अन्तर्राष्ट्रिय

सुडानलाई मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघको अपिल

By खबरहब

July 05, 2022

जुबा – सुडानका लागि संयुक्त राष्ट्रसङ्घले मावनीय सहायताको अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि तत्काल कम्तीमा पनि ४० करोड अमेरिकी डलर बराबरको सहायता जरुरी परेको भन्दै सोका लागि अपिल गरेको हो ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि सारा वियोस्लो नान्तीले सो अपिल गरेको समाचारमा जनाइएको छ । अहिले दक्षिण सुडानमा खाद्यान्नदेखि अन्य न्यूनतम मानवीय सहायताको पनि खाँचो परेकाले तत्कालका लागि यो रकम आवश्यक परेको उनको भनाई छ । ‘हामीले यो सहयोग रकम विश्वसँग नै अपेक्षा गरेका छौँ, हामीलाई लाग्छ दक्षिण सुडानका नागरिकका लागि कुनै न कुनै रुपमा तत्कालै यो रकमको आवश्यकता परेको छ ।’ उनले भने।

‘अन्य सहायताका अतिरिक्त अहिले नै यहाँका महिला तथा बालबालिकालाई खाद्यान्नको आवश्यकता छ र उनीहरुलाई अझ बढी त पोषणको पनि जरुरत रहेको छ।’ उनले भने ।

आवश्यक पोषण र खाद्यान्नको अभावमा यहाँका बालबालिका कुपोषणको शिकार भइरहेका र कतिपय स्थानका नागरिकले खाद्यान्न र औषधिजस्तो आधारभूत आवश्यकता नै पाउन नसकेका भन्दै यसअघिदेखि नै संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि सहायताको जरुरत परेको बताउँदै आएको थियो ।