुरु भएपछि साउदी अधिकारीहरूले नियन्त्रणको सीमा तोक्दै एक हजार तीर्थयात्रीहरूलाई मात्र भाग लिन दिने घोषणा गरका थिए । सन् २०२१ मा उक्त सङ्ख्यामा संशोधन गर्दै पूर्ण खोप लगाएका साउदी नागरिक तथा चिट्ठामार्फत छानिएका विदेशी बासिन्दाहरू गरी कूल ६० हजार हजमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

यो वर्षको अप्रिल महिनामा साउदी अरबले जुलाईमा हुने यस हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानहरूलाई भाग लिन अनुमति दिने घोषणा गरेको थियो । हजमा इस्लामको सबैभन्दा पवित्र शहर मक्का र पश्चिमी साउदी अरबका आसपासका क्षेत्रहरूमा पाँच दिनभन्दा बढी धार्मिक संस्कारहरू सम्पन्न गरिन्छन् ।

रुस युक्रेन युद्ध सुरु भएयता १ करोड ४० लाख युक्रेनीले घर छाडे

संयुक्त राष्ट्रसङ्घले रुस–युक्रेन द्वन्द्वका कारण सय दिनमा झण्डै १ करोड ४० लाखभन्दा बढी युक्रेनी नागरिकले घर छाडेको अनुमान गरेको छ । सरकार सञ्चालित युक्रेनफर्म समाचार संस्थाले शनिबार सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि हालसम्म १ करोड ४० लाखभन्दा बढीले घर छाडेका हुन् ।

युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन् । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनका नागरिक अन्य छिमेकी देश र युरोपका विभिन्न देशमा शरणका लागि पुगेका छन् । चाँडै अन्त्य हुने मानिएको रुस युक्रेन युद्ध लम्बिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ८ : ११ बजे

यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल

गायक सपूत किन बने चलचित्र निर्देशक ?

काठमाडौं- गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल पुस २८ गते आइतबार तदनुसार

आज २०८१ साल पुस २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २८ गते आइतबार तदनुसार