अमेरिकाले अन्त्य गरिदियो लादेनपछि जवाहिरी आतंक | Khabarhub Khabarhub

अमेरिकाले अन्त्य गरिदियो लादेनपछि जवाहिरी आतंक

अलकायदा प्रमुख जवाहिरीको हत्याले दिएको पेन्टागन सन्देश



काठमाडौँ- जुलाई ३१ तारिख । कुख्यात आतंककारी संगठन अलकायदाको प्रमुख आयमन अल जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा रहेको एक घरको बरण्डामा निस्किए ।

सबेरै बिहानको प्रार्थना पढिसकेपछि बरण्डामा निस्किनु उनको नित्य कर्म नै थियो । तर, इजिप्टेली मूलका जवाहिरीलाई त्यसबेलासम्म त्यो नै आफ्नो अन्तिम क्षण हुनेछ भन्ने थाहा थिएन ।

स्थानीय समयअनुसार बिहान ६ बजेर १८ मिनेटको समयमा बरण्डामा निस्केकै मौका छोपेर दुईवटा क्षेप्यास्त्र प्रहार भए । क्षेप्यास्त्र आक्रमणमा ७१ वर्षीय जवाहिरीको तत्कालै मृत्यु भयो ।

तर, त्यही घरमा रहेका उनकी श्रीमती र छोरीलाई भने केही भएन । क्षेप्यास्त्र आक्रमणको केन्द्रविन्दु सोही घरको बरण्डा रहेको थियो । तर, यतिको सटिकताका साथ कुनै क्षेप्यास्त्रले कसरी काम गर्छ ? यसअघि आतंककारीहरुलाई मानवरहित हवाई उपकरण ड्रोनबाट क्षेप्यास्त्र आक्रमण गर्ने क्रममा सर्वसाधारणहरु पनि निशानामा पर्ने गरेको भनी चर्को आलोचना हुँदै आएको थियो ।

तर, जवाहिरीको विषय भने केही फरक नै थियो । अमेरिकी सुरक्षा बलले जवाहिरीविरुद्धको कारवाहीमा ड्रोनबाट मार हान्न सकिने ‘हेलफायर’ क्षेप्यास्त्रको प्रयोग गरेको बीबीसीले जनाएको छ । सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क सहरको जुम्ल्याहा भवनमा आक्रमण भएदेखि अमेरिकाले आतंककारी निशानामा आकाशबाट जमिनमा मार हान्न सकिने यही हेलफायर क्षेप्यास्त्रको प्रयोग गर्दै आएको छ ।

यो क्षेप्यास्त्र हेलिकोप्टर, स्थल सवारी साधन, जहाज र लडाकु विमानबाट समेत प्रहार गर्न सकिन्छ । जवाहिरी भने ड्रोनबाट प्रहार गरिएको क्षेप्यास्त्रबाट मारिएको बताइएको छ । सन् २०२० को सुरुमा इराकको राजधानी बग्दादमा इरानी सेनापति कसिम सुलेमानीविरुद्धको कारवाहीमा पनि अमेरिकाले यही हेलफायर क्षेप्यास्त्रको प्रयोग गरेको थियो ।

त्यसअघि सन् २०१५ मा अर्को कुख्यात आतंककारी संगठन इस्लामिक स्टेटका बेलायती लडाकु ‘जिहादी जोन’ पनि हेलफायर क्षेप्यास्त्र आक्रमणमै मारिएका थिए । सटिकताका साथ लक्षित निशानामा प्रहार गर्ने भएकाले पनि अमेरिकी सेनाले यसको प्रयोगलाई निरन्तरता दिइरहेको छ ।

घटनास्थलमा ड्रोनबाट क्षेप्यास्त्र प्रहार हुनुका साथ धेरै टाढा मुख्यभूमि अमेरिकामा वातानुकूलित कोठामा बसेर हतियार सञ्चालकले प्रत्यक्ष भिडियो हेर्ने गर्छन् । त्यसपछि स्क्रिनमा देखिने ‘टार्गेट ब्राकेट्स’ र लेजर को प्रयोग गरी ती क्यामेरा अपरेटरले लक्षित निशाना निर्धारण गर्छन् । सोही लेजरले निर्धारण गरेको मार्गका आधारमा लक्षित निशानामा क्षेप्यास्त्रले प्रहार गर्ने बताइन्छ ।

क्षेप्यास्त्र प्रहार गर्दा सर्वसाधारणको हताहतीको जोखिम जतिसक्दो न्यून पार्न हतियार सञ्चालकले निश्चित प्रक्रिया पूरा गर्नुपर्छ । लक्षित आक्रमणका जानकार एवम् सिराक्युज युनिभर्सिटी इन्स्टिच्युट फर सेक्युरिटी पोलिस एण्ड लका संस्थापक प्राध्यापक विलियम ब्याङक्स लक्षित निशानाको महत्व र सर्वसाधारणको हताहती हुने जोखिमका आधारमा लक्ष्य निर्धारण गरिने बताउँछन् ।

जवाहिरीविरुद्धको कारवाही उक्त प्रक्रियाको ‘आदर्श प्रयोग’ रहेको उनको भनाइ छ । ‘कुनै ठेगानामा उनलाई भेट्नु र अरु कसैलाई हानी नहुनेगरी उनीमाथि आक्रमण गरेबाट यो धेरै सावधानीपूर्वक चालिएको कदमजस्तो सुनिन्छ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जवाहिरीविरुद्धको कारवाहीमा अमेरिकाले तुलनात्मक रुपमा अज्ञात संस्करणको हेलफायर क्षेप्यास्त्र प्रयोग गरेको हुनसक्ने बताइन्छ । हेलफायर आर ९ एक्स क्षेप्यास्त्रमा ६ वटा चक्कुजस्तो धारिलो हतियार राखिने गरिन्छ । गति शक्तिको बलमा यस क्षेप्यास्त्रले लक्षित निशानामा प्रहार गर्छ ।

सन् २०१७ मा जवाहिरीका सहायक अबु खैर अल मसरी पनि हेलफायर आर ९ एक्स क्षेप्यास्त्रबाट नै सिरियामा मारिएका थिए । उनको मृत्युपछि जारी भिडियोमा उनी चढेको सवारीको छत क्षेप्यास्त्रमा राखिएको चक्कुजस्तो हतियारबाट चकनाचुर भएकोजस्तो देखिएको थियो । यद्यपि उक्त सवारीमा विस्फोटको लक्षण भने देखिएको थिएन ।

काबुलमा जवाहिरीविरुद्ध कारवाही गर्नअघि उनीबारे के कस्ता जानकारीहरु एकतित्र गरिएको थियो भन्नेबारे विवरणहरु सार्वजनिक हुने क्रम जारी नै रहेको छ । केही अमेरिकी सुरक्षा अधिकारीले काबुल आक्रमणअघि जवाहिरीको निजी जीवन र जीवनशैलीबारे जानकारी हासिल गरेको बताएका छन् । सोही जानकारीका आधारमा जवाहिरीको बरण्डामा जाने बानीको पत्ता लागेको जनाइएको छ ।

यसअनुसार अमेरिकी जासुसहरुले उक्त घर हप्तौँ वा महिनौँदेखि निगरानी गरिरहकोजस्ते देखिने बीबीसीले जनाएको छ । ओसामा बिन लादेनपछि अमेरिकी गोप्य आक्रमणमा जवाहिरीको पनि हत्या भएपछि अलकायदाको अस्तित्व अब अफगानिस्तानमै गम्भीर खतरामा छ ।

यद्यपी हस्तक्षेपकारी अमेरिकी सुरक्षा योजनाकै कारण अलकायदाको पृष्ठभूमिमा नयाँ लादेन र जवाहिरी उदाउन सक्नेमा पर्याप्त आशंका छन् । जुन पेन्टागनका लागि पनि अलकायदा सदाबहार चुनौति हो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  २ : ४१ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण